ग्रीन भेन्चर्सको पहिलो कारोबार प्रतिकित्ता २७१ रुपैयाँमा खुल्यो, ३३ कारोबारमा सर्किट

0
Shares

 

ग्रीन भेन्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को मंगलबारदेखि धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको छ । कम्पनीको सेयर कारोबार सुरु भएको ३३ वटा कारोबार फस्र्यौट हुँदा कम्पनीको धितोपत्रको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

मंगलबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार १० कित्ता सेयर प्रतिकित्ता २७१.१० रुपैयाँमा भएको हो । मंगलबार कारोबारको एक घण्टा अवधिमा ३३ वटा कारोबारबाट कम्पनीको २०० कित्ता सेयर ५५ हजार ८९५ रुपैयाँ ३० पैसामा खरीद बिक्री भएका छन् ।

मंगबलार १२ बजेसम्मको अवधिमा कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात २७.१० रुपैयाँले बढेर २९८.२० रुपैयाँ पुगेको छ । सकारात्मक सर्किट मूल्यमा ३१७ वटा आदेश मार्फत ९५ हजार १२४ कित्ता सेयरको खरीद माग छ भने बिक्रीकर्ता शुन्य प्रायः छन् । मार्केट डेप्थमा बिक्री आदेशतर्फ कुनैपनि आदेश रहेको छैन ।

आइतबार नेप्सेमा धितोपत्र सूचीकरण गरेको कम्पनीको सोमबारदेखि नै कारोबार खुल्नुपर्नेमा हिजो स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबारको अर्डर म्याचिङ्ग हुन नसक्दा कारोबार सम्भव भएको थिएन ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम ९१.८६ रूपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । कम्पनीको धितोपत्र अधिकतम कारोबार रेञ्जभन्दा ४ रुपैयाँ कम मुल्यमा पहिलो कारोबार खुलेको हो । नेप्सेले कम्पनीको सेयर कारोबार गर्न जीभिएल (GVL) कारोबार संकेत प्रदान दिएको छ ।

कम्पनीले आइतबार सर्वसाधारणमा बिक्री गरेको ३१ लाख २५ हजार ७५० कित्ता तथा स्थानीयलाई जारी गरेको ३१ लाख २५ हजार ७५० कित्ता सहित ६२ लाख ५० हजार कित्ता साधारण सेयर सहित कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो । सेयर सूचीकरणको दोस्रो दिनदेखि नेप्सेमा सेयर कारोबार खुलने प्रावधान रहेको छ ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम २ लाख ८७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए । चैत ८ देखि ११ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार ७० कित्ता आईपीओ निष्कासन गरिएको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी २८ लाख ७५ हजार कित्ता साधारण सेयर चैत २० गते सर्वसाधारणका बाँडफाँड गरिएको थियो । सोही सेयर बैशाख ४ गते आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ वैशाख २०७९, मंगलबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।