नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा, यस्तो छ प्यानल


अटोमोबाइ व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनमा करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चौधरीले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

नाडाको हाल रहेको कार्यसमितिको झण्डै ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गर्दै चौधरीले प्यानलका सदस्यहरुको परिचय गराएका थिए ।

नाडाको नेतृत्वमा अहमता लिएर आउन खोजेको नभई टीमसँगको विश्वासमा अघि बढेको चौधरीको भनाई थियो । नाडा नेतृत्वमा पुगेर आफ्नो व्यवसायको नाफा नोक्सान नभई समग्र व्यवसायको हीतका लागि काम गर्ने बताएका चौधरीले अटो व्यवसाय भित्रका सबै धारका व्यक्तिलाई समेटेर अघि बढेको बताएका थिए ।

चौधरीको प्यानलमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, अग्नी इन्कर्पोरेटका निर्देशक बरदान बस्नेत, हिरो मोटोकर्पका अमिक ज्योती, आईएमई मोटर्सका निशान ढकाल, पार्टस् आयातकर्ता भावना विजनेश लिंकका सुनिल रिजाल, डिलरका तर्फबाट एनएमबी अटो विजनेशका अनुप कुमार बराल छन् ।

त्यसै गरि ल्यूबबाट पिएलओ लुब्रिकेण्ट्सका निर्देशक सुरेन्द्रकुमार उप्रेती, टायरतर्फबाट डेल्टा टायरका बिक्रम सिंघानिया, रिसिभ ट्रेडिङका मिलनबाबु मल्ल, पार्टस्बाट विभिन्न ब्राण्डका बितरक पंकज अग्रवाल र पार्टस रिटेलर निलमणी पाठक पनि चौधरीको प्यानलमा छन् । मोफसलको प्रतिनिधित्व गराउन चौधरीले चितवन अटो मेकानिकल संघका पुर्वा अध्यक्ष गोपाल भट्टराईलाई पनि प्यानलमा सहभागि गराएका छन् भने पार्टस् व्यवसायी देवराज भण्डारी, पार्टस् डिलर आशुतोष अटोमोबाइल्सका राजेन्द्र अग्रवाल, लुब्रिकेन्ट्स् व्यवसायी वर्ण न्यौपाने तथा नेपाल ल्युबका गंगाराज भट्टराई र प्रकाश कपुरीलाई आफ्नो प्यानलमा अटाएका छन् ।

उद्योगमुखी समुह बनाएर नाडालाई थप उचाईमा पुर्याउने योजना अनुसार सबै क्षेत्रको प्रतिनिधित्व गराएको चौधरीले बताए ।

चौधरी प्यानलबाट प्रत्यासी बनेका सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले निर्वाचनले संस्थाको एकतामा संकुचन ल्याउने भएकालेृ सहमतिको प्रयास जारी राखिएको बताएका थिए ।

चौधरी प्यानलका अर्का उम्मेदवार सुनिल रिजालले नाडामा गलत मनसाय लिएर जान चाहनेहरुले सफलता नपाउने किसिमको संयन्त्र बनिसकेको भन्दै व्यवसायीको हीतमा आफु र आफ्नो नेतृत्व लाग्ने बताएका थिए ।

मंसिर २२ र २३ गते राजधानीमा हुने साधारण सभाले नाडाको नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचनमा अध्यक्षको एउटा र बाँकी १७ जनाको एउटा मत पत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । अध्यक्ष बाहेकको मतपत्रमा १७ जनालाई अनिवार्य रुपमा मतदान गर्नु पर्ने व्यवस्था गरिएको छ । १७ जनालाई मतदान नगरेको खण्डमा मत बदर हुने भन्दै उम्मेदवारहरुले सबै पदमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।