नाडामा देखिएका समस्या समाधान गर्न मेरो उम्मेद्वारीः नाडा अध्यक्षका आकांक्षी ध्रुव थापा


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका प्रत्यासी ध्रुव थापाले नाडामा देखिएका समस्या समाधानकालागि आफुले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । थापा समूहले राजधानीमा नाडाको आगामी निर्वाचनका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया तथा छलफलमा थापाले यस्तो बताएका हुन् ।

मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण सभा र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाडाको अध्यक्ष पदमा थापाको प्यानलबाट थापा सहित विभिन्न पदमा १६ जना समेटिएका छन् । प्यानल निर्धारण भएसँगै थापाले राजधानीका अटो व्यवसायीसँग छलफल तथा अन्तरकृया गरेका हुन् ।

थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेपनि अझै आफुलाई नेतृत्व गर्न नसक्ने आरोप लाग्ने गरेको भन्दै व्यवसायको ३ दशकको अनुभवका आधारमा आफुले नाडाको नेतृत्व लिन सक्ने बताएका थिए । “हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु । यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु । व्यवसायीका समस्या आफैँलाई परेको सम्झेर नेतृत्वमा रहनेमा विश्वस्त हुन आग्रह गर्दछु, ” थापाले भने ।

३१ वर्ष अगाडि जिल्लाबाट सानो व्यपारीका रुपमा यस क्षेत्रमा आफु प्रवेश गरेको बताउँदै थापाले नाडाको तर्फबाट सरकार र प्रदेश सरकारहरुसँग गर्ने नीतिगत तहका छलफल गर्न आफुले पहलकदमी लिने बताएका थिए । साना, मझौला र ठूला व्यवसायीले नाडा मेरो संस्था हो भनेर गर्व गर्न सक्ने वाताबरण बनाउनु पर्नेमा जोड दिएका थापाले नेतृत्वलाई आवश्यक पर्दा सदस्यहरुले आफुसँगै पाउनु पर्ने बताए ।

आफू नाडामा २० औँ बर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र मोफसलबाट प्रतिनिधित्व गर्द नाडालाई देशव्यापी रुपमा बिस्तार गर्न पटक पटक आवाज उठाउँदै आएको सम्झिँदै थापाले भभने, “अहिले बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ । तर, ती प्रादेशिक संगठनहरुलाई आर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले मजबुत बनाउनु पर्ने आवश्यक्ता छ, त्यसको लागि मैले उमेद्वारी दिने घोषणा गरेको हुँ ।”

थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ‘हाम्रा प्रतिबद्धता’ भनेर बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

आफ्नो प्यानलको टुङगो लागेसँगै थापाले आइतबारदेखि देशव्यापी निर्वाचन लक्षित भ्रमण सुरु गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।