बीमाको पहुँच टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्‍याउनुपर्नेमा जोड

0
Shares

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बीमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

बीमा समितिको आयोजनामा जनकपुरमा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि विशेष गरी विपन्न बर्गलाई केन्द्रित गरी प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र बजेटमा बीमासम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।

उनले बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी जनचेतना अभिवृद्धि महत्वपूर्ण हुने भएकाले प्रदेशका सबै पालिकाहरुमा बीमा सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री राउतले बीमा गरेपछि नागरिकमा संकटमा समयमा आत्मविश्वास र आत्मबल बढ्ने भएकाले बीमा कसरी, कहाँ गर्ने र कसरी दाबी भुक्तानी पाउने बारेमा सबैलाई बुझाउनु जरुरी रहेको बताए ।

साथै, उनले प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमको प्रभावकारी कार्यान्वयमा समेत बीमाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दैै सबै छोरीहरुको बीमा गर्न सकेमा समाजको रुपान्तरण हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको महत्वका बारेमा आम जनतालाई बुझाउने दायित्व बीमा समिति सहित प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको समेत रहेको उल्लेख गरे । बीमासम्बन्धी जनचेतना बढाएर नै चालू आर्थिक वर्षमा एक तिहाई जनतामा बीमाको पहुँच पुर्याउने लक्ष्य हासिल गर्न सकिने उनको भनाई छ ।

अध्यक्ष सिलवालले नागरिकका आवश्यकता र सुझाव अनुसार बीमालेखमा परिमार्जन गर्दै आएको जानकारी दिँदै घर जग्गामा दिएको छूट रकमबाट घरको बीमा गर्नुपर्ने, विपन्न तथा अपांगहरुको बीमा प्रदेशले गर्ने लगायतका विभिन्न सुविधाहरु सहित प्रदेशका सबैलाई समेट्ने गरी बीमा नीति ल्याउन प्रदेश सरकारसँग आग्रह गरे।

छलफलमा सहभागीहरुले बीमा कम्पनीहरुले विभिन्न कारण देखाई कृषि बीमा नगर्ने गरेको गुनासो गर्नुका साथै बीमालेखमा भएका शब्द र शर्तहरु बुझ्न कठिन भएकाले सरलीकृत गर्नुपर्ने र जडिबुटी बीमा अन्तर्गत बृक्षरोपणको समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।