स्थिर हुन खोज्दै शेयर बजार, कारोबार रकममा भने संकुचन


पछिल्ला दिनमा तिब्र गतिमा ओरालो लागिरहेको शेयर बजार मंगलबार भने झिनो अन्तरको गिरावटसँगै बन्द भएको छ । मंगलबारको उतारचढावले बजार स्थिर हुन खाजेको देखाएको छ ।

मंगलबार बजार परिसुचक नेप्से १.६४ अंकले घटेर २६२८.३७ अंकमा अडिएको छ । यस दौरान २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता शेयरहरु ४१ हजार ५८५ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४२ हजार रुपैंयाको कारोबार भएको छ । बजार स्थिर हुन खोजिरहेका बेला कारोबार रकममा भने गिरावट देखिएको हो । सोमबार ४ अर्ब ८९ लाख रुपैंयाको शेयर किनबेच भएको थियो ।

मंगलबार ८९ कम्पनीको शेयर मूल्य बढ्दा ८६ को घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उपसमुहहरुमा वृद्धि र गिरावटको अवस्था उस्तैउस्तै देखिएको छ । जीवन बीमा उपसमुहमा सबैभन्दा धेरै गिरावट आएको बजारमा उत्पादन, व्यापार, लघुवित्त, वाणिज्य बैंक, होटल र लगानी उपसमुहमा गिरावट आएको छ । निर्जीवन बीमा उपसमुहमा सबैभन्दा धेरै सुधार देखिएको बजारमा विकास बैंक, जलविद्युत, अन्य, वित्त र सामुहिक लगानी कोष उपसमुहमा सुधार देखिएको छ ।

सामलिङ र न्यादी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको बजारमा तेह्रथुम पावर, युनाइटेड इदी मार्दी आरबी हाइड्रो लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेका छन् । धेरै शेयर मूल्इ घट्ने कम्पनीहरुमा इन्फिनिटी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मितेरी डेभलपमेण्ट बैंक, बैंक अफ काठमाण्डू लगायतका कम्पनीहरु रहेका छन् ।

कारोबार रकमका आधारमा पछिल्ला दिनमा चलखेल भईरहेका दुई कम्पनीहरु आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको अग्रता रहेको बजारमा हिमालयन डिष्टीलरी, नबिल बैंक, नेशनल हाइड्रो, एनआईसी एशिया बैंक लगायतका कम्पनीले पछ्याएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।