स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराउने व्यक्तिले कति राख्नुपर्छ धरौटी ?

0
Shares

स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा आइतबार र सोमबार उम्मेदवार दर्ता हुँदैछ । बैशाख ११ बिहान १० बजेदेखि १२ गते अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको मिति तोकिएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुख देखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । कुल ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष पदका लागि मनोनयन हुनेछ । यस्तै देशभरका स्थानीय तहमा ६ हजार ७४३ वडा छन् । हरेक वडाका लागि एक जना वडाध्यक्ष, दुई जना वडा सदस्य, एक जना महिला सदस्य र एक जना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि धरौटी तथा विभिन्न मापदण्ड समेत तोकेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ३६ मा उम्मेदवारले मनोनयन दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकमबारे व्यवस्था गरिएको छ । धरौटी बाहेक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि भने कुनै पनि शुल्क तोकेको छैन ।

निर्देशिकामा गरिएको व्यवस्था अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर, उपमेयर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिहरुले समान १ हजार ५०० रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । त्यस्तै वडा अध्यक्ष पदका लागि १ हजार रुपैयाँ र वडा सदस्य पदका लागि मनोनयन गराउनेले ५०० धरौटी रकम बुझाउनुपर्ने व्यवस्था निर्देशिकाले व्यवस्था गरेको छ ।यस्तो धरौटी रकममा समेत महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले छुट पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ३६ मै महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकमको ५० प्रतिशत छुट हुने उल्लेख छ । यस आधारमा महिला र दलित समुदायको व्यक्तिले मनोनयन दर्ता गराउँदा ५० प्रतिशतमात्रै धरौटी रकम जम्मा गरे पुग्छ । भनिएको छ ।  यसरी मनोनयन पत्र दर्ता गर्दा धरौटी वापतको रकम आयोगले तोकेको धरौटी खातामा जम्मा गर्न वा निर्वाचन अधिकृतको कार्यालयमा नगद जम्मा गर्न सकिनेछ । धरौटी राखेको बैंक भौचर वा नगदी रसिद मनोनयनपत्र साथ संलग्न गर्नुपर्ने हुन्छ ।

निर्देशिका अनुसार निर्वाचनमा धरौटी बापत जम्मा भएको रकम मत परिणाम आइसकेपछि निर्वाचत अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । तर, त्यसका लागि केही सर्त राखिएका छन् । निर्वाचनमा विजयी र पराजित भए पनि कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम फिर्ता हुनेछ ।

निर्देशिका अनुसार निर्वाचनमा खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी रकम फिर्ता हुने छैन। आयोगले त्यस्तो धरौटीबापत जम्मा भएको रकम आयोगको सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहको उम्मेदवार नेपाली नागरिक मात्र बन्न सक्नेछन् भने २१ वर्ष पूरा भएको हुनुपर्नेछ । यस्तै आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानुनले अयोग्य नभएको हुनुपर्नेछ ।

उम्मेदवार हुन पदअनुसार उम्मेदवारहरुले फरक–फरक खालका कागजात पेस गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेदारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेस गर्नुपर्छ। दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेदवारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ । स्वतन्त्र उम्मेदवारका लागि दलको पत्र आवश्यक पर्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।