एशियन लाइफको साधारण सभा आह्वान, ३८.७६ करोड लाभांश अनुमोदन गर्दै

-नोटबजार संवाददाता
काठमाण्डौं ।
२३भाद्र, २०७९, बिहीबार / Sep 08, 2022 11:27:am

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते बिहीबार कम्पनीको १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकको निर्णय अनुसार कुल ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँ लाभंश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । जसमा ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस सेयर र बोनसको कर प्रयोजनका लागि १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।७८ को सञ्चित नाफाबाट चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सो बोनस १४ औं वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ ।

यस्तै सभाले बोनस सेयर पश्चातको जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको हाल कायम संस्थापक र सर्वसाधारणको सेयर ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृत पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको एनएफआरएस प्रणाली बमोजिम असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धि विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापीक्षकको नियुक्त तथा निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गते मंगलबार एक दिनका लागि सेयर दाखिल खारेजी मिति (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments