काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो, ६ घण्टासम्म रोकथामको पहल भएन


काठमाण्डौको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।

बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन ।

सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगे पछि स्थानीय अलमलमा परेका छन् ।

ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिएको थियो । यद्यपी ग्यास नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।

बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किलोमिटर क्षेत्रमा धुलो पुगेको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर सबै घर कुरुप भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ