वाणिज्य बैंकहरुमा एनआइसी एशियाका कर्मचारीको सेवा सुविधा सबैभन्दा थोरै


सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये एनआइसी एसिया बैंकका कर्मचारीहरुले सबैभन्दा कम सेवा सुविधामा काम गर्ने गरेको पाइएको छ । अन्य बैंकको तुलनामा अक्रामक र फरक प्रकृतिको बैंकिङ व्यवसाय गर्दै आएको एनआइसीले न्यून लागतमा जनशक्ती परिचालन गरेको देखिएको हो ।

रोजगारीका लागि नयाँ जेनरेसनको पहिलो रोजाईमा पर्ने बैंकिङक क्षेत्रप्रति एनआइसी एसियाकै कारण नकारात्मक बुझाइको विकास हुन थालेको छ । बैंकले कर्मचारीलाई उपयुक्त सेवा सुविधा नदिने तथा अस्वभाविक टार्गेट तय गरी काम लगाउने गरेको गुनासो बैंकका कर्मचारीहरुको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको तथ्याङकको आधारमा एनआइसी एसियाको बैंकको प्रति कर्मचारी औसत वार्षिक लगानी ६ लाख ९९ हजार रुपैयाँ छ । बैंकको यो प्रति कर्मचारी औसत लगानी अन्य सबै बैंकको भन्दा थोरै हो ।

एनआइसी एसिया बैंकको कुल शाखा संख्या ३५६ छ । त्यसैगरी बैंकका ७० एक्सटेन्सन काउन्टर रहेका छन भने ८१ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । हाल ४७२ एटिएम भएको एनआइसी एसिया बैंकको कर्मचारी संख्या ४ हजार ५ सय १० छ । यो संख्या अन्य बैंकहरुको तुलनामा सबैभन्दा धेरै हो । बैंकले अनुभवी भन्दा पनि नवप्रवेशी जनशक्तीको अधिक प्रयोग गरेर न्यून लगातमा सेवा प्रवाह गरेको गरेको देखिन्छ ।

अन्य बैंकहरुको तुलनामा एनआइसी एसियामा कार्यरता तल्लो तहका कर्मचारीको तलब स्केल नै धेरै न्यून रहेको बैंकका एक कर्मचारीले बताए । “नवप्रवेशीलाई टार्गेट दिएर काम लगाउने र पुरा नगरे जागिर छोड्न समेत लगाउने स्थिति छ,” ती कर्मचारीले भने, “नयाँ कर्मचारी भर्ना गर्ने र अत्याधिक कार्य बोझका कारण छोटो समय मात्र काम गरेर छोड्ने प्रचलन यहाँ सबैभन्दा धेरै छ ।”

बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै कर्मचारी भर्ना हुने र छोड्ने क्रम पनि एनआयसी एसियामा नै रहेको ती कर्मचारीको भनाइ छ । “बैंक व्यवस्थापनले कर्मचारीलाई ‘लजिक’ होइन ‘म्याजिक’ गर्ने भन्ने सिद्धान्तमा काम गर्न आदेश हुन्छ,” ती कर्मचारीले भने,“शनिवार पनि कर्मचारीलाई बोलाउने तर उक्त दिनको तलब, भत्ता नदिने मात्र नभई समयमा तलव वृद्धि तथा बढुवा नगर्ने समस्या छ ।”

गत आर्थिक वर्षमा अन्य बैंकहरुले कोरोनाको कारण देखाउदै कर्मचारी कटौती गरेको हुनाले औसत वर्षिक कर्मचारी खर्च धेरै देखिएको बैंकका एक उच्च अधिकारीले बताए । “कार्य अनुभव धेरै नभएका तथा नवप्रवेशी कर्मचारीको संख्या धेरै रहेको हुनाले खर्च कम देखिएको हुन सक्छ,” ती अधिकारीले भने, “बैंकको शाखा संख्या धेरै भएकाले सबै अनुभवी कर्मचारी भर्ना गर्न खोज्दा पनि नसकिँदो रहेछ ।”

गत आर्थिक वर्षमा कर्मचारीलाई सबैभन्दा धेरै सेवा सुविधा दिने बैंक स्ट्याण्डर्ड चार्टर्ड हो । बैंकले गत आर्थिक वर्षमा प्रति कर्मचारी औसत २३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । चार्टर्ड बैंकमा अरु बैंकको तुलनामा सबैभन्दा थेरै अर्थात ४ सय ४६ जना कर्मचारी मात्र कार्यरत छन ।

गत आर्थिक वर्षमा नबिल बैंकको प्रति कर्मचारी वार्षिक औसत खर्च २१ लाख ४२ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको कुल कर्मचारी संख्या एक हजार ४ सय ३१ छ । त्यसगरी सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रति कर्मचारी वर्षिक औसत लगानी १४ लाख ३० हजार रुपैयाँ छ । सो अवधिमा बैंकका कर्मचारीको संख्या २ हजार २ सय ६४ छ ।

त्यसैगरी धेरै कर्मचारी हुनेमा दोस्रो स्थामा रहेको ग्लोबल आइएमइ बैंकको वार्षिक प्रति कर्मचारी औसत लगानी ९ लाख ६३ हजार रपैयाँ रहेको छ । गत आवको अन्त्यसम्ममा बैंकको कुल कर्मचारी संख्या ३ हजार १८६ रहेको छ ।

गत आवमा सिटिजन्स बैंकको वार्षिक प्रति कर्मचारी औसत लगानी ६ लाख ९९ हजार रुपैयाँ छ । गत आर्थिक वर्षमा बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई गाभेको हुनाले बैंकले कर्मचारीका लागि गरेको खर्च नभएकाले न्यून देखिएको हो ।

गत आवमा २७ वाणिज्य बैंकले कुल ४७ हजार ३ सय ३१ कर्मचारीका लागि कुल ५१ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् । यो तथ्याङकको आधारमा बैंकिङ क्षेत्रको प्रति कर्मचारी वर्षिक औसत लगानी १० लाख ८३ हजार रुपैयाँ रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।