ब्याजदरको लगामले बैंकको निक्षेप सहकारी तर्फ, तथ्याङ्क खोज्दै बैंकर्स संघ

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेप पछिल्ला दिनहरुमा सहकारीमा स्थानान्तरण भएको छ । नेपाल राष्ट्र बैंकले नै ब्याजदर तोकिदिएपछि धेरै ब्याजका लागि बैंक वित्तीय संस्थामा रहेको पैसा सहकारीमा गएको हो ।

नेपाल राष्ट्र बैंकले मंसिर महिनाको सुरुवातदेखि बैंक वित्तीय संस्थालाई ब्याजदर गणनाको सुत्र नै बनाई लागू गरेको छ । सो अनुसार वाणिज्य बैंकले निक्षेपकर्तालाई अधिकतम १०.०५ प्रतिशत ब्याजदर दिन्छन् । त्यसैगरी सोही सुत्रलाई विश्लेषण गरेर विकास बैंक र फाइनान्स कम्पनीहरुले भने भद्र सहमती गरे । सो अनुसार विकास बैंकको अधिकतम निक्षेपको ब्याजदर १०.२५ र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन् ।

बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकिएपछि निक्षेपकर्ताले पैसा सहकारीमा लगेको अनुमान नेपाल बैंकर्स संघको छ ।

बैंक तथा वित्तीय संस्थाको तुलनामा सहकारीमा धेरै ब्याजदर पाइन्छ भनिएपनि औसतमा भने खासै धेरैको फरक नरहेको बचत तथा ऋण सहकारी संघले नेपाल (नेफ्स्कुन) का प्रमूख कार्यकारी अधिकृत प्रकास प्रसाद पोख्रेलले बताए । “सहकारी क्षेत्रमा पनि तरलताको समस्या छ,”उनले भने,“पछिल्लो समयमा बैंक वित्तीय संस्थाबाट पनि अलि–अलि आएको देखिन्छ ।” विगतको जस्तो बैंकहरुको पैसा सहकारीमा आइनसकेको पनि उनले बताए ।

ब्याजदरका कारण बैंकिङ क्षेत्रको पैसा सहकारीमा गएको हुन सक्ने कुरा आएपछि संघले त्यसको आधिकारीकताको खोजी सुरु गरेको बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताए । “ब्याजदरका कारणले सहकारीमा पैसा गएको हुनसक्छ,”उनले भने,“उच्च आयातका लागि भुक्तानी भएको हो वा सहकारीमा बढी ब्याजदरका लागि पैसा गएको हो भन्ने विषयको स्पष्टताको काम अघि बढाएका छौ ।”

चालु आवको कात्तिक महिनामा वाणिज्य बैंकहरुबाट ३६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । कात्तिकको अन्तिम साता बैंकहरुमा १५ अर्बले निक्षेप बढेपनि मंसिरको पहिलो साता भने ८ अर्ब रुपैयाँले घटेको छ । वित्तीय प्रणालीको भन्दा धेरै ब्याजदर पाइने भएपछि बैंक वित्तीय संस्थाको निक्षेप सहकारीमा सिफ्ट भएको एक बैंकरले बताए । ती बैंकरका अनुसार ब्याजदरमा गरिएको नियन्त्रणले पूँजी पलायनको जोखिम पनि उत्तिकै रहन्छ ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएयता अर्थात साउनदेखि मंसिर ३ गतेसम्ममा ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने २४ अर्बले मात्र निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सुरु भए यता नै बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहे पनि कर्जा विस्तारमा भने आक्रमक नै रहे । कर्जा विस्तारको तुलनामा बैंकहरुमा निक्षेप नथपिँदा तरलता संकटको समस्या झनै चुलिँदै गयो । त्यती मात्र नभै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको गतिलाई नियन्त्रण गर्नका लागि पूँजी, कर्जा तथा निक्षेप अनुपातलाई खारेज गरी कर्जा निक्षेप कायम ग¥यो । त्यसले गर्दा अहिले बैंकहरुमा तरलता अभावको समस्यासँगै कर्जा लगानी योग्य रकमको समेत अभाव बढेको छ ।

गत असारमसान्तसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ एक अर्ब निक्षेप रहेकोमा मंसिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैंकहरुको कर्जा विस्तार ४० खर्ब ४१ अर्ब पुगेको छ । बैंकर्स संघले पनि सहकारीमा बैंक वित्तीय संस्थाको निक्षेप गयो भन्ने अएपछि तथ्याङक संकलन गर्न सुरु गरेको छ ।

लघुवित्त वित्तीय संस्था र बैंक वित्तीय संस्थाको ब्याजदरमा खासै धेरैको भिन्नता देखिदैन । तर, बैंक वित्तीय संस्थाहरुमा घटिरहेको निक्षेप सहकारीमा गयो वा आयातको भुक्तानी भएको भन्ने यकिन हुन नसकेको बैंकहरुको भनाई छ । यसलाई बैंकर्स सघंले समेत चासोका साथ हेरेको बैंकहरु बताउँछन् । पछिल्लो समयमा बैंकहरुले ऋणीलाइ कर्जा दिन नसक्ने अवस्था आएपछि कर्जा नै एक बैंकले अर्कोलाइ बिक्री गर्नु परेको अवस्था छ । पछिल्लो समयमा धेरै बैंकहरुले कर्जा बिक्री गरेको भएपनि खरिद गर्नेमा स्ट्याण्डर्ड चार्टर्ड तथा राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

एक दुइ दिनको भन्दा पनि महिना पुरा भएको तथ्याङ्कलाई हेर्नुपर्ने बताउदै अध्यक्ष उपाध्यायले भने,“बैंकको निक्षेप आयो भनेर सहकारीले पनि भन्दैनन् ।” बैंकिङ इण्डिष्ट्रिमा लागि ५ देखि ७ अर्ब तलमाथि हुन भनेको समान्य रहेको उनको भनाई छ । बैंकिङ प्रणालीमा दिर्घकालिन स्रोतहरुको कमी भएको हो । सरकारले पुँजी खर्च नगर्ने तथा रेमिट्यान्स आप्रबाहमा गिरावट आएकाले पनि स्रोतको कमी हुनमा मद्दत पुगेको हो ।

बैंक वित्तीय संस्थाबाट लगानी नै नभएको हुन्थ्यो भने अहिलेको अवस्था जटिल रहेको बताउदै उपाध्यायले भने,“बैंक वित्तीय संस्थाको लगानी प्रसस्त भएको हुनाले यसलाई जटिल अवस्था भन्न मिल्दैन । उच्च लगानीले पनि स्रोत अभाव बढेको हो ।” स्रोत व्यवस्थापन गरेर सन्तुलित लगानी गरेको भए अहिले अवस्था नआउने समेत उपाध्यायको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।