नेपाल बैंक ८५ औं बर्षमा प्रवेश, नेपाली मुद्राको प्रचलन गराउनेदेखि बैंकिङ क्षेत्रको विकासमा योगदान


नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८४ वर्ष पुरा गरी ८५ औं वर्षमा प्रवेश गरेको छ । १९९४ साल कार्तिक ३० गते नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवनले गरेका थिए ।

नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पूँजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा विचको अवधीमा उक्त अनुपातमा परिवर्तन हुंदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ भने बैंकको चुक्ता पूँजी २०७८ आषाढमा १२ अर्व ६४ करोड रुपैंया पुगेको छ । २ दशक भन्दा बढी समयसम्मख लाभांश बितरण नगरेको बैंकले आर्थिक वर्ष २०७६/७७ देखि लाभांश बितरण गर्न थालेको छ ।

नेपाल र नेपालीसँगको सम्बन्ध

नेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमीका अन्य बैंकसँग तुलना हुन सक्दैन । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्रै नभई नेपालमा स्वदेशी मुद्रा प्रचलनमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले त्यो समयमा खेलेको भूमीकाको जति प्रशंसा गरेपनि कमी हुन्छ ।

१९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमीका निर्वाह गरेको नेपाल बैंक हरेक नेपाली जनको हृदयसँग जोडिएको छ । त्यसैले यो बैंक स्थापना भएको साल १९९४ साललाई नेपालको बैंकिङ क्षेत्रको कोशेढुंगाका रुपमा लिइन्छ ।

उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रवद्र्धनमा अग्रणी भूमीका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८५ औँ वर्षसम्म अटुट रुपमा बैंकिङ सेवा प्रदान गर्न सफल छ ।

हिमाल, पहाड, तराई, मधेश जोड्ने बैंक

नेपाल बंैक हिमाल, पहाड, तराई, मधेशका जनताको आफ्नो बैंक हो । यसले बंैकिङ्ग सेवा मार्फत अटुटरुपमा सेवा प्रदान गर्दै हिमाल, पहाड, तराई, मधेशमा बस्ने सबै जातजाति, भाषाभाषी, समुदाय, सम्प्रदाय, वर्ग लिङ्गका सबै नेपालीलाई जोड्ने सेतुको काम गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तिकरण सम्वन्धि कार्यक्रम, विपन्न बर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढिपिडित राहत कार्यक्रम लगायत ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकाहरुलाई सहयोग तथा विनाशकारी भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग, कोभिड १९ को विनासकारी प्रकोपबाट सर्वसाधारणलाई जोगाउन सरकारलाइ र विभिन्न संघ संस्थाहरुलाइ गरेको आर्थिक सहयोगका लगायतका कार्यहरु गर्दै आएको छ ।

युवा जनशक्ति तथा व्यवस्थापन

हाल बैंकको सबै तहमा दक्ष युवा जनशक्तिको रहेका छन् जुन बैंकको एक महत्वपुर्ण सवल पक्ष हो । हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २हजार ४०० कर्मचारी कार्यरत छन् ।

संस्थागत सुशासन

बैंकले असल संस्थागत सुशासन सम्बन्धी मार्गदर्शनहरुको पूर्ण परिपालन गरिआएको छ । सञ्चालक समितिका अध्यक्ष साथै सदस्यहरु तथा कर्मचारीहरुले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण तथा निर्देशन सम्बन्धी ब्यवस्थाहरुको पूर्ण परिपालना गरेका छन । बंैकको आन्तरिक कार्य ब्यवस्थापनलाई ब्यवस्थित गर्न, संस्थागत सुशासन कायम गर्न र नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुका साथै निर्णय समितिको तहमा लेखा परीक्षण समिति, कर्मचारी ब्यवस्थापन तथा सेवा सुविधा समिति, जोखिम ब्यवस्थापन समिति, कम्प्लायन्स डिभिजन र गर्भनेन्स डिभिजन समेत स्थापना गरी कार्य ब्यवस्थित गरिएको छ ।

धातुको टोकन देखि अत्याधुनिक डिजिटल बैकिङ्गसम्मको यात्रा

सुरुका दिनमा बैंकको कार्यप्रणाली हेर्दा लेजर बुक, धातुको टोकन माध्यमवाट निक्षेप बुझी भुक्तानी दिने, कारोवारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैया, पैसा घडामा हैन बैंकमा राख्नुपर्छ, क्रण साहुसँग नभई बैंकवाट लिनुपर्छ भनि ग्राहकहरुलाई बैंकिङ्गको कखरा सिकाएको नेपाल बैंक हाल बैंकिङ्ग बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्धारा सञ्चालित सेवाहरुमा अभ्यस्त छ । जसमा भिसा सहित एटिएम, डेविट कार्ड, क्रेडिट कार्ड एनि ब्रान्च बैंकिङ्ग, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई टिकेटिङ्क लगायतका स्मार्ट बैकिङ्ग सेवाहरु समेत बैंकले उपलब्ध गराईरहेको छ ।

सबै पिँढीको साथी

नेपाल बैंकले २० लाख बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बालक, युवा, प्रौढ, जेष्ठ नागरिक सबैको रोजाई बन्न सफल नेपाल बैंकमा दिनप्रतिदिन युवा उधमीहरुको आकर्षण बढ्दो छ ।
उद्यमी, व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको रोजाई बनेको यो बैंकले ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेर निन्तर कर्म गर्दै आएको छ । त्यसैले नेपाल बैंक साँच्चै ‘सबै पिँढीको साथी’ बनेको छ ।

नेपाली अर्थतन्त्र विकासका लागि बैंकले गरेका प्रतिवद्धता

बैंकले हालसम्म आईपुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । यति मात्रै होइन ८५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले थप प्रतिवद्धताहरु पनि गरेको छ ।
देशका सबै बर्ग र क्षेत्रमा वित्तीय सेवाको विस्तार गरि वित्तीय सेवाको पहुंच अभिबृद्घि गर्ने साथै नेपालको आर्थिक विकासको सहयात्री भैरहने प्रतिवद्धता बैंकले गरेको छ । यसले हरेक स्थानीय तहका हरेक व्यक्ति वित्तीय रुपमा साक्षर बन्ने, लगानीका अवसरहरु सिर्जना हुने र ग्रामिण अर्थतन्त्रको विकासमा उदाहरणीय योगदान गर्ने बैंकको लक्ष्य छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।