सुदूरपश्चिमका बैंक वित्तीय संस्थाको निक्षेप वृद्धिदर घट्यो

0
Shares

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको वृद्धिदरमा गिरावट आएको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्था अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निक्षेप वृद्धिदर घटेको हो ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०.२२ प्रतिशतले वृद्धि भई १०९.२४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सो प्रदेशका बैंक वित्तीय संस्थाको कुल निक्षेप २९.५४ प्रतिशतले बढेको थियो ।

२०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १२७.२९ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

गत आवमा प्रमुख कृषिवालीले ढाकेको भू–क्षेत्र ०.१८ प्रतिशतले वृद्धि भएको छ भने यस्ता बालीको उत्पादन ७.२६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी आलुको उत्पादन १७.६९ प्रतिशतले वृद्धि भएको छ भने तेलहन उत्पादन १३.४६ प्रतिशतले ह्रास आएको छ । त्यसैगरी, समीक्षा वर्षमा तरकारी उत्पादन २३.८२ प्रतिशत तथा फलफूल तथा मसलाको उत्पादन ४.८५ प्रतिशतले बढेको राष्ट्र बै.कले जनाएको छ ।

गत आवमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको ९.६५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१.४ प्रतिशत रहेको छ ।

गत आवमा यस अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४७.२७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४४.५० प्रतिशत रहेको थियो । गत आवमा वर्षमा औद्योगिक उत्पादनमध्ये तोरीको तेल, दूध, चामल र ईटाको उत्पादनमा वृद्धि भएको छ भने अन्य वस्तुहरूकोउत्पादनमा ह्रास आएको छ ।

गत आवमा वर्षमा यस प्रदेशमा ठूलो लगानीका नयाँ होटलहरु सञ्चालनमा नआएतापनि कतिपय जिल्लामा केही होटलहरु पूर्ण रुपमा बन्द भएका कारण समग्रमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ४.४ प्रतिशतले र शैया संख्यामा १.२ प्रतिशतले ह्रास आएको छ । सो अवधिमा उक्त प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या ११.७५ प्रतिशतले वृद्धि भएको छ भने रजिष्ट्रेश नबापतको राजस्व १६१.३५ प्रतिशतले वृद्धि भएको छ ।

गत आवसम्ममा उक्त प्रदेशमा विभिन्न जलविद्युत आयोजनाहरुबाट ५२ मे.वा. विद्युत उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको छ । गत आवमा यस प्रदेशको पहाडी जिल्लाहरु मध्ये बैतडी जिल्लामा हवाई सेवा सुचारु भएको छ भने बझाङ, बाजुरा र डोटी जिल्लामा अवरुद्ध हवाई सेवा पुनः सुचारु भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशको वृद्धिदर ०.७ प्रतिशत तथा सूदुरपश्चिम प्रदेशको वृद्धिदर ०.६ प्रतिशत रहेको थियो भने कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशहरुको वृद्धिदर ऋणात्मक रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।