प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) को १३ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको छ ।
कम्पनीको चैत ३० गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।
वार्षिक साधारण सभाबाट पारित बोनश सेयर बितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार रुपैयाँ पुगेको छ । साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज)गर्ने मिति तोकेको थियो । बुकक्लोज अनुसार चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
बुधबार सम्पन्न भएको सभाले हकप्रद सेयर जारी गरी चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउनको लागि पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । बीमा समितिबाट जारी भएको निर्जीवन बीमा कम्पनीहरुको पूँजीवृद्धि सम्बन्धी निर्देशन बमोजिम सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले कम्पनीको पूँजी वृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।
यस्तै आर्थिक वर्ष २०७७।७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ । सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गरेको
छ ।
कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दाबी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तिका लागि प्रयत्नशील रहेको बताइन् ।
हाल सञ्चालनमा रहेका २० ओटा निर्जीवन बीमा कम्पनीहरुको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिस्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको उनको भनाई थियो ।
प्रभु इन्स्योरेन्सले केन्द्रीय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया