मर्जर तथा एक्विजिसनको नाममा सेयर बजारबाट अर्बौको कर छली

0
Shares

 

मर्जर तथा एक्विजिसनमा नाममा धितोपत्रको दोस्रो बजारबाट अर्बौको कर छली भएको छ । कुनै एक ठुलो संस्थाले सानो संस्था खरिद गर्ने अनि मर्जर भनेर २ वर्षसम्मको सेयर कारोबारमा तीर्नुपर्ने पूँजीगत लाभकर छुट लिने गरेको पाइएको हो ।

आयकर ऐन २०५८ अनुसार कुनै पनि गाभिने संस्थाका सेयरधनीले शेयर बिक्री गरेको हकमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । त्यसैगरी ऐन अनुसार गाभिने संस्थाका सेयरधनीले पाउनुपर्ने पूँजीगत लाभकर छुट गाभ्ने तथा प्राप्ति गर्ने कम्पनीका सेयरधनीले पनि लिदै आएका हुन् । यसरी कानुनको गलत ब्याख्या गरी पूँजीगत लाभकर वापत राज्यलाई अर्बौ नोक्सान भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपछि २०७८ पुस मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् । आयकर ऐनको दफा ४७ लाई देखाउँदै गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागि सबै संस्थाका सेयरधनीले पूँजीगत लाभकर छुट लिइराखेका छन् । यस सन्दर्भमा धितोपत्र बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेपाल स्टक एक्सचेन्ज समेत मौन छ ।

आयकर ऐन २०५८ दफा ४७ को उपदफा ४ मा भनिएको छ,“अनुसार गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पुँजीगत लाभ कर लाग्ने छैन ।” सोही ऐन तथा दफाको उपदफा ५ अनुसार गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ ।

लाभांशमा लाग्ने कर तथा पुँजीगत लाभकरको सन्दर्भमा ऐन प्रयोग भएको व्यवस्थालाई हेर्दा पनि गाभिने कम्पनीलाइ मात्र छुट हुने देखिन्छ । लाभासंमा गाभिएपछि कायम रहेका सेयरधनी भनिएको छ भने पुँजीगत लाभकरको सन्दर्भमा गाभिई निःसर्ग भएको निकायमा रहेका शेयरधनीहरूले छुट पाउने उल्लेख छ ।

ऐनको व्यवस्था अनुसार पछिल्लो समयमा जनता बैंक ग्लोबल आइएमई बैंकमा गाभिएको थियो । यसमा जनता बैंकका सेयरधनीले मात्र पूँजीगत लाभकर छुट पाउनु पर्ने देखिन्छ । तर, दुबै बैंकका सेयरधनीले मर्जर भन्दै पुँजीगत लाभकर छुट लिएका छन । त्यसो त नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकले फाइनान्स कम्पनीलाई पप्ति गर्दा पनि सेयरधनीले दोस्रो बजारमा सेयर कारोबार गर्दा पुँजीगत लाभकर छुट लिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनीको सेयर कारोवारबाट प्राप्त लाभमा वासिन्दा प्राकृतिक व्यक्तिलाई लाभको ५ प्रतिशत र अन्यको हकमा १० प्रतिशतले कर लाग्दछ । यसलाई पछि पछिल्लो लगानीको समयका आधारमा छुट्याइएको छ । एक वर्ष भन्दा वढी समय सेयर होल्ड गर्ने लगानीकर्तालाई ५ र सो भन्दा कम समय अवधिमा बिक्री गर्नेका लागि ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । नेपाल स्टक एक्सचेन्जले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।