तरलता सहज गर्न एकैदिन करिब २८ अर्बको ‘एसएलएफ’, २० अर्बको रिपोे

0
Shares

बैंक वित्तीय संस्थाले निक्षेप आकर्षित गर्नका लागि ब्याजदर बढाएको भएपनि तरलता समस्यामा भने कुनै सुधार आउन सकेको छैन् । बैंक/वित्तीय संस्थाले निक्षेपको ब्याजदर दोहोरो अंक नजिक पुर्याउँदा पनि तरलताको समस्या झनै जटील बन्दै गएको हो ।

बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विविध मौद्रिक उपकरणहरु जारी गर्दे आएको छ । बिहीबार मात्र नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थालाई २० अर्ब बराबरको रिपो प्रदान गरेको छ भने १३ पटक गरेर २७ अर्ब ८५ करोड स्थायी तरलता सुविधा एसएलएफ प्रदान गरेको छ । त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले बिहीबार मात्र १ अर्ब २० करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।

बैंकिङ प्रणाली तरलता अभावको समस्या जटील बन्दै गएपछि केन्द्रीय बैंकले बिहीबार १४ दिनको लागि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । जसमा १४ वित्तीय संस्थाले ४७ आवेदन मार्फत ३७ अर्ब रुपैयाँ माग गरेका थिए । उक्त रिपोको ब्याजदर नै ४.९७ प्रतिशत कायम भएको छ । बैंकहरुले ४.९६ देखि ५ प्रतिशतसम्म ब्याजदरमा रिपो कबुल गरेका छन् ।

बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको कार्तिक ११ गतेसम्ममा बैंकहरुले ११ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन् । बैंकहरुले ५४६ पटकमा यो रकम उठाएका हुन् । यस्तै बैंकहरुले सय पटकमा ४१ अर्ब ३३ करोड रुपैयाँ ओभरनाइट रिपो उपयोग गरेका छन् ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ भने यस अवधिमा बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । चालु आवको कार्तिक ११ गतेसम्म केन्द्रिय बैंकले ८ पटक गरेर एक खर्ब ८० अर्ब बराबरको रिपो जारी गरिसकेको छ । अहिले रिपोको ब्याजदर नै पाँच प्रतिशत नजिक पुगेको छ ।

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि गत असोजदेखि अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका छन् । जसमा साधारण बचतको ब्याजदर नै ६ प्रतिशत माथि पुगेको छ भने मुद्दती बचतको ब्याजदर ९.३६ प्रतिशत रहेको छ ।

तरलता अभावको गहिरिँदो अवस्थाका कारण बैंकहरुले आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ । सरकारी खर्च हुन नसकेर बैंकिङ्ग प्रणालीमा निक्षेप आउन नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको हो । यसले निक्षेप र कर्जा दुबैको ब्याजदर बढेको छ ।

चालु आवको कार्तिक १० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ६ अर्ब रुपैयाँ रेहको छ भने वाणिज्य बैंकहरुमा ४२ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४५ खर्ब ७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा वाणिज्य बैंकहरुले ४० खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । अन्तरबैंक दर ४.९६ प्रतिशत तथा सिडी रेसियो ८९.१५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।