बैंकिङ क्षेत्रका साथै मर्चेन्ट बैङ्किङ क्षेत्रमा डेढ दशक बिताएका पारसमणि ढकाल अहिले ग्लोबल आईएमई क्यापिटलको नेतृत्वमा छन् । तत्कालीन प्रभु फाइनान्स (हालको प्रभु बैंक) बाट सन् २००७ मा बैङ्किङ करिअर सुरु गरेका ढकालले उक्त संस्थामा झण्डै ४ वर्ष बिताए । त्यसपछिका २ वर्ष चार्टर्ड एकाउन्टेन्सीको अभ्यासमा खर्चिएका ढकाल पुन बैंकिङ क्षेत्रमा फर्किए । ज्योति विकास बैंकमा करिव १ वर्ष काम गरेपछि सन् २०१४ मा उनी ग्लोबल आईएमई क्यापिटल प्रवेश गरेका हुन् ।
क्यापिटल प्रवेश गरेको करिब एक वर्षपछि नेतृत्व सम्हालेका ढकाल हालसम्म सोही संस्थाको नेतृत्वमा छन् । उनको नेतृत्वमा ग्लोबल आईएमई समुन्नत योजना १ नामको सामूहिक लगानी कोष सञ्चालनमा छ । उनकै नेतृत्वमा क्यापिटलले बुधबारदेखि दोस्रो योजना – ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ का इकाईको निष्कासन सुरु भएको छ । कोष प्रवर्द्धक ग्लोबल आईएमई बैंकलाई साढे १३ प्रतिशत र व्यवस्थापक ग्लोबल आईएमई क्यापिटललाई १.५ प्रतिशत हिस्सा सुरक्षित गरी बाँकी ८५ प्रतिशत बराबरका इकाई सर्वसाधारणमा बिक्री सुरु भएको हो । कुल १ अर्ब २० करोड रुपैयाँ आकारको उक्त कोषको पूँजी संकलन सुरु गरेका ढकालसँग समग्र धितोपत्र बजारका सन्दर्भमा नोट बजारले गरेको कुराकानी :
खुलामुखी योजनाको अभ्यास सुरु भइसकेको अवस्थामा बन्दमुखी योजनामा नै बढी केन्द्रित हुनाको कारण के होला ?
बन्दमुखी योजना अलि पुरानो अभ्यास भएका कारण अहिले लगानीकर्ताको आकर्षण खुलामूखीमा भन्दा बन्दमूखीमा छ । खुलामूखी योजनाले पनि राम्रो नतिजा देखाइरहेको अवस्था छ । तर, योजनाहरूमा संस्थागत लगानीकर्ताको लगानी हिस्सा धेरै हुने र उनीहरूको आकर्षण पनि बन्दमुखीमा धेरै हुने भएकाले खुलामूखी योजनाको तुलनामा बन्दमुखीको अभ्यास धेरै भएको हो ।
खुलामुखी योजनामा जे जति विशेषता थपेर ल्याउनुपर्ने थियो त्यसो गर्न पनि सकिरहेका छैनौँ । बन्दमुखीको हकमा बजारले यसलाई नै खोजिरहेको हुन्छ । दोस्रो बजारमा सहजै कारोबार हुन्छ, खुलामूखीको प्रक्रिया र यसको बजार क्रमिक रुपमा विस्तार भइरहेको छ ।
यसो भन्दै गर्दा खुलामुखी योजनामा काम नभएको चाहिँ भन्न मिल्दैन, आजका दिनमा ४ वटा खुलामुखी योजना सञ्चालनमा छन् । हामीले पनि निकट भविष्यमा नै खुलामुखी योजना ल्याउने तयारी गर्दैछौं । बन्दमूखीको योजनाको बजार बिस्तार हुन जति समय लाग्यो, खुलामुखीमा त्यति समय नलाग्ने अवस्थाले पनि यसको भविष्यलाई बुझाउँछ ।
धितोपत्र बजारको विविधीकरणमा तपाईँहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ, कहिलेसम्म इक्विटी केन्द्रित भएर बस्ने ?
यो क्रमिक रुपमा सुधार हुँदै जाने कुरा हो जस्तो लाग्छ । हिजो पुँजी बजारको पहुँचमा सीमित मानिस थिए, अहिले दायरा फराकिलो भएको छ । सामूहिक लगानी कोषमा लगानी गर्नेहरु ज्यादै न्युन थिए, अहिले त्यो अवस्थामा पनि धेरै सुधार भईसकेको छ । तर बजारले आजका दिनमा इक्विटीमा आधारित उपकरणहरुलाई धेरै चलायमान बनाईरहेको छ ।
अवस्था पूर्णरूपमा तपाईले भनेको जस्तै होइन भन्नका लागि यी कुराहरु पर्याप्त छन् । तर इक्वीटीमा आधारित उपकरणको तरलता र आकर्षणका कारण अरु उपकरणको उपस्थिति बलियो हुन नसकेको हो । हाम्रो बजारका लागि आवश्यक अन्य उपकरण पनि आउन नसकेको चैं पक्कै हो । यही कारण डेब्ट उपकरणमा मात्र नभई हरेक योजनाले निश्चित आय हुने मुद्धती निक्षेप लगायतमा १५ प्रतिशत, कल करेण्टमा ५ प्रतिशत र बाँकी रहेको ८० प्रतिशत रकम इक्वीटी मार्केटमा लगानी गरेको देखिन्छ ।
विगतलाई हेर्ने हो भने ८० प्रतिशतसम्म फिक्सड् इन्कम इन्ष्ट्रिुमेन्ट तथा बण्डहरुमा लगानी भएको अवस्था हो । उपकरणको बिस्तारका कारण यसमा क्रमिक सुधार हुँदै आएको हो । यस आधारमा प्रकृति अनुसार उपलब्ध क्षेत्रमा लगानी भइरहेको छ भन्ने मेरो बुझाई हो । र आगामी दिनमा थप उपकरण विस्तार हुँदै जाने कुरामा विश्वस्त छु, यसले पक्कै पनि इक्विटी केन्द्रित हुनुपर्ने अहिलेको अवस्थामा विविधीकरण ल्याउनेछ ।
म्युचुअल फण्डलाई दीर्घकालीन लगानीको माध्यमका रुपमा स्थापित गराउन के कस्तो प्रयास भइरहेको छ ?
सामूहिक लगानी कोषको प्रवद्र्धन र विकासका लागि नै राज्यस्तरबाट सहुलियत दिने प्रयास नभएका होइनन् । र त्यस्ता सहुलियत अनुसार आजका दिनमा यस्ता योजनामा लगानी गर्नेको संख्या विस्तार भइरहको छ । तर यो जति आवश्यक छ, त्यति हुन नसकेको हो । त्यसमा कसैले कसैलाई दोष दिने भन्दा पनि सम्बद्ध पक्षहरु, हामी अपरेटरहरुले धेरै कामहरु गर्नुपर्नेछ ।
सामूहिक लगानी कोष सञ्चालन गरेका मर्चेन्ट बैंकहरुले एक लाखसम्म सामूहिक लगानी कोषमा गरेको लगानीलाई करयोग्य आयबाट घटाउन पाउनुपर्ने व्यवस्था गर्न अनुरोध गरिरहेका छौं । कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषका बचतकर्ताको संख्या धेरै छ । उनीहरुले कोषमा जम्मा गर्ने रकमबाट पनि सामूहिक लगानी कोषमा लगानी गर्ने र त्यस्ता लगानीकर्तालाई सहुलियत दिएर आकर्षित गर्न सके बजारमा धेरै परिवर्तन आउने अवस्था छ ।
यस्ता अरु धेरै कुराहरु छन् जसले सामूहिक लगानी कोषको बजारलाई दीगो बनाउन सक्छ । हामीले यस्ता सम्भावित विषयमा नियामक निकायलाई घच्घच्याउने काम गरिरहेका छौं ।
यसमा नियामक निकायको भूमिका पनि के हुन्छ ?
बजारका सबै पक्षले यस्ता काममा सक्रियता देखाउने हो भने दीर्घकालीन लगानी गर्नुपर्ने रहेछ भन्ने सन्देश पनि बजारमा जान्थ्यो । यस अर्थमा दीर्घकालीन लगानीका रुपमा सामूहिक लगानी कोषलाई भित्र्याउनै नसकिएको भन्ने भन्दा पनि त्यसको प्रयासमा कहाँ कसले कति काम गरिहेको छ भन्ने पनि हेरिनुपर्छ जस्तो लाग्छ । नियामक निकायले पनि यस्ता कामलाई समयमा सम्बोधन गरिदिने हो भने क्रमिक रुपमा दीर्घकालीन लगानीको चेतना विस्तार हुन्छ र भइरहेको छ भन्न सकिन्छ । यसलाई थप गति दिने काम जरुरी छ ।
तपाईकै नेतृत्वमा ग्लोबल आईएमई क्यापिटलले यस अघि समुन्नत योजना ल्याइसकेको छ । दास्रो योजना ल्याउँदै गर्दाका चुनौतीलाई कसरी हेर्नु भएको छ ?
अहिले सञ्चालनमा रहेको ग्लोबल आईएमई समुन्नत योजना–१ बजारमा ल्याउँदा र आजको दिनमा बजारको अवस्था एकनासको छैन । दायराहरु अपेक्षित नभए पनि केही हदसम्म विस्तारको चरणमा छ । असिमित दायरामा रहेर कोष सञ्चालन गर्नु र सिमित दायरमा गर्नुमा पक्कै पनि चुनौती धेरै हुन्छन् । अघि कुरा उठिसक्यो कि इक्वीटीमा धेरै केन्द्रित हुनु परिरहेको छ भनेर । इक्वीटी भन्दा बारिहको तरलता कम हुँदा चाहेर पनि त्यता अपेक्षित रुपमा जान सकिरहेका छैनौं ।
अब दायरा छैनन् भनेर प्रयास नगरी बस्ने पनि कुरा भएन । हो हामीकहाँ लगानीका उपकरणको अभाव नै पहिलो चुनौती हो । सबै फण्डहरुले इक्वीटी, डेब्ट र डिपोजिटभन्दा बाहिर गएर लगानी गर्न नसक्ने अवस्थालाई चुनौतीका रुपमा लिएको छु । अहिले हामीले सञ्चालन गरिरहेको ग्लोबल आईएमई समुन्नत योजना १ पनि बजारमा उपलब्ध रहेका सीमित उपकरणमै केन्द्रित हुनुपरेको हो । यही भएर दोस्रो बजारको उतारचढावले कोष तथा योजनालाई पनि प्रभावित पारिरहेको छ । लगानी सन्तुलन गर्न सहज अवस्था छैन । अन्य मुलुकमा जस्तै उपलब्ध उपकरण हामीसँग पनि हुने हो भने लगानी विविधिकरण गरेर बजार ओरालो लाग्दै गर्दा पनि आम्दानीलाई स्थायित्व दिन सकिने थियो ।
यसले लगानीकर्तामा इक्वीटीभन्दा सामूहिक लगानी कोषमा आकर्षण बढ्न सक्थ्यो होला, जुन अवस्था छैन ।
बुक बिल्डिङ प्रक्रिया सुरु हुन नपाउँदै सर्वोत्तम सिमेण्ट विवादमा तानियो । यो विधिलाई नयाँ उपकरणका रुपमा कति प्रभावकारी मान्न सकिन्छ ?
अहिले सुरुवात गर्न खोजिएको बुक विल्डिङमा आशावादी हुन सकिन्छ । सुरुवाती दिनमा भएका घटनाक्रमलाई छोडेर भोली यो प्रणालीले बजारको विकास, बजारमा आउन चाहने कम्पनीहरुलाई अवसर दिने र संस्थागत लगानीकर्ताको भूमिका पनि अब्बल हुने देखिन्छ । यो अवस्थामा बुक बिल्डिङले पक्कै पनि सामूहिक लगानी कोषको लगानी विविधिकरणमा महत्वपुर्ण भूमिका खेल्छ । यो एउटा उपकरण प्रभावकारी रुपमा अघि बढ्यो भने सामूहिक लगानी कोषले योग्य संस्थागत लगानीकर्ताको रुपमा लगानी परिचालन गर्ने अवसर पाउँछन्, जसले फण्डहरुलाई कम्फर्ट बनाउन सहयोग गर्छ ।
सामूहिक लगानी कोषहरुलाई बजारको मार्जिनल गेनले मात्र सञ्चालन हुनुपर्ने अवस्थालाई यो विधिले टेवा दिनेमा तपाई कति विश्वस्त हुनुहुन्छ ?
पक्कै पनि अहिलेको अवस्थामा राहत दिने कुरामा दुईमत छैन । बजारको उतारचढावमा जसरी फण्डहरु प्रभावित भईरहेका छन, त्यसमा कुनै न कुनै रुपमा राहत मिल्छ । त्यसको असर भनेको फण्डका लगानीकर्ताले पाउने प्रतिफल दरमा ह्रास नआउने अवस्था बन्नु हो, त्यसमा टेवा पुग्छ नै भन्ने लाग्छ ।
योग्य संस्थागत लगानीकर्ताका रुपमा फण्डले ठुलो रकम बुक बिल्डिङ मार्फत लगानी गर्न सक्छन्, जुन अवस्था अहिले छैन । क्यापिटल गेनको अवसरलाई मात्र प्रतिक्षा गर्नुपर्ने अवस्थामा यो प्रणालीले विकल्प दिन्छ ।
केही कम्पनीहरुको बुक बिल्डिङको प्रक्रिया ग्लोबल आईएमई क्यापिटलले नै अघि बढाइरहेको छ । यसबाट म एकदमै उत्साहित छु ।
दोस्रो बजार उच्चतम विन्दुमा पुगेर धेरै तल झरेका बेला नयाँ योजनाको निष्कासन तथा बिक्री खुला गर्दै हुनुहुन्छ, लगानीकर्ताले पाउने प्रतिफलको प्रक्षेपणलाई कति असर पर्ला ?
बजार सूचक ३ हजार २ सय पुगेर अहिले ३५ प्रतिशतले तल झरेको छ । यसलाई बजारले दिएको छुटका रुपमा बुझ्नु पर्छ । १०० रुपैयाँ मूल्य पुगेको कुनै वस्तु ६५ रुपैंयामा किन्न पाउनु भनेको अवसर हो भन्ने मलाई लाग्छ । यो अवसरलाई ग्लोबल आईएमई ब्यालेन्स्ड फन्डले सदुपयोग गर्छ । र त्यही अवसरबाट प्रक्षेपित प्रतिफलको आधारलाई बलियो बनाउँछ ।
बजार ३२०० मा भएका बेला फण्डले लगानी गर्न धेरै सोच बिचार गर्नु पर्ने हुन सक्थ्यो, तर अहिले बजार तल्लो विन्दुमा आएकै कारण फण्डले रणनीति बनाएर बजारमा लगानी परिचालन गर्छ । बजार घट्दा किन्ने र बढ्दा बेच्ने सिद्धान्तअनुसार हामी बजार प्रवेश गर्छौं । यस अर्थमा हामीले फण्ड गलत समयमा ल्यायौं भन्ने होइन सही समयमा ल्यायौं र प्रक्षेपित प्रतिफल दरमा कुनै असर पर्दैन भन्नेमा विश्वस्त छु ।
१० वर्ष अवधिको यो याजनाले यकाईधनीलाई म्याचुरिटी पिरियडमा लाभांश र न्याभ गरेर कुल १२४.३ प्रतिशत प्रतिफल पाउने प्रक्षेपण छ ।
योजना निष्कासन भए पछिको पहिलो ३ वर्षसम्म साढे ७ प्रतिशतको दरले लाभांश वितरण गर्ने प्रक्षेपण छ । त्यस पछिका २ वर्ष दश दशप्रतिशत, त्यस पछिका २ वर्ष चौध चौध प्रतिशत, त्यस पछिका २ वर्ष सोह्र सोह्र प्रतिशत र अन्तिम वर्ष १७ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण अहिलेको अवस्थामा उचित छ भन्ने लाग्छ । लाभांश र न्याभको औषतका आधारमा लगानीकर्ताले वार्षिक १२.४३ प्रतिशतका दरले प्रतिफल पाउने प्रक्षेपण छ । प्रक्षेपित लक्ष्य पुरा गर्न हाम्रो टीम हरदम लाग्नेछ ।
एक अर्ब २० करोड रुपैयाँ आकारको फण्डले कुन कुन क्षेत्रमा कति लगानी गर्ने योजना बनाएको छ ?
ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा आउने यो योजनाले सर्वसाधारणवाट संकलित पूँजीलाई सन्तुलित तवरले परिचालन गर्छ । ब्यालेन्स्ड योजना भएकाले नै इक्वीटी र निश्चत आम्दानीका उपकरणमा झण्डै समान हिस्सामा लगानी विविधीकरण गर्छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा ५० प्रतिशत र अन्य उपकरणमा ५० प्रतिशत लगानीको योजना छ । आवश्यकता अनुसार यो हिस्सामा केही संशोधन हुन सक्छ । इक्वीटीमा गरिने लगानीमा पनि क्षेत्रगत रुपमा कति लगानी गर्ने भन्ने विषय पहिले नै निर्धारण गरेर लगानीको योजना बन्छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया