बैंकिङ क्षेत्रमा कर्जा लगानी योग्य रकमको पनि अभाव, अन्तर बैंक ‘लोन स्वाप’ को चर्चा

0
Shares

बैंकिङ प्रणालीमा तरलता मात्र नभई कर्जा लगानी योग्य रकम पनि अभाव हुन थालेको छ । बैंकहरुले कर्जा विस्तार गरेको अनुपातमा निक्षेप नथपिएपछि कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थालेको हो ।

असोज महिनाको तेस्रो सातामा धेरै बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात लागू गरेपछि तोकिएको सीमा भन्दा माथि भएको संस्थाले घटाउनु पर्नेमा झनै बढ्दै गएको अवस्था छ । कर्जा विस्तार निरन्तर बढ्दै जानु तथा ठप्प रहेको आर्थिक गतिविधि चलायमान हुँदा बैंकिङ क्षेत्रको निक्षेप बाहिरिएपछि बैंक तथा वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकम अभाव देखिन थालेको हो ।

चालु आर्थिक वर्षदेखि नेपाल राष्ट्र बैंकले पूँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात खारेज गरी कर्जा निक्षेप अनुपात (सीडी) लागू गरेको छ । यसले गर्दा पनि बैंकहरुलाई नयाँ निक्षेप नलिई कर्जा दिन नसक्ने अवस्था सृजना भएको हो । बैंकहरुले नयाँ निक्षेप तान्नका लागि असोज महिनादेखि ब्याजदर बढाए । कतिपय बैंकले नयाँ निक्षेप तान्नका लागि ब्याजदर बढाए भने कतिले आफ्नो निक्षेप बाहिर नजाओस भनेर ब्याजदर बढाई दोहोरो अंकमा पुर्याएको अवस्था छ ।

बैंकहरुले ब्याजदर बढाएको अवस्थामा पनि नयाँ निक्षेप नथपिएपछि कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको हो । त्यसका साथै बैंकहरुले कर्जा लगानी योग्य रकमको समस्या हुन थालेपछि ब्याजदर अझै बढाउने सम्भावना देखिन्छ । आगामी महिना अर्थात कात्तिक महिनामा बैंकहरुले कर्जा लगानी गर्नका लागि नयाँ निक्षेप लिनुपर्ने हुन्छ । त्यसका लागि ब्याजदर बढाउनुको विकल्प छैन् ।

पछिल्लो समयमा देखिएको तरलताको अभावले आगामी दिनमा ब्याजदर झनै बढ्ने संकेत गरेको सनराइज बैंकका प्रमूख कार्यकारी अधिकृत सुमन शर्माले बताए । “कर्जा लगानी योग्य रकम पनि कसिलो अवस्थामा आएको छ,” उनले भने,“निक्षेप बढेको छैन, कर्जा निरन्तर बढेको हुनाले पनि कर्जा लगानी योग्य रकमको अभाव देखिएको हो ।” नेपाल राष्ट्र बैंकले सीडी रेसियोको नियम ल्याउँदा नै सीमा भन्दा माथि रहेका बैंकहरुको सीडी रेसियो घट्नु पर्नेमा झनै बढेको उनले बताए । उच्च कर्जा विस्तारले वा निक्षेप घटेर पनि कर्जा लगानी योग्य रकमको अभाव भएको बताउँदै उनले भने,“पछिल्ला दिनहरुमा अन्तर बैंक कर्जा स्वाप गर्ने कुराहरु समेत सुरु हुन थालेको छ ।”

बैंकहरुको कर्जा दिने क्षमता विस्तारका लागि आयातमा कमी, अहिलेको कर्जा विस्तारको गतिमा सुस्तता तथा रेमिट्यान्स आप्रवाहमा उच्च सुधार हुनुपर्ने उनको भनाई छ । त्यतीमात्र नभई सरकारी खर्च पनि बढेको खण्डमा मात्र बैंकहरुले कर्जा लगानी गर्न सक्ने अवस्था रहने उनको बुझाई छ ।

चालु आर्थिक वर्ष सुरु भएदेखि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको बताउँदै अर्का एक बैंकरले भने,“सरकारले विगतका धेरै टे«जरी जारी गरेकाले पनि तरलता अभाव देखिएको हो ।” अहिलेको अवस्थामा तरलता मात्र नभई नयाँ निक्षेप नआउँदासम्म कर्जा लगानी गर्न नसकिने अवस्था रहेको उनको तर्क छ । बैंकहरुले नयाँ निक्षेपका आगामी महिना देखि पुनः ब्याजदर बढाउनुको बिकल्प नरहेको उनी बताउँछन् ।

चालु आर्थिक वर्षको असोज १५ गतेसम्ममा बैंकहरुमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कोरोनाले ठप्प रहेको आर्थिक गतिविधि सुचारु भएसंगै बैंकिङ प्रणालीबाट निक्षेप बाहिरीन थालेको थियो । तर, बैंकहरुले कर्जा लगानीको गतिलाई भने सुस्त बनाउन सकेनन् । त्यसले गर्दा पनि अहिले कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको हो । यो अवधिमा बैंकहरुले कुल ४२ खर्ब १८ खर्ब रुपैयाँ निक्षेप रहेको छ भने ३९ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

तरलताको जटिल अवस्था

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा वित्तीय प्रणालीमा १७ अर्ब रुपैयाँ तरलता रहेको छ । वित्तीय प्रणालीको सहजताका लागि करिब ३२ अर्ब रुपैयाँ तरलता आवश्यक हुन्छ ।

वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएपछि बुधबार बैंकहरुले हालसम्मकै धेरै करिब ४८ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिएका छन् । त्यसैगरी राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या सहज बनाउनका लागि निष्काशन गरेको २० अर्बको रिपोमा ४८ अर्ब रुपैयाँ बराबरको माग भएको छ । बुधबार राष्ट्र बैंकले निष्काशन गरेको रिपोको औषत रेटपनि ४.९६ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।