साझा यातायात नै यात्रु लुटमा सक्रिय, टिकट काटेरै तोकिएभन्दा बढी भाडा असुली

0
Shares

सरकारी स्वामित्व समेत रहेको “साझा यातायात” ले नै सरकारले तोकेभन्दा बढी भाडा असुली गर्दै यात्रुमाथि लुट मच्चाएको छ । साझाले बजारमा खुद्रा पैसाको अभावको फाइदा उठाउँदै टिकटमै तोकिए भन्दा बढी भाडादर कायम गरी बिक्री गर्दै आएको हो ।

वाग्मती प्रदेश सरकारको असोज २० गतेको मन्त्रीस्तरिय निर्णय अनुसार कार्तिक १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा बढाएको थियो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८ रुपैयाँ भाडादर तोकिएको छ ।

निजी क्षेत्रबाट सञ्चालित यातायात व्यवसायीहरुले यात्रुमाथि तोकिएभन्दा धेरै भाडा असुल्ने गरेपनि अर्धसरकारी निकाय साझाले यसअघि भने सरकारको भाडादरमा नै सेवा दिँदै आइरहेका थिए । तर पछिल्लो समयमा साझाले बजारमा साना रकमका नोट तथा सिक्काको अभाव रहेको बहानामा सरकारले न्यूनतम भाडादर १८ तोकको भएपनि यात्रुसँग २० रुपैयाँ असुल्दै आएको छ ।

काठमाण्डौं उपत्यकामा सार्वजनिक सवारीमामा यात्रा गर्नेले ५ किलोमिटर भन्दा कम दूरीका लागि १८ रुपैयाँ भाडा सरकारले तोकिदिएको भएपनि यात्रुले भने २० तिर्दे आएका छन् ।

त्यसैगरी पाँचदेखि दश किलोमिटरसम्म २३ रुपैयाँ, दशदेखि पन्ध्र किलोमिटरसम्म २७ रुपैयाँ, पन्ध्रदेखि बीस किलोमिटसम्म ३० रुपैयाँ र बीस किलोमिटरभन्दामाथि ३५ रुपैयाँ भाडादर तोकिएको छ । तर यात्रुहरु भने १८ रुपैयाँ तिर्नुपर्नेमा २०, २३ रुपैयाँमा २५ र २७ रुपैयाँ निर्धारण भएको दूरीमा ३० रुपैयाँ भाडा तिर्न बाध्य छन् ।

साझा यातायातमा बुधबार लाजिम्पाटबाट पानीपोखरीसम्म यात्रा गरेकी सफलता कार्कीले २० रुपैयाँ भाडा तिरिन् । तीन किलोमिटर भन्दा कम दूरी रहेको सो स्थानमा १८ रुपैयाँभाडा भएपनि उनलाई सहचालकले २० रुपैयाँको गुलावी रङको टिकट थमाए । उनले भनिन् “आधिकारिक संस्थाबाटै टिकट पाउँदा त ठगी हुँदैन् भन्ने लाग्थ्यो, तर सरकारी स्वामित्वको गाडीबाटै चानचुन रकम फिर्ता पाइनन् । बरु तोकिएभन्दा बढी शुल्क असुली गर्दै टिकट काटेरै बढी भाडा लिए ।”

साझा यातायातले रुट अनुसारको सबै मूल्यको टिकट छापे पनि यात्रुलाई भने तोकिएभन्दा बढीको टिकट दिइने गरिएको छ । सफलता कार्की एक प्रतिनिधि पात्र मात्र हुन् । अहिले उपत्यकामा यात्रा गर्ने जो कोही यात्रुले जति छोटो दूरीमा यात्रा गरेपनि न्यूनतम २० रुपैयाँ तिर्न बाध्य छन् । यसरी दैनिक हजारौं यात्रु ठगी गर्दै आइरहेको यातायात व्यवसायप्रति न त सरोकारवाला निकायको ध्यान नै गएको छ न पीडित यात्रुले आवाज उठाउन सकेका छन् ।

बजारमा खुद्रा पैसाको अभाव, तोकिए भन्दा बढी शुल्क तिर्न बाध्य सर्वसाधारण

बिहीबार बिहान १० बजे रानीपोखरीमा साझा यातायातबाट इमाडोल ललितपुरमा रहेको कार्यालय जान हिँडेका हेमनाथ दाहालले भने,“हामी सानो रुपैयाँको लागि बोल्दा गाडीबाटै झारिदिने हुन् कि भन्ने डर लाग्छ । एक जना बोलेर मात्र पनि नहुने ।”

वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ भाडा दर लागू गरेपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा काठमाडौं उपत्यकाका निजी तथा सार्वजनिक यातायातमा नै भाडामा मनपरीतन्त्र कायम भएको हो ।

के भन्छ साझा यातायात ?

साझा सहकारी र काठमाण्डौं महानगरपालिको संयुक्त लगानीमा बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायाताले नै बढी भाडा असुल्ने गरेको प्रश्नमा साझा यातायतका प्रबन्धक महेन्द्रराज पाण्डेले ठाडै अस्वीकार गरे ।

बढी भाडा उठाउनु भन्ने आफ्नो पोलिसिमै नरहेको बताउँदै पाण्डेले भने,“त्यस्तो त छैन् । हामी त हरेक व्यक्तिलाई टिकट दिन्छौँ, सबै रेटको टिकट छ । त्यस्तो त नहुनुपर्ने, जानकारी आएको छैन ।”

साझा यातायातमा न्यूनतम १५ रुपैयाँदेखिको टिकट छापिएको भन्दै उनले आफुहरुसँग २० रुपैयाँ, २५ रुपैयाँको मात्र टिकट नभई १५ रुपैयाँतथा १७ रुपैयाँको टिकट भएको समेत बताए ।

पाण्डे भन्छन्,“हामीसँगै १८ रुपैयाँ, २३ रुपैयाँ,२७ रुपैयाँ सबै दरको टिकट छ । हामीले हाम्रो स्टाफलाई सबै मूल्यका टिकट दिएर पठाएका छौं । प्रबन्धक पाण्डेले सबै दरका टिकट छापिएको बताएपनि साझा यातामा चढ्ने यात्रुले भने त्यस्तो अवस्था महसुस गर्न सकेका छैनन् । साझामा यात्रा गर्ने यात्रुले नै १८ रुपैयाँको टिकट पाउँदैनन् ।

काठमाण्डौं उपत्यकाका विभिन्न रुटमा गरी साझा यातायातका ६७ वटा गाडी सञ्चालनमा रहेका छन् । जसबाट साझाले दैनिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको कम्पनीले जनाएको छ ।

सरकारको अनुगमन पनि फितलो

सरकारले नयाँ भाडादर तोकेपनि त्यसको प्रभावकारी अनुगमन र कार्यान्वयन हुन नसक्दा यात्रुहरु लुटिनुपर्ने अवस्था आएको हो । बढी भाडा असुल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले समय समयमा कारवाही गर्ने गरेपनि नियमित अनुगमन नहुँदा त्यसको फाइदा निजी यातायात व्यवसायीहरुका साथै सरकारी तवरबाट सञ्चालित साझाले समेत यात्रुमाथि लुट गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुहरुबाट बढी भाडा लिएका खबरहरु महाशाखामा दिनहुँ आउने गरेका छन् । महाशाखामा दिनमा १० भन्दा बढी यस्ता गुनासाहरु आउने गरेको छ ।

डिएसपी सुनिलजङ्ग शाहले भने,“हामीले त्यस्ता कप्लेनहरु आएपछि कारबाही गरेका छौं । बग्गिखानाबाटै अनुगमनका लागि प्रत्येक दिन ५ जना ट्राफिक प्रहरी यात्रु बनेर बस तथा माइक्रोमा यात्रा गर्ने गरेका छन् ।”

शाहका अनुसार हालसम्म यात्रु ठगी गर्ने २५० भन्दा बढी सार्वजनिक बस तथा माइक्रो कारबाहीमा परिसकेका छन् । साथै त्यस्तो ठगीएको पाइएमा कारबाहीका लागि सधै लागि परिरहने पनि शाहले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।