एशियन लाइफको सहायक कम्पनी ‘एशियन क्यापिटल’ विधिवत रुपमै कायम

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) को सहायक कम्पनी ‘एशियन क्यापिटल लिमिटेड’ विधिवत रुपमा नै कायम भएको छ ।

कम्पनी रजिष्टर्ड कार्यालयले एशियन लाइफले ५१ प्रतिशत सेयर स्वामित्व खरिद गरेको वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिर्वतन गरी एशियन क्यापिटल लिमिटेड राख्न पुस ८ गते बिहीबार अन्तिम स्वीकृति दिएको हो ।

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेण्ट बैंकिङ प्राप्ति गरी ‘एशियन क्यापिटल लिमिटेड’ कायम भएसँगै एशियन लाइफ इन्स्योरेन्स बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बैंकिङ सञ्चालक बन्न सफल भएको छ ।

एशियन लाइफले आफ्नो सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंक स्थापना गर्ने उदेश्यका साथ गत असार ७ गते वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको ५१ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने सम्झौता गरेको थियो । सेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी उक्त सम्झौतामा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टका अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका थिए ।

यसअघि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको गत कार्तिक १२ गते सम्पन्न भएको साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्न स्वीकृति प्रदान गरेको थियो । निर्णय अनुसार साविक वेल्थ म्यानेजमेन्टको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ती तथा तिर्नु बेहोर्नुपर्ने ऋण धन, कर दायित्व अब नयाँ कम्पनी एशियन क्यापिटल लिमिटेडले सकार्ने ब्यहोर्नेछ ।

एशियन क्यापिटलले साविकको लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ का साथै भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।