हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठले कार्यभार सम्हाले, इन्भेष्टमेन्ट बैंकसँगको मर्जर के होला ?

0
Shares

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।  असोज १३ गते बुधबार बसेको बैंक सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि देखि नै बैंकमै सञ्चालक (डाइरेक्टर) पदमा रहेका नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिन (बुधबारदेखि) नै बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेको कम्पनी सचिव बिपिन हाडाले जनाएका छन् ।

अहिले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ । मर्जरको बीचमा हिमालयन बैंकको अध्यक्ष भएका श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन् । 

यसअघि बैंकको अध्यक्षमा कर्मचारी सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम थिए । उनलाई सरकारले प्रशासकबाट हटाएपछि बैंकको अध्यक्ष पद खाली थियो । गौतम अध्यक्ष रहेकै समयमा नेपाल इन्भेष्टमण्ट बैंकसँग हिमालयन गाभिने सम्झौता भएको थियो । अब मर्जरको जिम्मेवारी नवनियुक्त अध्यक्ष श्रेष्ठको काँधमा पुगेको छ ।

दुई बैंकबीच मर्जरको मुख्य भुमिका खेलेका सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम बैंकको अध्यक्षबाट हटाइएपछि दुई बैंक बीचको बिग मर्जर के होला भन्ने समेत चासो बढेको छ । कात्तिक मसान्तभित्र मर्जर सम्पन्न गर्ने सम्झौता गरेका दूई बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकसँग थप तीन महिनाको समय माग्नु र मर्जरको बीचमा नै हिमालयन बैंकले नयाँ अध्यक्ष नियुक्त गर्नुले दुई बैंकको मर्जरमा केही दरार आएको अनुमान गरिएको छ । अब दुई बैंकबीच भएको मर्जर सम्झौता कसरी अगाडि बढ्छ भन्ने कुरा हिमालयनका नयाँ अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैंकको भुमिकाले निर्धारण गर्नेछ ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले आगामी कात्तिकदेखि एकीकृत कारोबारको तयारी थालेपनि अन्तिम समयमा तोकिएको मितिमा मर्जर सम्पन्न गर्न कठिनाई हुने भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंकसँग थप तीन महिनाको समय मागेका हुन् । वित्तीय विवरण स्वीकृत भई वार्षिक साधारण सभा गर्न समय लाग्ने भन्दै दुबै बैंकले समय मागेपछि राष्ट्र बैंकले तीन महिना समय थप गरेको छ ।

दुबै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरिसेकका छन् । राष्ट्र बैंकले दुई बैंकलाई मर्जरका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको अवस्था छ । तोकिएको समयमा भनेअनुसार नै मर्जर प्रकृया अगाडि बढेको खण्डमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज भएर आगामी पुसदेखि एकीकृत कारोबार सुरु हुनेछ । दुई बैंकबीच गत वैशाख ३० मा हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा मर्जर गर्ने सहमति भएको थियो ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा रहने सहमति भएको छ । शेयर स्वाप अनुपात भने सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) कायम हुने सम्झौता भएपनि दुई बैंकबीच एक बराबरको शेयर स्वाप अनुपातमा मर्जरमा जाने अनौपचारिक सहमति छ ।

गत आर्थिक वर्षको अन्यसम्म हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख र इन्भेष्टमन्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ । एक बराबर एक शेयर स्वाप रेसियोमा मर्जर भए एकीकृत बैंकको चुक्ता पूँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमन्ट बैंकले तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार नाफा कमाएको छ जसमा वितरणयोग्य नाफा एक अर्ब ९९ करोड ३३ लाख १४ हजार रुपैयाँ छ । यस्तै, हिमालयन बैंकले दुई अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ जसमा वितरणयोग्य नाफा दुई अर्ब १६ करोड ९८ लाख ८४ हजार रुपेयाँ छ । दुवैलेले यो नाफामा चालु आर्थिक वर्षको भदौ १५ सम्मको नाफा जोडेर लाभांश वितरण गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।