झुक्याएर बीमा गर्ने किसिमका विज्ञापन नगर्न बीमा समितिको निर्देशन

0
Shares

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न निर्देशन दिएका छन् ।

समितिको आयोजनामा बीरगञ्जमा सम्पन्न बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न पनि बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिँदै बीमा कम्पनीहरुले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए ।

अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरुलाई समेत बीमाको दायरामा ल्याउन महानगरसँग आग्रह गर्दै बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए ।
कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडास्तरीय कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि १५ लाख छुट्याएको तर बीमासम्बन्धी जानकारीको अभावमा उक्त रकम उपयोगमा नआएको बताए ।

कृषि बीमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधा सहित आएमा कृषि बीमाप्रति आकर्षण बढ्ने उल्लेख गर्दै सरावगीले जोखिम विश्लेषण गरेर बीमाको प्रिमियम तोक्नु पर्ने र २५ हजार छूटको दायरा बढाउनुपर्ने बताए ।

साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । परंपरागत बीमालेखको सट्टामा हालको आवश्यकता अनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्न र शहरी क्षेत्रमा मात्र सिमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरु अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले प्रलोभन देखाएर बीमा गर्ने तर बीमा दाबी भुक्तानी नदिने गरेको, बीमा शिक्षाको अभाव भएको, धेरै कमिशन दिने धनी व्यक्तिको बीमा गराउन बीमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न बर्गलाई भने वास्ता नगर्ने गरेको गुनासो गरे । साथै, उनीहरुले जेष्ठ नागरिकका लागि बीमाको छुट्टै व्यवस्था गर्न, बीमालेखका सेवा शर्तलाई सरल एवम् छोटो बनाउन, स्वास्थ्य बीमामा देखिएका विसंगति हटाउन र वडा वडामा बीमासम्बन्धी चेतनामूलक कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।