चार महिनामा ३१३ अर्ब कर्जा विस्तार हुँदा निक्षेप ३२ अर्ब मात्र थपियो

0
Shares

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब १३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने पछिल्लो चार महिनामा बाणिज्य बैंकहरुमा ३२ अर्बले निक्षेप थपिएको छ ।

चालु आर्थिक वर्ष सुरु भए यता नै बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहे पनि कर्जा विस्तारमा भने आक्रमक देखिएका छन । कर्जा विस्तारको तुलनामा बैंकहरुमा निक्षेप नथपिँदा तरलता संकटको समस्या झनै चुलिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप ’सिसिडी’ अनुपात हटाएर कर्जा निक्षेप ’सिडी’ अनुपात कार्यान्वयनमा ल्याएसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक बन्दा तरलता अभाव गहिरिदैँ गएको हो।

वाणिज्य बैंकहरुमा साउन १ गतेदेखि कात्तिक मसान्तसम्ममा ३२ अर्ब मात्र निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ३१३ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेप संकलन तुलनामा ९.७८ गुणा बढी कर्जा परिचालन गरेको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।

गत असारमसान्तसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ एक अर्ब निक्षेप रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा ४२ खर्ब ३३ अर्ब पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैंकहरुको कर्जा विस्तार ४० खर्ब ३४ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप साउनमा ७८ अर्बले घटेको थियो । भदौमा ४८ तथा असोजमा ९८ अर्बले निक्षेप थपिएपनि कात्तिकमा ३६ अर्बले निक्षेप घटेको थियो । त्यस्तै साउनमा वाणिज्य बैंकहरुले ४३ अर्ब थप कर्जा विस्तार गरेकोमा भदौमा १०८ अर्ब, असोजमा १२६ अर्ब तथा कात्तिकमा ३६ अर्ब कर्जा विस्तार गरेका छन ।

राष्ट्र बैंकले अर्थतन्त्रमा उत्पादकत्व बढ्न नसकेको तथा बढ्दो आयातका कारण शोधान्तर स्थितिको घाटा बढेको एवं विदेशी मुद्राको सञ्चितिमा दबाब परेकाले कर्जा विस्तारमा कडाइ गरेपनि बैंकहरु भने थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्।

सरकारले पूँजीगत खर्च गर्न नसक्ने अवस्था, रेमिट्यान्स आप्रवाहमा कमी, सरकारी ट्रेजरी विलको अधिक निष्काशन तथा उच्च आयातले गर्दा वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ