लघुवित्तहरूको लगानीमा ह्रास, नाफासँगै जोखिम भारित सम्पत्ति पनि बढ्यो

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१३असार, २०७९, सोमबार / Jun 27, 2022 11:32:am

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण लघुवित्तहरूको समग्र लगानीमा ह्रास आएको हो ।

राष्ट्र बैंकका अनुसार २०७८ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी ६ अर्ब ४३ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ५६.२७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ४४.७७ प्रतिशतले बढेको थियो ।

विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा २०७८ चैतसम्म ४ अर्ब ८० करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ६४.०१ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ३४.७९ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानी र सेयर तथा डिबेन्चरमा गरेको लगानी समेत घटेको छ ।

कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुबै बढ्यो

विसं २०७८ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ ।

उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति ४ खर्ब ९९ अर्ब ८ करोड पुगेको छ । यो २०७८ असार मसान्तको तुलनामा १४.८० प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३३.१३ प्रतिशतले बढेको थियो ।

संख्या घट्यो

विसं २०७८ चैत मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पत्तिको ९५.३५ प्रतिशत रहेको छ । जुन २०७८ असार मसान्तमा ९१.२५ प्रतिशत रहेको थियो । लघुवित्त वित्तीय संस्थाहरूको संख्या पछिल्लो समयमा मर्जर तथा एक्वीजिशनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ ।

विसं २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरूको रहेकोमा २०७८ चैत मसान्तसम्ममा उक्त संख्या घटेर ६५ कायम भएको छ । ६५ वटा लघुवित्त वित्तीय संस्थाहरू मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरू रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ चैत मसान्तमा ८.६३ प्रतिशतले वृद्धि भई ५ हजार २० पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको सदस्य संख्या ९.२१ प्रतिशतले वृद्धि भई ५७ लाख ७२ हजार र ऋणी संख्या ८.५३ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार पुगेको छ।

सबैभन्दा बढी शाखा लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा न्यून

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरू लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०७८ चैत मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा सङ्ख्याको २३ प्रतिशत (११५३) रहेको छ ।

पहुँचका हिसाबले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा सङ्ख्याको ५ प्रतिशत (२३०) मात्रै शाखाहरु सञ्चालनमा रहेका छन् ।

पुँजीकोष सन्तोषजनक

लघुवित्त वित्तीय संस्थाहरूको पुँजी कोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन - २०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

२०७८ चैत मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.३६ प्रतिशत र १२.५१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा २०.८९ प्रतिशतले र जोखिम भारित सम्पत्ति १९.९६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः १२.७९ प्रतिशत र ३५.३५ प्रतिशतले बढेको थियो ।

सापटी रकममा वृद्वि

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा वृद्वि भएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०७८ चैत मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४७ अर्ब २१ करोड वित्तीय स्रोत संकलन गरेका छन् जुन २०७८ असार मसान्तको तुलनामा १४.११ प्रतिशतले अधिक देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वित्तीय स्रोत संकलनमा १९.५३ प्रतिशतले वृद्वि भएको थियो । लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०७८ चैत मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँजीको ५.८५ गुणा रहेको छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले निक्षेप संकलन र सापटी रकम बढाएका छन् । २०७८ चैत मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले निक्षेप तथा बचत संकलन १ खर्ब ५२ अर्ब ६२ करोड र सापटी १ खर्ब ८९ अर्ब ४७ करोड गरी जम्मा ३ खर्ब ४२ अर्ब ९ करोड वित्तीय स्रोत संकलन गरेका छन् ।

उक्त निक्षेप संकलन र सापटी रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म क्रमशः १९.८४ र ५०.७३ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन र सापटी रकम क्रमश १७.०२ र १४.१६ प्रतिशतले बढेको छ ।

वित्त वजारमा बैंकहरुबाट प्राप्त हुने थोक कर्जामा आएको संकुचनको कारण २०७८ चैत मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको तुलनामा घटेको हुनाले प्राथमिक पूँजीको ७.८४ गुणा मात्रै श्रोत संकलन भएको देखिन्छ । विसं २०७८ असारमा वित्तीय श्रोत परिचालन ८.३७ गुणाले भएको थियो ।

२०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटी रकममा वृद्धि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १८.२० प्रतिशतले वृद्धि भई २०७८ चैत मसान्तमा ५६ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १९ करोड अर्थात ०.३३ प्रतिशत मात्र रहेको छ ।

निष्क्रिय कर्जा घट्यो

विसं २०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४४ प्रतिशत रहेको थियो भने २०७७ चैत मसान्तमा यस्तो अनुपात ०.४५ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा सक्रिय कर्जा १८.३३ प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा १०.२१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा २२.०८ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा ३६.६४ प्रतिशतले बढेको थियो ।

समिक्षा अवधिमा लघुवित्त संस्थाको कर्जा प्रवाह वृद्धि दरमा ह्रास आएको कारण कर्जा गुणस्तर मापन गर्ने अन्य सूचकहरुमा सुधार आएको हो । २०७८ चैतसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकम र निष्क्रिय कर्जा रकम दुवैमा वृद्धि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा २३.५३ प्रतिशतले बढेर २०७८ चैत मसान्तमा ३ खर्ब ९२ अर्ब ५ करोड पुगेको देखिन्छ ।

यसैगरी समीक्षा अवधिमा निष्क्रिय कर्जा ११ अर्ब २ करोड अर्थात २.८१ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.९७ प्रतिशत रहेको थियो भने २०७७ चैत मसान्तमा यस्तो अनुपात २.८० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर १६.९० प्रतिशत छ भने सक्रिय कर्जाको वृद्धिदर २३.७४ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः ६५.९८ र ३७.९७ प्रतिशतले बढेको थियो । खुद्रा कर्जा प्रदायक संस्थाहरूको कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता आएसँगै निष्कृय कर्जा तथा सापटको वृद्धिदरमा उच्च दरमा ह्रास आएको देखिन्छ ।

कृषि क्षेत्रतर्फ कर्जा बढ्यो

विसं २०७८ चैतसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरूले २०७८ चैत मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४६.०२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ ।

२०७८ असार मसान्तमा कृषि क्षेत्रमा ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०७८/७९ को तेस्रोत्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.४१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३०.८९ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

२०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था बढेको छ भने निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था घटेको छ । २०७८ चैत मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा १५.२० प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा २.८३ प्रतिशतले ह्रास भई १८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १५.७० प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम २५.८० प्रतिशतले बढेको थियो । २०७८ चैत्रसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ ।

कर्जा नोक्सानी व्यवस्था बढ्यो

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ११.२० प्रतिशतले बढेर १० अर्ब ८९ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भई ५ अर्ब ४४ करोड रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम २८.१७ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ५९.४९ प्रतिशतले बढेको थियो । २०७८ चैत्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको धितो कर्जाको अंश घटेको छ भने लघु व्यवसाय कर्जाको अंश बढेको छ । २०७८ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु को धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १८.०३ प्रतिशत रहेको छ । यस्तो अनुपात २०७८ असार मसान्तमा १९.१२ प्रतिशत र २०७७ चैत मसान्तमा १८.८२ प्रतिशत रहेको थियो ।

लघु व्यवसाय कर्जाको अंश पनि २०७८ असारमा ७३.७६ प्रतिशत रहेकोमा २०७८ चैतमा ७४.८७ प्रतिशत पुगेको छ ।

खुद मुनाफा वृद्धि

विसं २०७८ चैत मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रोत्रयमासको तुलनामा वृद्धि भएकोे छ । उक्त लघुवित्त वित्तीय संस्थारुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी ३ अर्ब ८१ करोड र ब्याज खर्च १ अर्ब ९६ करोड रहेको छ ।

समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरूले १ अर्ब २२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा ४४.२८ प्रतिशतले बढी हो । समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा सामान्य वृद्धि भएको छ ।

उक्त लघुवित्त वित्तीय संस्थाहरूको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा खुद मुनाफा ७ अर्ब ९७ करोड रहेकोमा १.१८ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ८ अर्ब ६ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरूको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी ३९ अर्ब १५ करोड र ब्याज खर्च १९ अर्ब ३० करोड रहेको छ ।

तरल सम्पत्तिमा उल्लेख्य ह्रास

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् ।

२०७८ चैत मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको तरल सम्पत्तिमा २०७८ असारको तुलनामा १९.१० प्रतिशतले ह्रास भई २ अर्ब ९८ करोड पुगेको छ । २०७८ चैत मसान्तमा तरल सम्पत्ति/कुल निक्षेप अनुपात ७.४३ प्रतिशत रहेको छ। २०७७ चैत र २०७८ असार मसान्तमा यस्तो अनुपात क्रमशः ८.१८ प्रतिशत र ९.८९ प्रतिशत रहेको थियो ।

सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूको २०७८ चैत महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४.२३ प्रतिशत र ३.२० प्रतिशत रहेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूको अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ ।

सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको कुल तरल सम्पत्तिमा उल्लेख्य ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको २०७८ चैत मसान्तमा तरल सम्पत्ति २०७८ असारको तुलनामा ५०.८० प्रतिशतले ह्रास भई १२ अर्ब ३८ करोड पुगेको छ । २०७८ असार मसान्तमा २७.९६ प्रतिशत रहेको तरल सम्पत्ति/कुल निक्षेप अनुपात २०७८ चैत मसान्तमा भने १२.६४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात घटेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थारुको २०७८ चैत महिनाको अनिवार्य मौज्दात अनुपात ०.५३ प्रतिशत रहेको छ। निक्षेप संकलन नगर्ने कुल ६३ वटा लघुवित्त वित्तीय संस्थाहरूको अनिवार्य नगद मौज्दात तोकिएको दर भित्रै रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments