सामुहिक लगानी कोषका नयाँ योजनालाई लगानीको उपयुक्त अवसर छ

0
Shares

-पुष्प शर्मा
प्रमुख सञ्चालन अधिकृत
कुमारी क्यापिटल लिमिटेड

नेपाल एसबिआई बैंकमा बैंकरको रुपमा रमाएका पुष्प शर्मा अहिले मर्चेन्ट बैंकर वा इन्भेष्टमेन्ट बैंकरको रुपमा स्थापित भएका छन् । लामो समय नेपाल एसबीआई बैंकमा काम गरेका शर्मा सहायक प्रबन्धकको जिम्मेवारीमा हुँदादेखि मर्चेन्ट बैंकिङ्गमा जोडिन पुगे । बैंकले नै सञ्चालन गरेको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गको माथिल्लो व्यवस्थापन रहेर ४ वर्ष भन्दा धेरै समय बिताएका शर्मा कोरोना महामारी सुरु हुन भन्दा अघि कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटसँग जोडिएका छन् ।

कुमारी क्यापिटल स्थापना भए लगत्तै प्रमुख सञ्चालन अधिकृतको भुमिकामा आबद्द रहेका शर्माको नेतृत्वमा यसभन्दा अघि एक अर्बको सामुहिक लगानी कोष योजना सञ्चालन भैसकको छ । दोस्रो योजना मार्फत सर्वसाधारणबाट पूँजी संकलनको प्रक्रियामा रहेका शर्मा अहिलेको अवस्थामा नयाँ योजनाहरुलाई धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त अवसर रहेको बताउँछन् । कुमारी सामूहिक लगानी कोष अन्तर्गत कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेर जेठ १२ गतेदेखि कुमारी धनवृद्धि योजनाका इकाई निष्काशन भईरहेको छ ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड इकाई निष्काशन भईरहेको सन्दर्भमा सामुहिक लगानी कोषका योजनाहरुको कार्यसम्पादन, धितोपत्र बजारको तथा मर्चेन्ट बैंकिङ्गको पछिल्लो अवस्थामा विषयमा नोटबजारले गरेको कुराकानी:

कुमारी धनवृद्धि योजनाका बारेमा बताइदिनुहोस् न ?

हामीले निष्काशन गर्न लागेको फण्ड कुमारी धनवृद्धि योजना हो । यो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको हुनेछ । दश रुपैयाँ अंकित मूल्यको दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड इकाई निष्काशन गरिएको हो । जसमा १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरण र संस्थागत लगानीकर्तालाई बिक्री खुला गरिएको हो ।

निष्काशन गरिएभन्दा धेरै इकाई माग भएको खण्डमा योजनाको आकार १ अर्ब ५० करोडसम्म कायम हुनेछ भने लगानीको आकार पनि एकै अनुपातमा बढ्न जान्छ । अहिलेसम्म आएका प्रतिबद्धताका आधारमा हामीले निर्धारित समयमा नै स्कीमको निष्काशन पूरा गरेर निष्काशन बन्द गर्छौं भन्ने लागेको छ । उक्त समयमा १ अर्ब २० करोडमा नै स्कीम बन्द हुन सक्ने सम्भावना रहन्छ ।

फण्डको इकाई खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले जेठ १७ गते मंगलबारसम्म आवेदन दिन सक्नुहुनेछ । सो अवधिमा निष्काशित सबै इकाई बिक्री नभएको खण्डमा मात्र जेठ २६ गतेसम्म इकाईको बिक्री खुला हुनेछ ।

पूँजी बजारले वियरिस ट्रेण्ड लिएको अवस्थामा संस्थागत लगानीकर्ताहरुबाट कोषका इकाई खरिदका सम्बन्धमा कस्तो प्रतिकृया पाउनु भएको छ ?

कर्पोरेट संस्थाहरुहरुले छोटो समयमा नाफा कमाउने सोचका साथ लगानी गर्छन् । त्यस्तो अवस्थामा केही योजनाहरुले लाभांश खुवाउन नसक्दा उत्साहित हुन नसकिरहेको कुरा मार्केटिङमा जाँदा आउने गरेको छ । यो स्वभाविक पनि हो । दुई वर्षभन्दा लामो समय सञ्चालन भईसकेका स्कीमको हकमा औषतमा १५ प्रतिशतभन्दा बढीको प्रतिफल दिइरहेको तथ्यांकले देखाउँछ ।

केही स्कीमहरुले बजारमा नै लगानी गर्ने भएकाले बजार घट्दा उसको आम्दानी प्रभावित नहुने भन्ने हुँदैन । तर कुन समयमा स्कीमले बजारमा लगानी बढायो अनि कुन समयमा बिक्री गर्यो भन्ने कुराले महत्व राख्छ । यसमा बजार कुन अवस्थामा छ भन्ने विषयले भूमिका त खेल्छ नै । यस्ता सबै विषयलाई बुझाएर औषत अवस्थालाई प्रष्ट पारेपछि कर्पोरेटबाट राम्रो प्रतिकृया आएको छ ।

पूँजी बजारको अहिलेको अवस्थाले पुराना सामुहिक लगानी योजनाले दिएको प्रतिफल नयाँले दिने सम्भावना त देखिँदैन नि ?

यसलाई हामीले सकसका रुपमा लिँदैनौं । किनकी यस अघि नै हामीले कुमारी इक्वीटी फण्ड सञ्चालन गरिसकेका छौं । बजार २ हजार ६५० को अवस्थामा हुँदादेखि उक्त फण्डमा लगानी सुरु गरेको थियो । ३ हजार २०० बिन्दुभन्दा माथि पुगेको बजारमा अहिले फराकिलो अन्तरले तल झरिसक्दा पनि जम्मा साढे ३ महिना सञ्चालन हुँदा पनि ५ प्रतिशत प्रतिफल दिन सकेका छौं ।

बैशाखको अन्तिममा जुन बेला बजार एकदमै तल आएको थियो, त्यो समयमा पनि कुमारी इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १०.६७ कायम भएको छ । यसले देखाउने के हो भने बजार तल्लो बिन्दुमा आएको अवस्थामा हामीले ल्याएको नयाँ स्कीमका लागि धेरै अवसर छन्, लगानीका लागि उचित समय बजारले दिएको छ भन्ने हो । हाम्रो राडारमा भएको अनि रिसर्चमा आएका तथ्यहरुले पनि आजका दिनमा लगानी गर्दा राम्रो प्रतिफल दिन सक्ने आधार बनेको देखिन्छ ।

कुमारी धनवृद्धि योजनाको रकम कुन–कुन क्षेत्रमा कसरी लगानी गर्ने योजना छ ?

यो स्कीमले संकलित रकमको ६० प्रतिशत धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गर्नेछ । ३५ प्रतिशत रकम निश्चित आम्दानी हुने वित्तीय औजारहरुमा लगानी गर्ने र बाँकी ५ प्रतिशत रकम कल तथा करेण्ट अकाउन्टमा जम्मा हुन्छ ।

साठी प्रतिशत लगानी सूचीकृत कम्पनीको सेयरमा लगानी गर्ने भन्दै गर्दा धितोपत्र बजारको अहिलेको उतारचढावलाई कसरी हेर्नु भएको छ ?

बजारको सामान्य सिद्धान्त भनेको नै घट्ने र बढ्ने हो । विश्वव्यापी रुपमा नै हेर्ने हो भने पनि बजार एकदमै संवेदनशील हुन्छ । कुनै पनि सूचना, नीति नियममा हुने परिमार्जनले बजारलाई प्रत्यक्ष रुपमा प्रभावित बनाईरहेको हुन्छ । यस्ता सबै किसिमका बाह्य तत्वले बजारलाई प्रभावित गर्दै गर्दा हामी कहाँ इक्वीटी ओरियन्टेड बजार मात्र छ भने अरु कुनै उपकरणहरु छैनन् । अरु केही उपकरणहरु हुने, डेरिभेटिभ मार्केट लगायत भई दिएको भए जोखिम व्यवस्थापन गर्न सजिलो हुने थियो । गरे पनि त्यही इक्वीटी मार्केट, नगरे पनि त्यही इक्वीटी मार्केटको अवस्था छ, बण्ड मार्केट खासै सक्रिय हुन सकिरहेको छैन ।

यी कुराहरुलाई हेर्दा हामीलाई चुनौति धेरै छ । अर्कातिर नियामक निकायहरुले समय समयमा गर्ने सम्बोधन र नीति नियममा हुने असमायिक फेरबदलले पक्कै पनि अवस्था सहज छैन । विश्वव्यापी रुपमा बढिरहेको व्याजदर, हामी कहाँ देखिएको तरलता संकुचन लगायत धेरै कारणहरुले बजार त्यति सहज अवस्थामा छैन । तर सकरात्मक किसिमका नीतिगत विषयहरु आउने अपेक्षामा आधारित भएर नै हामीले काम गरिरहेका छौं र भोलि पनि गर्ने त्यही नै हो ।

सामुहिक लगानी कोषहरुले बजारको तीब्र उतारचढावलाई सन्तुलन गरोस् भन्ने नियामकको चाहना रहँदै आएको छ । खासमा यस्ता कोषको काम इकाईधनीलाई प्रतिफल दिने हो कि बजारको उतारचढाव सन्तुलन गर्ने हो ?

यसमा मेरो व्यक्तिगत विचार के हो भने बजारलाई सन्तुलित बनाउन सामुहिक लगानी कोषहरुको आकार पनि त्यसै अनुरुपको हुनु पर्छ । बन्दमुखी र खुल्लामुखी गरेर आजका दिनमा हाम्रो आकार भनेको २९ अर्ब रुपैयाँको छ । यो आकारको फण्डले एकै दिनमा २२ अर्बको सेयर कारोबार हुँदा बजार सन्तुलनमा सामुहिक लगानी कोषले भूमिका खेल्नुपर्छ भन्नु अर्थहीन हो भन्ने लाग्छ ।

सामुहिक लगानी कोषको फण्डको आकार कम्तिमा १ खर्ब रुपैयाँभन्दा माथि रहने हो भने त्यो बेलामा चाँही बजारलाई सन्तुलन गराउन भूमिका निर्वाह गर्न सक्छ । तर अहिलेको अवस्थामा सम्भव छैन । तर पनि बजार घट्दा राम्रो कम्पनीका सेयरमा सामुहिक लगानी कोषहरुले लगानी गरिरहेका छन् ।

केही सामुहिक लगानी कोषहरु परिपक्व भईसक्दा पनि आजका दिनमा यस्ता कोषमा लगानी गर्दा अपेक्षित प्रतिफल पाउँछु भन्ने कुरामा लगानीकर्ता विश्वस्त हुन सकिरहेको देखिँदैन नि ?

तपाईले भनेको कुरामा म सहमत छु । अहिले न्याभ भन्दा तलको मूल्यमा इकाईहरुको कारोबार भईरहेको अवस्था छ । तर यसो भन्दै गर्दा कारोबारलाई प्राथमिकतामा राखेर नाफा सुरक्षित गर्ने अभ्यास जसरी मौलाईरहेको छ, यो अवस्थामा सामुहिक लगानी कोषका इकाईमा मात्र नभएर सूचीकृत कम्पनीको सेयरमा पनि अपेक्षित नाफा लिन नसकिरहेको अवस्था छ ।

त्यति मात्र होइन सामुहिक लगानी कोषका इकाईमा लगानी गर्दा हुने नोक्सानभन्दा सेयरमा हुने नोक्सान ४ गुणासम्म बढी भएको देखिएको छ । यसले देखाउने के हो भने नाफा नोक्सान सबै आधारमा सामुहिक लगानी कोषहरु स्थायी हुन्छन् । लामो समयसम्मका लागि सामुहिक लगानी कोषमा लगानी गर्ने, दोस्रो बजारमा नियमित रुपमा कारोबार गर्न नचाहने अनि बजारको औषत प्रतिफल भन्दामाथिको प्रतिफल लिन चाहनेहरुका लागि सामुहिक लगानी कोष उत्तम विकल्प हो । १५ प्रतिशतसम्मको प्रतिफल भए पुग्छ भन्ने लगानीकर्ताहरुका लागि यस्ता कोषहरु उचित हुन्छन् र बजारले पनि यो अवस्था देखाईरहेको छ ।

खुलामुखी योजनाहरु पनि आइरहेको अवस्थामा बन्दमुखी योजना ल्याउनु नै दोहोर्याउनुको कारण के हो ?

खुलामुखी योजना पनि ल्याउने योजना अनुसार अगाडि बढिरहेका छौं । आगामी वर्षभित्र हामी खुलामुखी योजना पनि ल्याउँछौं । बैंक वित्तीय संस्था र बीमा कम्पनीले पनि सहायक कम्पनी मार्फत मर्चेन्ट बैंकिङको काम सुरु गरेका छन् ।

बजारको आकार र मर्चेन्ट बैंकरको उल्लेख्य उपस्थितिले बढाएको अस्वस्थ प्रतिस्पर्धाले नयाँ संस्थाहरुलाई कत्तिको अफ्ठेरो परेको छ ?

तपाईले भनेको कुरा एकदम सही हो । अहिले बजारमा अरु मर्चेण्ट बैंकर नथपिँदै पनि अस्वस्थ प्रतिस्पर्धा बढेर गएको देखिन्छ । यस्तो हुँदै गर्दा पनि इण्डष्ट्री सर्भाइभ हुनैपर्ने अवस्था छ । यस दौरानमा बिग्रिसकेको अवस्थामा क्रमिक सुधारहरु देखिँदै जान्छन् जस्तो लाग्छ । यस्ता सुधार देखिन थाल्ने वित्तिकै बजारलाई फेरि एउटा लयमा फर्किन सजिलो हुन्छ भन्ने मेरो बुझाई हो, र यसमा म पूर्ण रुपमा आशावादी छु ।

हाम्रो सन्दर्भमा भन्नु हुन्छ भने मर्चेण्ट बैंकिङ्ग भन्दा पनि इन्भेष्टमेण्ट बैंकिङ र कर्पोरेट एडभाइजरीको कामलाई धेरै प्राथमिकतामा राखेका छौं । यसले गर्दा कुमारी बैंकको भगिनी संस्था कुमारी क्यापिटल नयाँ भए पनि २० वर्षको बैंकको लिगेसीले भ्यालु एड गरिरहेको हुँदा सेवा प्रवाह तथा गुणस्तरमा हामी पछि छैनौं ।

पुराना कम्पनीहरुले सरह नै हामी पनि सेवा प्रवाह गर्न सक्छौं भन्ने सन्देश आजका दिनमा दिन सकिरहेका छौं । यसै कारणले हाम्रो ग्राहक संख्या र उपस्थिति बलियो बन्दै गइरहेको छ ।

मर्चेण्ट बैंकरको संख्या अलि धेरै भएको त होइन ? मर्जर जरुरी हुन्छ होला नि ?

अधिकांश संस्थाहरु बैंक वित्तीय संस्थाको भगिनी संस्थाका रुपमा छन् । अहिले बैंक वित्तीय संस्थाकाबीचमा नै मर्जरको लहर चलिरहेको छ भने माउ संस्था मर्जरमा गएको ६ महिनामा भगिनी संस्था पनि मर्जरमा गइसक्नुपर्ने व्यवस्थाले बैंकसँगै मर्चेण्ट बैंकरहरुको संख्या पनि घटेर जाने देखिन्छ ।

आफ्नै अस्तित्वमा सञ्चालनमा रहेका मर्चेण्ट बैंकरको हकमा पनि प्रतिस्पर्धा गरेर नै बजारमा काम गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सेबोनले पनि विचार गर्ला, आफुले लाइसेन्स दिएको बच्चाहरुलाई हुर्काउने बढाउने, स्कोप दिने, कामको दायरा बढाउने, पोलेसीमा मर्चेन्ट बैंकिङ्गको स्कोप बढाएर जाने कुरामा सेबोनले पनि हेर्नुपर्छ । नियामकले यो कुरामा पक्कै पनि सोचेको होला । विस्तृत अध्ययन गरेर मात्र थप संस्थालाई इजाजत दिने काम हुन्छ होला ।

प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको इजाजत मर्चेन्ट बैंकरलाई नदिने बोर्डको तयारी देखिन्छ, तपाईहरुले कसरी हेर्नुभएको छ ?

प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलमा हाम्रो बैंक (कुमारी बैंक) नै प्रमोटर बैंकको रुपमा रहेका कारण फेरि प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको छुट्टै इजाजत लिएर चलाउनुपर्छ भन्ने हिसाबले अहिले नै सोचेका छैनौं । किनभने प्यारेन्ट कम्पनीको रुपमा पनि प्रमोटर रहने भएकाले क्यापिटलले पनि छुट्टै आफ्नो हिसाबले प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल सञ्चालन गर्दा स्वार्थ बाझिन सक्छ भन्ने हिसाबले हामीले अहिलेसम्म योजना बनाएका छैनौं ।

भोलिका दिनमा बजारको माग र यसलाई नै लाइन अफ बिजनेशको रुपमा नै फ्रुटफुल हुने देखियो र सेबोनले पनि मर्चेन्ट बैंकरलाई छुट्टै इजाजत दिनलाई स्वार्थ नबाझिने देख्यो भने तथा बजारमा पनि त्यसमा अगाडि बढ्न उपयुक्त वातावरण देखियो भने काम गर्न सकिन्छ ।

अहिलेको मूल्यवृद्धि तथा बढ्दो ब्याजदरलाई न्याय गर्ने गरी प्रतिफल प्रदान गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन ?

अवश्य पनि सक्छौं । जसले लगानी गर्नुहुन्छ ढुक्क भएर लगानी गर्नुभए हुन्छ । अहिले बजार प्रवेश गर्नका लागि गोल्डेन अपरच्यूनिटी देखिरहेका छौं । यो अवस्थामा लगानीकर्ताहरुले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज पाइरहेको अवस्था छ ।

हाम्रो टाइम एड्जस्टेट आईआरआर हेर्ने हो भने करिब १६ प्रतिशत (१५.५३ प्रतिशत) टाइम एड्जस्टेड आईआरआर छ र वार्षिक प्रतिफललगभग २१ प्रतिशत छ । हामीले इकाईधनीहरुलाई पहिलो २ वर्षमा दश/दश प्रतिशत, त्यसपछिका ४ वर्ष बाह्र/बाह्र प्रतिशत, त्यसपछिका २ वर्ष पन्ध्र/पन्ध्र प्रतिशत र अन्तिम वर्ष १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेका छौं । योजना परिपक्व हुँदा कम्पनीको न्याभ २२ रुपैयाँ पुर्याउने लक्ष्य छ । दश वर्षको अवधिमाकाम गर्दा यो उपलब्धि हाँसिल गर्न कठिन हुन्छ जस्तो लाग्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।