एक पटकमा ‘टन’ सम्म आयात भएको चाँदी ३८ केजीमा सीमित


व्यवसायीले मनलाग्दी आयात गर्ने चाँदीमा परिमाणात्मक बन्देज लागेपछि एक पटकमा ३८ केजीमै सीमित हुने भएको छ । नेपाल राष्ट्र बैंकको चाँदी आयातमा परिमाणत्मक बन्देज लगाई ड्रफ्ट/टि.टिको सीमा रकमले खाम्ने मात्र आयात गर्न पाइने व्यवस्था गरेको हो ।

पछिल्लो समयमा चाँदीको आयात उच्च भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई लगाम लगाउदै विदेशी विनिमय सञ्चितिमा देखिएको दबाबलाई समेत मद्दत गर्ने गरी नयाँ व्यवस्था गर्न लागेको हो । बैंकले प्रतिपत्र बाहेक ड्राफ्ट तथा टिटि मार्फत गरिने आयातको सीमा ३५ हजार अमेरिकी डलर तोकेको छ । मंगलबार नेपाल सुन चाँदी व्यावसायी महासंघले निर्धारण गरेको १० ग्राम चाँदीको मूल्यलाई आधार मान्दा एकपटको टिटिले करिब ३८ केजी मात्र चाँदी आयात गर्न सकिने देखिन्छ ।

व्यवसायीहरुले बैंक ग्यारेन्टी तथा स्ट्याण्ड वाई एलसी मार्फत ठूलो परिमाणमा चाँदी आयात गर्ने भएपनि अबदेखि एक पटकमा ३५ हजार अमेरिकी डलरको बराबरको मात्र आयात गर्न पाउने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “अहिले व्यवसायीहरुले बैंक ग्यारेन्टी, स्ट्याण्ड वाई एलसी लगायत माध्यमबाट जति पनि चाँदी ल्याउने गरेका छन्,” ती अधिकारीले भने,“अहिले व्यापारीले एक पटकमा एक देखि २ हजार केजीसम्म आयात गर्छन् । अब त्यो हुँदैन ।” चाँदी आयातकर्ताले टिटिको सीमामा रहेर दैनिक वा मासिक रुपमा ल्याउनसक्ने चाँदीको परिमाणलाई स्पष्ट हुने गरी थप व्याख्या गर्दै निर्देशन ल्याउने समेत ती अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले मनलाग्दी चाँदी आयात गर्ने व्यवसायीलाई प्रक्रियागत झन्झट पनि थपेको छ । त्यसैले गर्दा पनि चाँदी आयातमा धरै गिरावट आउने राष्ट्र बैंकको अनुमान छ । “औद्योगिक क्षेत्रका लागि आवश्यक मात्र आयात गर्न दिने अवस्था हुन्छ,” ती अधिकारीले भने,“चाँदी नेपालमा आयात गरेर अनौपचारिका माध्यमबाट भारत निर्यात गर्ने अभ्यासलाई समेत यसले निरुत्साहित गर्छ ।”
गत आर्थिक वर्षमा वर्ष मात्र करिब १० अर्ब रुपैयाँ भन्दा धेरैको चाँदी आयात भएको केन्द्रीय बैंकले जनाएको छ । चालु आवमा पनि चाँदी आयात अस्वभाविक उच्च छ । अयातको तुलनामा निर्यात निकै नै न्यून रहेको छ ।

औद्योगिक उत्पादन निर्यातमा त्यो चाँदी आयतको परिमाणले कुनै योगदान नरहेको राष्ट्र बैंकका अर्का एक अधिकारीले बताए । “आयात भएको चाँदी स्वदेशमै खपत भयो भन्ने अवस्था छैन,”उनले भने,“ नेपालको सन्दर्भमा चाँदीको प्रयोग हुने क्षेत्र निकै न्यून छ । यो कुनै औद्योगिक उत्पादनको कच्चा पदार्थ पनि होइन ।”

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकले चाँदी आयातमा गरेको कडाइले पर्ने असरको सन्दर्भमा अध्ययन गर्ने भएको छ । महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार विगतमा दैनिक एक क्विन्टल देखि एक टनसम्म चाँदी आयात हुने गरेको छ । “अहिले दैनिक ३ देखि ४ सय केजी चाँदीको माग रहेको छ” शाक्याले भने,“चालु आर्थिक वर्षको ४ महिनामा तथ्याङ्कका अनुसार चाँदीको आयात अत्याधिक भएको हुनाले पनि त्यसलाई नियन्त्रण गर्न खोजिएको हुनसक्छ ।” तत्कालका लागि बजारमा टिटि सीमाको असर देखिन सुरु भइ नसकेको उनी बताउँछन् ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको एक लाख २९ हजार ४ सय १० किलो चाँदी मात्रै आयात भएको छ । गत आर्थिक वर्षको सोही अववधिमा ६३ करोड रुपैयाँ बराबरको मात्र आयात भएको थियो । गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको ७१ हजार ७ सय ४६ किलो चाँदी आयात भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।