वैदेशिक मुद्रा सञ्चितिमा योगदान पु¥याउन स्वदेशमै पुनर्बीमा गर्नुपर्ने व्यवस्थाः बीमा समिति

0
Shares

बीमा समितिले वैदेशिक मुद्रा सञ्चिति सञ्चितिमा योगदान पु¥याउने उदेश्यका साथ जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा नेपालमा रहेका पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दिएको स्पष्टिकरण दिएको छ ।

पछिल्लो निर्देशनबाट ठूला व्यवसायीको कम्पनी हिमालयन रिलाई पोस्न खोजेको आरोपबारे सोमबार स्पष्टिकरण दिँदै पुनर्बीमा बापत हरेक वर्ष विदेश बाहिरिने १४ अर्ब हाराहारीको रकमलाई रोक्ने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको बीमा समितिले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘ देशमा हाल पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका कारण प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको र हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले बैदेशिक मुदा सञ्चितिमा समेत योगदान पु¥याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं ।’

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले मंसीर ९ गते जीवन तथा निर्जीवन बीमा कम्पनीलाई एक निर्देशन जारी गर्दै शतप्रतिशत पुनर्बीमा नेपालमा रहेका पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दिएको थियो । पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न सञ्चार माध्यम र सञ्चार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा र यथार्थहीन भ्रमपूर्ण जानकारीप्रति समिति खेद प्रकट गर्दछ ।’ समितिले जारी गरेको ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम देशका बीमा कम्पनीले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत पुनर्बीमा सरकारको स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने विद्यमान व्यवस्थालाई कायम राख्दै त्यस बाहेक सबै पुनर्बीमा स्वदेशी कम्पनीमै गर्नुपर्ने बाध्यकारी प्रावधान निर्देशनमा समेटिएको छ ।

पछिल्लो निर्देशन अनुसार स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा गर्न अस्वीकार गरेको खण्डमा मात्रै त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा विदेशी कम्पनीसँग गर्न पाउनेछन् । हाल नेपाल पुनरबीमा कम्पनी र हिमालयन रिले स्वदेशी पुनरबीमकको रुपमा व्यवसाय गरिरहेका छन् ।

बीमकले २० प्रतिशत व्यवसायको पुनर्बीमा सरकारको समेत सेयर स्वामित्व रहेको नेपाल नेपाल पुनरबीमा कम्पनी मार्फत गर्नुपर्ने व्यवस्था रहेको थियो । समितिको यो निर्देशनले बाँकी रहेको ८० प्रतिशत व्यवसाय दोस्रो पुनरबीमक कम्पनी हिमालयन रिलाई दिनुपर्ने बाध्यता सिर्जना गरेको छ ।

यो व्यवस्थालाई कडाइ गर्न विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सटही सिफारिश माग्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण समेत पेश गर्नुपर्ने निर्देशन समितिले बीमकलाई मंसिर ९ गते दिएको थियो ।

हिमालयन रि-इन्स्योरेन्सलाई पोस्न बीमा समितिले यस्तो बाध्यकारी निर्देशन जारी गरेको भन्दै नेपाल जीवन बीमक संघ र नेपाल बीमक संघको बैठकले बीमा समितिको निर्णय सच्याउनुपर्ने माग गरिसकेका छन् ।

स्थापना कालमा नै नै अबौं रुपैयाँको कमिशनको खेलबाट इजाजत लिएको आरोप खेपेको हिमालयन रिको व्यवसाय सुनिश्चित गर्नेगरी बीमा समितिबाट जारी पछिल्लो निर्देशनको चौतर्फी विरोध भएपछि समितिले स्पष्टिकरण नै दिएको हो ।

अन्य चार पुनर्बीमा कम्पनीहरु प्रुडेन्सियल, अन्नपूर्ण, काठमाडौं र जेन्युनलाई रि इन्स्योरेन्सपन्छाउँदै समितिले १६ जेठमा बीमा समितिले हिमालयन रिलाई ६ महीनाभित्र सञ्चालन गर्ने गरी आशयपत्र दिने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।