सेयर बजार ‘क्र्यास’ नहोस् भनेर नै संयमता अपनाईएको हो: अर्थ सचिव

0
Shares

धितोपत्र बजारमा देखिएका केही अस्वभाविक गतिविधिले समग्र बजार नै असर गर्ने भएपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले छलफल गरेर नै नीतिगत कदमहरु चालिएको अर्थ सचिव मधुकुमार मरासिनिले बताए ।

व्यवस्थापिका संसदकोे अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर बजार प्रति चासो देखाउदै सरकारको धारणा सोधेका थिए । सभापति दाहालले पछिल्लो समयमा घट्दो क्रममा रहेको सेयर बजारमा धेरै लगानीकर्ता डुब्ने जोखिम बढेको भन्दै यसमा सरकारले आफ्नो धारण बनाउनु पर्ने सुझाएका थिए ।

सभापतिको जिज्ञासालाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनिले धितोपत्र बजारको सुधार स्वभाविक नदेखिएको बताए । “धितोपत्र बजार सूचकको पछिल्ला तीन वर्षको उता चढावलाई हर्दा गत वर्षको अस्वभाविक देखिन्छ,”उनले भने,“अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रयाप्त छलफल गरेर मौद्रिक नीति मार्फत बजारलाई डिसिपिलिनमा राख्ने काम गरेको हो ।”

समितिको छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि धितोपत्र बजारको उतारचढावलाई नजिकबाट हेर्न अर्थमन्त्रालयले संयन्त्रको विकास गर्नुपर्ने बताएका थिए । अर्थमन्त्रालयले सेयर बजारको वृद्धि कृतिम हो वा बास्तविक हो भन्ने विषयमा लगानीकर्तालाई आत्मविश्वास दिने संयन्त्रको विकास गर्न उनले सुझाएका थिए । “त्यसो गर्न नसकेको खण्डमा विगतमा जस्तो फेरी सेयर लगानीकर्ताको जुलुस लाग्ने अवस्था हुन सक्छ,” पाण्डेले भने ।

पछिल्लो समयमा सेयर बजार जोखिम बढेको अनुभव भएपछि अर्थमन्त्रालयले सम्बन्धित क्षेत्रका नियामक निकायहरुसंग छलफल गरेर उपयुक्त कदम चाल्ने गरेको सचिव मरासीनीले बताए । उनले केही समय अघि आयोजना नै पुरा नभएको जलविद्युत कम्पनीको शेयर मूल्य दिन प्रतिदिन अस्वभाविक रुपमा बढेपछि त्यसलाई नियन्त्रण गर्न विद्युत नियमन आयोगको मद्दत लिएको बताए । सेयर बजारको सम्बन्धमा वित्तीय जनचेतना बढाउन आवश्यक रहेको उनी बताउँछन् । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले पनि बजारको तथा आफुले लगानी गर्ने कम्पनीको विषयमा पढ्नु पर्ने उनी बताउँछन ।

अर्थसचिवको भनाई सहमत हुदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारको गतिविधिलाई नियमन गर्ने निकाय धितोपत्र बोर्डलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाएका थिए । “बजारमा हुने गलत अभ्यासलाई नियन्त्रणका लागि धितोपत्र बोर्ड सबल र सक्षम हुनु पर्छ,“गभर्नर अधिकारीले भने,“धितोपत्र बजारका आधारभूत पक्षहरुको बारेमा जनचेतना बढाउनु पर्ने देखिन्छ ।”

बुधबार अर्थतन्त्र र बैंकिङ क्षेत्रको अवस्थाका विषयका लागि बोलाइएको छलफलमा सभापति दाहालले अन्तिम समयमा सेयर बजारको कुरा राखेका थिए । समग्र अर्थतन्त्रको छलफलमा सभापतिले अन्तिम पाँच मिनेट भएपनि धितोपत्र बजारको विषयमा छलफल गराउन सफल भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।