महालेखापरीक्षकको नवनिर्मित भवन राष्ट्रपतिद्धारा उद्‍घाटन, लेखापरीक्षण व्यवस्थापन प्रणाली पनि सुरु


राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित अडिट भवनको उद्‍घाटन गरेकी छन् ।

भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानले निर्दिष्ट गरे बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेत विचार गरी सरकारी निकायको कारोबार मूल्याङ्कन मार्फत कार्यालयले सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र स्वच्छता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । संघीयता पश्चात संघ प्रदेश र स्थानिय तहसम्म कार्यालयको क्षेत्राधिकार विस्तार भएको सन्दर्भमा महालेखापरीक्षकलाई संविधानले सुम्पेको दायित्व दक्षतापूर्वक निर्वाह गर्न र सम्पादन गरेको कामको विश्वसनियता अभिबृद्धि गर्न निरन्तर क्रियाशील रहनुपर्ने उनको भनाई थियो ।

आर्थिक अनुशासन परिपालना गरी देशको सम्बृद्धिको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहको काम कारवाही सम्बन्धमा सुधार योजना बनाई लागू गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । बर्षेनी बेरुजू रकम बढने तर फर्छयौट नहुने अवस्थाका सम्बन्धमा गहन अध्ययन विश्लेषण गरी सुधार गर्नु जरुरी रहेको उनले बताइन् ।

निर्यातभन्दा आयात बढि भएको, कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर रहेकोले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राज्यका सम्बद्ध निकायलाई घच्घच्याउने जस्ता नीतिगत विषयहरुमा महालेखापरीक्षकबाट प्रभावकारी भूमिका निर्वाह गर्न समेत राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराएकी थिइन् ।

महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले २०१६ सालमा स्थापना भएको महालेखापरीक्षकको कार्यालय स्थापनाकालदेखि बबरमहलस्थित भवनमा संचालन हुँदै आएकोमा २०७२ सालको भूकम्पका कारण भवनमा कार्यालय सञ्चालन हुन नसक्ने भएकोले विभिन्न स्थानमा भवन भाडामा लिई कार्यालय संचालन गरिएको बताएका थिए । कार्यालयबाट यस बर्षदेखि विद्युतिय माध्यमबाट लेखापरीक्षण कार्य गर्न प्रयोगमा ल्याइएको नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीको पनि सुरुवात गरिएको उनले जानकारी दिए ।

परम्परागत र आधुनिक शैली मिश्रित अडिट भवनको कुल अनुमानित लागत ८३ करोड १८ लाख रहेकोमा २०७८ कार्तिक मसान्तमा सम्पन्न हुँदा ७३ करोड ९ लाख अन्तिम लागत कायम भएको थियो ।

भवनको कुल ९ तलामध्ये २ तलामा अण्डरग्राउण्ड पार्किङ्ग रहेको छ । भूँइ तलामा रिसेप्सन, भण्डार कक्ष, पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष रहेको छ भने भवनको पहिलो तलादेखि छैठौँ तलासम्म करिव ५ सय कर्मचारीका लागि कार्यालय भवन प्रयोग हुने र सातौँ तलामा २ सय जना क्षमताको सभाकक्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।