कोकाकोला उत्पादक बोटलर्स नेपाल विरुद्ध अर्बौं कर छलीको मुद्धा दर्ता गर्दै राजश्व अनुसन्धान विभाग


राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका-कोलाकाको नेपालस्थित उत्पादक बोटलर्स नेपाल बालाजुलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्धा दर्ताको तयारी गरेको छ । लामो समय लगाएर कम्पनीका सम्बन्धमा गरिएको अनुसन्धान पछि मुद्धा दर्ताको तयारी गरिएको विभागले जनाएको छ ।

अनुसन्धानका क्रममा बोटलर्स नेपाल बालाजुले ठूलो रकमको कर तथा राजश्व छली गरेको भेटिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । विभागको अनुसन्धान अन्तिम अवस्थामा पुगेको भन्दै पौडेलले कम्पनीका सञ्चालकहरुलाई आफ्नो धारणा राख्नका लागि ७ दिने सूचना सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पटक-पटक आफ्नो धारणा राख्नका लागि कम्पनीका सञ्चालकहरुलाई विभागले बोलाएकोमा कोही पनि सम्पर्कमा नआएकाले सूचना जारी गरेर मुद्धा दर्तामा जाने प्रकृया अघि बढाइएको हो । कम्पनीका सञ्चालक सम्पर्कमा आएको खण्डमा उनीहरको बयान समेत समेटेर मुद्धामा जाने र उनीहरु सम्पर्कमा नआए विभागले अहिलेको तयारी अनुसार नै मुद्धा दर्ता गर्नेछ ।

शुक्रबार एक सूचना सार्वजनिक गर्दै विभागले बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासान सहित १५ जनालाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । त्यसैगरी कम्पनीका निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव खोसला, सन्दीप बाजोरिया, देवव्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुपुस्वामी, संकेत रे, डिनाइज म्यारी–लुइस लाउवेन्स, केइथ इयान स्ट्यासे, चोलिया डी सिल्भाका साथै प्रबन्ध निर्देशकहरु सलमान ल्याटिफ रावन र पुनीत चन्द्रपाल वष्र्ने तथा वित्तीय प्रबन्धक सुमित गोयललाई विभागमा उपस्थित हुन निर्देशन दिइएको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ११ ‘क’ को उपदफा ४ अनुसार ७ दिने सूचना निकालिएको विभागले जनाएको छ । ७ दिनभित्र कम्पनीका सञ्चालकहरु विभागको सम्पर्कमा नआएको खण्डमा सोही ऐनअनुसार कम्पनीलाई कारबाही हुने विभागका महानिर्देशक पौडेलले जानकारी दिए ।

दुई अर्ब रुपैयाभँन्दा बढी रकम बराबरको राजश्वमा हिनामिना गरेको विभागको अनुसन्धानमा खुलेको छ । अनुसन्धान अनुसार बोटलर्स नेपाल लिमिटेडमा रहेका विदेशी लगानीकर्ताहरुको सेयर अन्य विदेशी लगानीकर्ताहरुमा किनबेच हुँदा नेपाललाई पूँजीगत लाभकर नतिरेको भेटिएको हो । यसरी भएको सेयर कारोबारको जानकारी नेपाललाई नभएकाले झण्डै १ वर्ष पहिलेदेखि अनुसन्धान थालिएको विभागले जनाएको छ । विभागका अनुसार जानकारी नै नगराई कम्पनीको स्वामित्व परिवर्तन गरेको भेटिएपछि थप अनुसन्धान गरिएको हो ।

७५ प्रतिशत सेयर स्वामित्व झण्डै ७ वर्ष पहिले नै परिवर्तन भएको देखिएको पनि विभागले जनाएको छ । कम्पनीले यस्तो निर्णयको जानकारी कुनै पनि निकायलाई नगराएकाले सुक्ष्म अनुसन्धान गरिएको विभागले जनाएको छ ।

यसरी स्वामित्व परिवर्तन हुँदा आयकर ऐन अनुसार २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भए पनि सूचना लुकाएर कम्पनीले राजश्व छली गरेको निष्कर्ष विभागले निकालेको छ । सन् २०१४ मा अफ्रिकाको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले आफ्नो ७५ प्रतिशत सेयर स्वामित्व द कोका-कोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई बेचेको भेटिएको हो । यस क्रममा कम्पनीले २ अर्ब रुपैयाँ कर छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । उक्त बेला नै २ अर्ब रुपैयाँ कर छली गरेकोमा ७ वर्षको अवधिमा जरिवाना जोडेर कर असुलीका लागि अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरेको हो । जरिवाना सहितको कुल रकमका सम्बन्धमा भने विभागले कुनै जानकारी दिएको छैन । सबै विवरण तयार भए पछि मुद्धाको समयमा मात्र वास्तविक रकम खुल्ने विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।