उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले बुझायो मस्यौदा, के के छन् प्रस्ताव ?


नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले महासंघ अध्यक्षलाई विद्यमान विधान संशोधनको मस्यौदा हस्तान्तरण गरेको छ । महासंघमा आयोजित एक कार्यक्रमका बिच विधान संशोधन समितिका संयोजक एवं महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले महासंघ अध्यक्ष शेखर गोल्छालाई विधान संशोधनको मस्यौदा हस्तान्तरण गरेका हुन ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था मस्यौदामा छ । हालका बरिष्ठ उपाध्यक्षको हकमा यो प्रणाली लागू नगरी सो पछिको कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

त्यसैगरी अध्यक्षको कार्यकाललाई तीन वर्षबाट २ वर्षमा सिमित गर्ने, वरिष्ठ उपाध्यक्षको पदलाई खारेज गर्ने, कोषध्यक्ष पदलाई हटाएर १ जना उपाध्यक्ष थप गरी सोही व्यक्तिलाई कोष तथा प्रशासनको जिम्मेवारी दिने प्रस्ताव मस्यौदामा उल्लेख छ ।

साथै महिलातर्फबाट थप एक जना उपाध्यक्ष समेट्ने, महासंघमा गरेको योगदानका आधारमा उपाध्यक्षहरुको वरियता निर्धारण गर्ने, कार्यकारिणी समितिमा १२ वर्ष रहे पछि मात्र अध्यक्ष बन्न पाउने व्यवस्थालाई ८ वर्षमा सिमित गर्ने लगायतका प्रावधान मस्यौदामा प्रस्ताव गरिएको छ ।

त्यसैगरी उद्योग वाणिज्य दिवशलाई केन्द्रमा राखेर चैत २८ र २९ गतेका लागि निर्धारण गरिएको साधारण सभाको मिति चैत १५ बनाउने, प्रदेश र केन्द्रको निर्वाचन एकै पटक तर प्रदेशमा नै गरेर मात्र साधारण सभा गर्ने, लगायतका नयाँ विषय मस्यौदामा समेटिएको छ । महासंघको उपाध्यक्ष हुन यस अघि २ वटा ३ वर्षे कार्यकाल कार्यसमितिमा रहेको हुनु पर्नेमा ३ पटक २ वर्षे कार्यकाललाई (६ वर्ष कार्यसमितिमा बिताएको हुनु पर्ने) कायम गराउने र वैदेशिक लगानी भएका कम्पनीहरुबाट कार्यकारिणी समितिमा प्रतिनिधित्व गराउने प्रस्ताव पनि मस्यौदामा छ ।

कार्यसमितिमा एशोसिएट्स, वस्तुगत र जिल्ला नगरमा पनि महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने व्यवस्था, प्रदेश उद्योग वाणिज्य संघहरुको प्रशासनिक तथा आर्थिक खर्च केन्द्रले नै व्यहोर्नुपर्ने, गाउँपालिका स्तरबाट पनि महासंघको सदस्यता लिन सकिने, नेपाल योङ इन्टरप्रेनर्स फोरम (एन वाई ई एफ) का अध्यक्ष महासंघको पदेन सदस्य हुने व्यवस्था मस्यौदामा समेटिएको छ ।

विधानको मस्यौदा पेश गर्दै मस्यौदा समितिका संयोजक कुश कुमार जोशीलाई महासंघलाई दीर्घकालिन रुपमा सबल बनाउने लक्ष्य अनुरुप विधि विषयमा संशोधन प्रस्ताव गरिएको बताए । समय सापेक्ष रुपमा महासंघलाई अघि बढाउन जिल्ला नगर, प्रदेशका साथै सम्बद्ध पक्षसँग छलफल र संवाद गरि ११ महिना लगाएर मस्यौदा तयार गरिएको जोशीको भनाई थियो । छिमेकी मुलुकहरु भारत, बंगलादेश लगायतका चेम्बर संस्थाहरुको विधान र कार्यपद्धतीको अभ्यासको पनि अनुसन्धान गरेर केही विषय महासंघको विधानमा समावेश गरिएको उनले बताए ।

कार्यक्रममा समितिका उपसभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानले महासंघलाई सबल बनाउने बताए । बिधानको मस्यौदा बुझ्दै महासंघ अध्यक्ष गोल्छाले मस्यौदा उत्कृष्ट भएको बताए । हालको विधानमा भएको व्यवस्था अनुसार संशोधनलाई निर्णायक बनाउने काम कार्यकारिणी समिति मार्फत तत्काल अघि बढाउने उनको भनाई थियो ।

महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले बिधान संशोधन गर्नका लागि जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो । जोशी संयोजक तथा मुरारका सहसंयोजक रहेको समितिको सदस्यहरुमा किशोर प्रधान, अशोक तोदी, डिबी बस्नेत, सुनि गोपाल श्रेष्ठ, सरोज श्रेष्ठ र कानुनविद् डा. रुद्र शर्मा थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।