१० मिनेटमा ४१ अंकले घट्यो शेयर बजार, जलविद्युत र लघुवित्तमा धेरै विकर्षण


साताको पहिलो दिन आइतबार खुलेको १० मिनेटमा नै शेयर बजार परिसुचक नेप्से ४१.४५ अंकले घटेको छ । चालु आर्थिक वर्षको मौद्रिाक नीतिको त्रैमासिक समीक्षा पछि पहिलो पटक खुलेको बजारमा तिब्र अंकको गिरावट आएको हो । योसँगै बजार परिसुचक नेप्से २६९०.३४ अंकमा ओर्लिएको छ ।

२१ करोड ७० लाख रुपैंयाको कारोबार भएको बजारमा १४४ कम्पनीका ३ लाख ९२ हजार कित्ता शेयर कारोबारमा आएका छन् । यस क्रममा मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै अन्तरले घटेको छ । प्रतिकित्ता शेयर मूल्य ११० रपैंया अर्थात ५.९४ प्रतिशतले घटेर १ हजार ७५० रुपैंयामा किनबेच भएको छ ।

तेह्रथुम पावर, पञ्चकन्या माई हाइड्रो, सिंगटी हाइड्रो, रसुवागढी हाइड्रो लगायत कम्पनीको शेयर मूल्यमा अधिक गिरावट आएको बजारमा निर्धन उत्थान लघुवित्त, सामलिङ पावर, पाँचथर पावर, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक लगायत कम्पनीको शेयर मूल्य बढेको छ ।

मौद्रिक नीतिको समीक्षामा बजारलाई सहयोग पुग्ने किसिमको सम्बोधन हुने अपेक्षा गरे पनि विषयगत रुपमा धेरै नयाँ व्यवस्था राष्ट्र बैंकले गरेन । जसको सिधा असर बजारमा परेको हो । यद्यपी कारोबारीहरुले बजार तल्लो अवस्थामा आईसकेको बेला अझै तल झारेर सस्तो मूल्यमा शेयर खरिद गर्न सक्ने अवस्था भएकाले आत्तिएर शेयर बिक्री गर्दा नोक्सानी हुन सक्ने देखिन्छ । बजारमा केही समयको अन्तरालमा तिब्र उतार चढाव देखिएको खण्डमा धैर्य भएर लगानी तथा बिक्रीको निर्णय गर्न सके नोक्सानीबाट बच्न सक्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।