सामाजिक उद्यमशीलताको विकास गर्ने अभियानमा नबिल बैंक, सातै प्रदेशमा कार्यक्रम


सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंकले देशव्यापी रुपमा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रमलाई देशका सातै प्रदेशमा रहेका विभिन्न क्याम्पसहरुबाट सुरु गरेको हो । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ । स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्येश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विद्यालय, कलेज तथा विश्वबिद्यालयसँग सम्झौता गरेको छ । महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, बिरगंज पब्लिक कलेज, क्याम्पियन कलेज, फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसियल साइन्स, पोखरा विश्वविघालयसँग बैंकले कार्यक्रमका लागि सम्झौता गरेको हो । यसै गरी क्षितिज इन्टरनेसनल कलेज, सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चल एकेडेमीसँग पनि बैंकले सम्झौता अनुसार सामाजिक उद्यमशीलता विकास कार्यक्रम अघि बढाएको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्नेछ।

फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो । बैंकले आजै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ । उनिहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

नबिल एसएसईका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ । उनिहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउनेछन् । उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबर्द्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन् ।

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय शुरुवात तथा संचालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससंग समेत जोडिएको छ । यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ ।

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबर्द्धन गर्न यो कार्यक्रमले निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रबर्द्धन गर्ने प्रयास गरेको छ । दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने छ । यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ शुरुवात हुने बैंकको अपेक्षा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।