नबिल इन्भेष्टमेण्ट बैंकिंगको गण्डकी प्रदेशमा पूँजीबजार साक्षरता कार्यक्रम


नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले गण्डकी प्रदेशमा पूँजी बजार साक्षरता कार्यक्रम सुरु गरेको छ ।

नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने किसिमले कार्यक्रम सुरु गरिएको कम्पनीले जनाएको छ ।

धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा समेत जानकारी दिने उद्देश्यले जानकारी मुलक कार्यक्रम सुरु गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निकट भविष्यमा सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए ।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।