बजारमा खुद्रा पैसाको अभाव, तोकिए भन्दा बढी शुल्क तिर्न बाध्य सर्वसाधारण

0
Shares

दैनिक उपभोगका सामान खरिद गर्दा होस वा सार्वजनिक यातायातमा यात्रा गर्दा सर्वसाधारण तोकिए भन्दा वढी शुल्क तिर्न बाध्य भएका छन् । बजारमा एक, दुुई रुपैयाँका नोट तथा सिक्का अभाव भएका कारण सर्वसाधारणले पाउनुपर्ने सानो रकम फिर्ता नपाउने गरेका हुन् ।

दैनिक उपभोग्य समाना खरिद गर्दा सानो रकम फिर्ता दिनुपर्ने अवस्थामा पसलले चक्लेट दिने गरेका छन् । त्यसैगरी सार्वजनिक यातायातमा यात्रा गर्दा खुद्रा पैसा फिर्ता गर्नुपर्ने अवस्थामा सहचालकले नभएको भन्दै यात्रु ठग्ने गरेका छन् । सानो रकममा सर्वसाधारण ठगिनुमा सरकारी पक्षको पनि कमजोरी उत्तिकै रहेको देखिन्छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले खर्च धेरै लाग्ने भन्दै एक र दुई रुपैयाँका नोट छाप्नै बन्द गरेको अवस्था छ । त्यस त केन्द्रीय बैंकले एक र दुई रुपैयाँका सिक्का भने बजारमा ल्याउने गरेको भएपनि त्यसले बजारको माग धान्न नसकेको देखिन्छ ।

मंगलबार बिजुलीबजारबाट रत्नपार्क सम्म माइक्रोबसमा यात्रा गरिरहेकी सुमित्रा मगरले सहचालकलाई भाडा कति हो भनेर सोधिन । जवाफमा सहचालकले २० रुपैयाँ भनेर मागे । तर, त्यो दुरीका लागि सरकारले तोकेको भाडा १८ रुपैयाँ हो । सरकारले तोकेको भन्दा वढी भयो भन्दा भाडा बढेको छ भनेर २० रुपैयाँ नै लिए । नेपाल यातायात तथा ठुला सार्वजानिक यातायातले सुनेको नसुनेई गर्ने गरेको मगरले गुनासो गरीन । “टेम्पुमा यात्रा गर्दा सानो रकम फिर्ता माग्यो भने दिन्छन्, कहिलेकाँही छैन् भन्ने गरेका छन्,” उनले भनिन ।

बाग्मती प्रदेश सरकारले कार्तिक १ गतेबाट लागु हुनेगरी सार्वजनिक सवारी साधनको भाडा बढाएको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ भाडा दर लागू गरेसंगै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्छ । तर अहिले काठमाण्डौका सार्वजनिक यातायतमा चढ्यो की २० रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

विगत ७ वर्ष यता नेपालमा ५ रुपैयाँ भन्दा कम मुद्रा छापिएका छैनन । राष्ट्र बैंकले सिक्का प्रयोग गर्न प्रोत्साहन गर्दै साना नोटहरुलाई विस्थापित गरेपछि यस्तो समस्या बढेको हो । बैंकले बढी खर्च लाग्ने र वर्षेनी छाप्नु पर्ने भएकाले यस्ता नोटहरु छाप्न बन्द गरेको हो । तर सिक्का बोक्न झन्झन्टिलो भएपछि अहिले नेपाली बजारमा न यात्रु संग सिक्का छ न त चालक सहचालकसंग ।

तर सिक्काको अभाव देखाउँदै सरकारी निकायको मातहतमा रहेका सार्वजनिक यातायातले समेत १८ रुपैयाँको सट्टा टिकट काटेरै प्रति व्यक्ति २० रुपैयाँ लिइरहेका छन् । जुन भाडादर ५ किलो मिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ भाडा लाग्छ तर चालक तथा सहचालकले २५ रुपैयाँ भाडा लिने गरेको पाइएको छ । १५ किमिसम्म २७ रुपैयाँ लाग्नेमा ३० रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने गरेको छ ।

रत्नपार्क देखि बसुन्धारा चल्ने एक माइक्रो बसका सहचालक अविनास भुजेलले आफुहरुले यात्रुलाई ठग्ने नियतले भन्दा पनि सिक्का नभएर सानो रकम फिर्ता दिन असमर्थ भएको बताए । “अचेल सिक्का नै पाइरहेको छैन्,” भुजेलले भने ।

त्यसैगरी सरकारी स्वामित्वको साझा यातायतले १८ रुपैयाँ लाग्ने दुरीका लागि २० रुपैयाँको टिकट दिने गरेको छ । प्रदेश सरकारले तोकेको न्यूनतम १८ रुपैयाँ भाडा पानामा मात्र सिमित देखिन्छ । साझा यातायतका सहचालक गोविन्द बस्याल एक यात्रु संग कुरा गर्दै सिक्का नभएको भन्दै यात्रुलाई नै खुद्रा पैसा दिन आग्रह गर्दै थिए ।

यसरी सिक्काको अभाव सार्वजनिक सवारीमा मात्र नभई औषधी पसल, तरकारी बजार, किराना पसल लगायतका ठाउँहरुमा पनि छ । बजार खुद्रा पैसा अभाव हुदाँ व्यापारी तथा सर्वजानीक यातायातलाई सर्वसाधारण ठग्न सहज भएको छ । बजारमा खुद्रा पैसाको माग उच्च भएको अवस्थामा पनि केन्द्रिय बैंकले किन मौन बसेको हो भन्ने प्रश्न खडा भएको छ । 

यसो भन्छ राष्ट्र बैंक

‘बजारमा सिक्काको अभाव बढेको विषयमा राष्ट्र बैंक पनि मौन छ । “अहिले बजारमा सिक्का सर्टेज भएकै हो,”राष्ट्र बैंकका मूद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्र. नेपाल भन्छन्,“यो त्यती ठुलो विषय होइन् एक डेढ महिनामै ठिक हुन्छ।”

एक र दुई रुपैयाँका नोट नछापेकै ७ वर्ष भयो

केही वर्ष अघिसम्म नेपाली बजारमा एक, दुई रुपैयाँका नोटहरु चलन चल्तिमा थिए । तर पछिल्लो समय त्यस्ता नोटहरु भेट्नै मुस्किल पर्छ । सन् २०१४ बाट नेपालमा एक रुपैयाँ, दुई रुपैयाँ, २५ रुपैयाँ तथा २५० रुपैयाँका नोटहरु छाप्न बन्द गरिएको छ । वर्षैँदेखि बन्द भएका यस्ता नोटहरुको सट्टामा राष्ट्र बैंकले सिक्काको प्रयोग गर्ने प्रोत्साहन गर्दै आइरहेको छ ।

सिक्का भन्दा नोट छाप्न बढी खर्च लाग्ने भएपनि टिकाउको दृष्टिकोणले राष्ट्र बैंकले सिक्कामा बढी जोड दिएको जनाएको छ । बजारमा नोट बढीमा २ वर्ष सम्म टिक्ने तर तिनै नोट बराबरको एक र दुईका सिक्का ८ देखि १० वर्ष सम्म टिक्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

४ वर्षका लागि ५० करोड रुपैयाँ बराबरको सिक्का

राष्ट्र बैंकले चार वर्ष अवधिका लागि ५० करोड रुपैयाँ बराबरको सिक्का छाप्ने तयारी गरेको छ । बैंकले ४ वर्षका लागि १ रुपैयाँ दरको ३० करोड थान सिक्का र २ रुपैयाँको दरको १० करोड थान सिक्का गरी कुल ५० करोड रुपैयाँ बराबरको छाप्ने योजनामा छ ।

नेपालका अनुसार बजारमा सिक्काको अभाव देखिन थालेपछि ४ वर्ष समय अवधिका लागि उक्त सिक्का ल्याउने तयारी भइरहेको छ । मंसिर महिनाको २० गते पछि बजारमा एक रुपैयाँ बराबरको १० करोड थान र २ रुपैयाँको ४ करोड थान सिक्का सर्कुलेसनमा आउने उनले जानकारी दिए ।

सिक्का छाप्दा कति खर्च हुन्छ ?

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा चलन चल्तिमा रहेका सिक्का छाप्न सिक्काको भन्दा बढी मूल्य तिर्नुपर्छ । बैंकका अनुसार एक रुपैयाँ बराबरको सिक्का छाप्न १ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्छ । त्यसैगरी २ रुपैयाँ बराबरको सिक्का छाप्न बैंकले २ रुपैयाँ ७३ पैसा लाग्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।