‘दि ग्रुप अफ राज’ मार्फत वित्तीय क्षेत्रमा सक्रिय हुँदै राजेन्द्र खेतान


व्यवसायिक घराना खेतान समुहका राजेन्द्र खेतान नयाँ पहिचान सहित वित्तीय क्षेत्रमा सक्रिय हुने भएका छन् । परिवारिक व्यवसायवाट बाहिर निस्किँदै खेतानले ‘दि ग्रुप अफ राज’ मार्फत वित्तीय क्षेत्रमा सक्रिय हुने भएका हुन् ।

पैत्रिक व्यवसायबाट आफ्नो हिस्सा लिदाँ पनि खेतानले लक्ष्मी बैंक, एभरेष्ट इन्स्योरेन्स लगायतको क्षेत्र रोजेका हुन् । ‘प्राइभेट इक्वीटी’ देखि पुर्वाधार विकास बैंकसम्मको योजना बनाएका खोतानले ‘फाइनान्सीयल टेक्लोलोजी’मा पनि लगानी गर्ने जानकारी दिए । बैंक, बीमा तथा शेयर बजारमा केन्द्रीय भएर आफ्नो लगानी विस्तार गर्ने योजना स्वरुप ‘दि ग्रुप अफ राज’ को सोच अघि सारेको उनको भनाई छ ।

करिब २ शताब्दीको इतिहास बोकेको व्यवसायीक घराना खेतान समुहबाट बाहिर रहेर आफ्नै व्यवसायिक समुह खडा गर्ने तयारीमा खेतान लागेका छन् । तत्कालका लागि खेतानले भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी सञ्चालन गर्ने अन्तिम चरणमा पुगेको नोटबजारलाई बताए । “तत्कालको पूँजीगत लाभ भन्दा पनि आगामी २० देखि ४० वर्षसम्मको योजना सहित वित्तीय क्षेत्रमा सक्रिय हुने योजना बनाएको हुँ,” उनले भने, “अब उत्पादन मुलक भन्दा पनि सेवा क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छु ।”

करिअरको सुरुवाती समयदेखि नै वित्तीय बजारका सम्बन्धमा आफुले बढी चासो दिएका कारण अरु व्यापार व्यवसायलाई भन्दा वित्तीय बजारलाई केन्द्रमा राखेर आफु अघि बढिरहेको खेतान बताउँछन् । वित्तीय बजारमा ओझेलमा बसेर व्यवसाय बिस्तार गर्दै आईरहेका कारण नै खेतानले आफुलाई ‘इन्भेष्टमेण्ट बैंकर’ का रुपमा आफुलाई चिनाउदै आएका छन् । आज भोली आफ्नो परिचय दिँदा पनि खेतानले आफ्नो नामसँगै इन्भेष्टमेण्ट बैंकरको पहिचान जोड्ने गरेका छन् ।

बैंक वित्तीय संस्थामा सञ्चालक समिति वा व्यवस्थापनमा बसेर काम गर्ने मोह नभएको बताउने खेतान २१ वर्षको युवा अवस्थामा नै हिमालयन बैंकको सञ्चालक भएका थिए । त्यस पछि वित्तीय क्षेत्रमा नै आफुलाई सक्रिय बनाउँदै लगेका खेतानले पदमा बस्ने मोह आफुलाई कहिल्यै पनि नभएको र अनुभवका लागि केही संस्थाहरुमा उपस्थिती जनाएको बताए । व्यवसाय गर्ने संस्थाको सञ्चालक समिति वा व्यवस्थापनमा बसेर हस्तक्षेप गर्नुभन्दा पनि उक्त संस्था सञ्चालनका बहुआयामिक पक्षहरुलाई नजिकबाट नियाल्दा संस्थाको तिब्र विकास हुने उनको बुझाई छ ।

एभरेष्ट इन्स्योरेन्स, लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्सलाई हालको उचाईमा पुर्याउन आफ्नो दीर्घकालिन लगानीको योजनाले नै काम गरेको उनको भनाई छ । आगामी दिनमा पनि यो सोचलाई केन्द्रमा राखेर लगानी अभिवृद्धि गर्दै जाने योजना रहेको उनले बताए । तत्काल प्रतिफलको अपेक्षा नगरी भविष्यमा सबल संस्था बनाउने योजना अनुरुप लगानी गरिरहेका खेतानले आधुनिक प्रविधिमा आधारित वित्तीय उपकरणको निर्माण र त्यसको प्रभावकारीतामा जोड दिने योजना बनाएका छन् ।

“लक्ष्मी कर्प मार्फत वित्तीय क्षेत्रमा आफ्नो उपस्थितीलाई अझै बुलन्द बनाउँदै जाने अभियानमा सक्रियता बढाएको छु,” खेतानले भने ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।