सेयर बजारमा ‘पम्प–एण्ड–डम्प’ कसरी परिचालित हुन्छ ?  जानी राख्नुहोस बच्ने उपायहरु

0
Shares

शेयर बजारका लागि ‘पम्प–एण्ड–डम्प’ चर्चित शब्दावली हो । सामन्यतया, ‘पम्प–एण्ड–डम्प’ सेयर बजारमा हुने घोटालाका रुपमा पनि बुझ्ने गरिन्छ ।

धितोपत्र बजारमा कारोबार हुने साना तथा थोरै बजार पूँजीकरण भएका कम्पनीहरुको बारेमा सीमित लगानीकर्ता समुहले सेयर मूल्यलाई प्रभावित पार्ने खालका हल्ला चलाउने र मूल्य बढेपछि सेयर बिक्री गर्छन् ।

त्यसरी शेयरमूल्य बढेपछि लगानीकर्ता सो समुहले सेयर बिक्री गर्दा धितोपत्रको आपूर्ति बढ्न जाँदा मूल्य घट्न जान्छ । यस्तो अभ्यास शेयर बजारबाट सुरु भएपनि पछिल्लो समयमा प्रचलनमा आएका अन्य सम्पत्तिका औजारहरु जस्तैस् क्रिप्टो करेन्सी, रियल स्टेट लगायतका क्षेत्रहरुमा पनि देखिने गरेको छ ।

‘पम्प–र–डम्प’ भनेको के हो त ?

‘पम्प–र–डम्प’ स्किम एक प्रकारको स्क्याम हो । यसले नव प्रवेशी लगानीकर्ताहरुलाई सेयर किन्न उत्साहित बनाउन कृतिम रुपमा कम्पनीको सेयर बढाउने गर्छन् ।

विभिन्न माध्यबाट सेयर बजार तथा केही कम्पनीसँग जोडिएका भ्रामक सूचना आम जनमानसमा फैलाई लगानीकर्ताहरुको ध्यानाकर्षण गर्ने काम गरिन्छ ।

बजारमा आएको हल्ला तथा अफवाहको आधारमा लगानीकर्ताहरुले सम्बन्धित कम्पनीको सेयर खरिद गर्न थालेपछि मूल्य वृद्धि हुन्छ ।

हल्ला फिँजाउने सीमित समुहले चाहेको मूल्य कायम भएपछि लगानीकर्ता समुह वा वा सेयर दलालहरुले उक्त कम्पनीको सेयर बेचिदिने गर्छन् जसको कारण सेयरमूल्यमा ह्रास आउने गर्दछ र लगानीकर्ताहरु घाटामा जान्छन् ।

‘पम्प’

सेयर दलाल तथा चलखेल गर्ने लगानीकर्ताहरुले बजारमा सेयरमूल्य वृद्धि गर्न योजनाबद्ध अभियान सञ्चालन गर्ने गर्छन् । चलखेल गर्ने समुहले योजना अनुसार सीमित कम्पनीहरुको सेयरमूल्य खरिद गर्छन् । त्यसपछि योजना अनुसार सामाजिक संजाल र अनलाईन फोरमहरुको प्रयोग गरि सूचीबद्ध स्टकहरुको भविष्यको बारेमा गलत र भ्रामक जानकारी दिने गर्छन् । उक्त भ्रामक सूचनालाई पत्याएर नवलगानीकर्ताहरुले लगानी गर्न सुरु गर्छन् ।

‘डम्प’

बजारमा चलखेल गर्ने सेयर ब्यापारीले योजनाबद्ध रुपमा फैलाएको सूचनालाई विश्वास गरेर जब नवलगानीकर्ताहरु उत्साहित भएर लगानी गर्न थाल्छन् तब बजारमा सेयरमूल्य बढ्न जान्छ । सेयरमूल्य वृद्धि भई अपेक्षित लक्ष्यसम्म पुगेपछि योजनाकाहरुले सुरुमा किनेको सेयर बेचिदिन्छन् । जसले गर्दा बजारमा ती कम्पनीहरुको शेयरको आपूर्ति धेरै भएपछि बढेको सेयरमूल्य आकस्मिक रुपमा घट्न जान्छ ।

सेयर बजारमा लगानीकर्ताहरुको ध्यानाकर्षण गर्न विभिन्न जालझेल गरिने गरिन्छ । ‘पम्प–एण्ड–डम्प’ योजना सफल बनाउन विभिन्न तरिकाहरु अपनाइन्छ जस्तै:

कोल्ड–कलिङ

फोन तथा सामाजिक सञ्जाल मार्फत भ्रामक सुचना दिएर लगानीकर्तालाई सेयर किन्न उक्साउने प्रक्रियालाई कोल्ड–कलिङ भन्ने गरिन्छ । माईक्रो संघ–संस्था तथा थोरै पूँजीकरण हुने कम्पनीहरुको सेयर बिक्री वितरण गर्ने समयमा सेयर व्यापारी र दलालहरु निश्चित मात्रामा सेयर खरिद गरी कोल्ड–कलिङ गर्ने गर्छन् ।

सेयरमूल्य वृद्धि गर्न मद्दत गर्ने हल्ला फैलाई लगानीकर्ताहरुले सेयर खरिद गर्न थालेपछि दलाल तथा व्यपारिहरुले बिक्री गर्न थाल्छन् । व्यपारिले बिक्री गर्न थालेपछि अधिक आपूर्तिका कारण सेयरमूल्य घट्न जान्छ र लगानीकर्ताहरुले घाटा बेहोर्नुपर्ने हुन्छ ।

‘पम्प–एण्ड–डम्प’ कसरी स्टक बजारमा परिचालित हुन्छ त ?

‘पम्प–एण्ड–डम्प’ स्क्याम माईक्रो फाइनान्स तथा थोरै बजार पूँजीकरण हुने कम्पनीहरुको सेयरलाई लक्षित गरेर गरिन्छ । पछिल्लो समयमा चर्चामा आएको अचल सम्पत्ति क्रिप्टो करेन्सीलाई लिएर पनि ‘पम्प–एण्ड–डम्प’ स्क्याम अपनाएको देखिन्छ । थोरै बजार पूँजीकरण हुने संस्थाहरुको सेयर संख्या पनि कम हुने गर्छ । जसको कारण केही नवलगानीकर्ताहरुले लगानी गर्दा उक्त संस्थाको सेयर मूल्य बढ्न जान्छ ।

बजारमा अपेक्षित सेयरमूल्य बढेपछि स्वार्थ समूह वा त्यस्ता सेयर व्यापारी समुहले सेयर बिक्री गर्ने गर्छन् । जसकारण लगानीकर्ता घाटामा जान्छन् । ‘पम्प–एण्ड–डम्प’लाई विभिन्न तरिकाले प्रयोग गरिन्छ । तर, जुन तरिका अपनाए पनि स्टकको आपूर्ति र माग परिवर्तन गर्ने सिद्धान्त नै लागू हुन्छ ।

‘पम्प–एण्ड–डम्प’ गर्ने स्वार्थ समुहहरुले बजारमा सेयरको माग बढाइ दिन्छन् । माग बढी भएपछि मूल्य पनि कृतिम रुपमा उचाल्छन् । यसरी लगानीकर्ताहरुलाई आकर्षण गर्छन् । त्यही प्रलोभनमा परि लगानीकर्ताहरुले लगानी गर्छन् । लगानीकर्ताको लगानी बढेपछि बजारमा सेयर–मूल्य बढ्न जान्छ । सोही मौकाको खोजी गर्दै बसेका स्वार्थ समूहले आफ्नो सेयर बेचिदिने गर्छन् । अचानक सेयर मूल्य बढ्दा उत्साहित भएका लगानीकर्ताहरुले स्वार्थ समुहको यो षड्यन्त्र बुझ्दैनन् र ‘पम्प–एण्ड–डम्प’ को सिकार हुन्छन् ।

यदि तपाई पनि लगानी गर्न खोज्दै हुनुहुन्छ र कसैले अपत्यारिलो तथा भ्रामक सूचना दिइरहेको छ भने सचेत हुनुहोस् । यदि तपाईको मोबाइलमा कुनै अपरिचित व्यक्ति वा संस्थाले सम्पर्क गरि अनायासै मुनाफाको कुरा गर्दैछन् भने आजै सचेत हुनुहोस् । छोटो समयमा धेरै धन कमाउने लोभले लगानी गर्दा साँवा लगानी नै डुब्न पनि सक्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।