नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

0
Shares

आइएमई समुहले वाइको प्रालि मार्फत धितोपत्रको दोस्रो बजारमा हाबी हुने प्रयास गर्नुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कमजोरी देखिएको छ । नेप्सेले आफ्नो कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोगकर्ता धितोपत्र दलालले गरेको कामको सन्दर्भमा चासो नराख्दा आइएमई समुह सक्रिय भएको हो ।

नेप्सेको अनलाइन प्रणालीको मर्मत सम्भारको जिम्मा भेण्डर कम्पनीलाई नै दिईएको छ । धितोपत्र ब्रोकरले पनि नेप्सेको टीएमएस चलाएपछि सोही कम्पनी मार्फत काम गर्दै आएका थिए । तर, वाइको प्रालि धितोपत्र बजारका ठुला मध्येको एक खेलाडी आइएमई समुहको प्रभावमा परेपछि नेप्सेको टीएमएसको मर्मत सम्भार (एएमसी) को काम वाइको सोलुसनमा सारेको हो । वाइको प्रालिले टीएमएसको काम वाइको सोलुसनमा सारेको सम्बन्धमा नेप्से तथा धितोपत्र दलाल कम्पनी कसैलाई पनि औपचारिक जानकारी समेत गराएको छैन । त्यती मात्र नभई वाइको सोलुसनले धितोपत्र दलाललाई दिएको सेवा शुल्क समेत करिब ५ गुणा सम्मले बढाएको धितोपत्र दलाल कम्पनीहरु बताउँछन् ।

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

धितोपत्र बजारमा हाथवे इन्भेष्टमेन्ट मार्फत प्रत्यक्ष रुपमा लगानी गर्दे आएको आइएमई समुहको लगानी भएका दर्जनौ कम्पनी धितोपत्र बजारमा सूचिकृत छन् । त्यती मात्र नभई सो समुहको लगानी मर्चेन्ट बैंक, सामुहिक लगानी कोष तथा धितोपत्र दलाल कम्पनीमा पनि छ । धितोपत्र बोर्डको सञ्चालक समेत रहिसकेका आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालले धितोपत्र बजारमा हाबी हुनकै लागी नेप्सेको सम्पुर्ण कारोबार प्रणालीको भेण्डर कम्पनीलाई प्रभावमा लिएर सहकार्य गरेको स्पष्ट हुन्छ ।

वाइको प्रालिले धितोपत्र दलाल कम्पनीलाई दिँदै आएको सेवा सम्झौता बीना भएको हुनाले त्यसको फाइदा उठाउँदै आइएमई ग्रुपसँग मिलेर खोलेको वाइको सोलुसनमा सारेको छ । यस सन्दर्भमा नेप्सेलाई कुनै औपचारिक जानकारी भने छैन ।

त्यसका साथै नेप्सेले पनि धितोपत्र दलाल कम्पनीले वाइको प्रालिसँग सम्झौता नगरी काम गरेको भन्दै चासो देखाएको छैन् । धितोपत्र दलाल कम्पनीले वाइको प्रालिसँग सम्झौता नगरी काम गरेको पाइएपछि वाइको प्रालिबाट सेवा लिने वा वाइको सोलुसन भन्ने सन्दर्भमा नेप्सेले चासो राख्न आवश्यक नरहेको नेप्सेका एक अधिकारीको भनाई छ । “हामीले वाइकोसँग सम्झौता गर्न पनि भनेको हो,” नेप्सेका एक अधिकारीले भने,“निश्चित मापदण्ड तोकेर हार्डवेयर तथा जनशक्ती नेप्सेले तोके अनुसार राख्न पनि भनेको हो, तर धितोपत्र दलाल कम्पनीले आउटसोर्स मार्फत काम गरे ।” नेप्सेले दलाल कम्पनीलाई हार्डवेयर तथा जनशक्ती व्यवस्थापन गरेर आफै काम गर्न भनेको समेत ती अधिकारीले जानकारी दिए।

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

तर, नेप्सेको अनलाइन कारोबार प्रणालीमा टीएमएस, ब्रोकर म्यानेजमेन्ट सिस्टम, क्लाइन्ट म्यानेजमेन्ट सिस्टम लगायतका धेरै सिस्टम समावेश छन् । नेप्सेको टीएमएस भएको हुनाले वाइको प्रालीले विना कुनै जानकारी वाइको सोलुसन मार्फत काम गर्न नसक्ने नेप्सेको अनलाइन कारोबार प्रणाली प्रत्यक्षरुपमा जोडिएको एक अधिकारीले बताए । “नेप्सेको सहमती भएको भए मिल्छ,” ती अधिकारीले भने, “नेप्सेको सिस्टम धितोपत्र दलाल कमपनीले वाइको प्रालिसँग सम्झौता गर्ने हो र ?” धितोपत्र बजारको अधिकासं तथ्याङ वाइको प्रालिकै हातमा रहेको समेत ती अधिकारीको भनाई छ । “टीएमएस नेप्सेको भए पनि धितोपत्र दलाल कम्पनीले एएमसीका लागि किन वाइकोसँग सम्झौता गर्ने ?” उनले प्रति प्रश्न गरे । नेप्सेले विडिङ गरेर छनोट गरेको खण्डमा वाइको सोलुसनले सो काम गर्न सक्ने उनको बुझाई छ । “ब्रोकर पनि नेप्सेले अथोराइज गरेको संस्था हो, वनर सिप नेप्सेसंँग छ, धितोपत्र दलाल कम्पनीले कसरी वाइकोसंग सम्झौता गर्ने ?” उनले प्रश्न गर्दै थपे ।

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

वाइको प्रालिले आइएमई समहुसँग मिलेर जटिल शेयर संरचना बनाएर वाइको सोलुसन कम्पनी स्थापना गरेको छ । वाइको सोलुसन स्थापना हुँदा वाइको प्रालि र इ–शेयर कम्पनीको लगानी देखाएको छ । वाइको प्रालिका लगानीकर्ता दिपेश प्रधानले इशेयरमा पनि शेयर लगानी गरेको देखिन्छ । त्यसैगरी इ–शेयरमा आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालमा भाई हेमराज ढकालको नाममा पनि शेयर रहेको छ । त्यसैगरी आइएमई समुहको प्रविधि कम्पनी स्वीफ्ट टेक्नोलोजीको पनि उत्तिकै शेयर रहेको छ । स्वीफ्ट टेक्नोलोजीमा चन्द्र ढकाल र हेमराज ढकालको मात्र ९८ प्रतिशत शेयर स्वामित्व छ । चन्द्र ढकालको शेयर स्वामित्व नदेखियोस भनेर वाइको सोलुसनको शेयर संरचना जटिल बनाएको स्पष्ट हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।