राष्ट्र बैंकले नीतिगत दर भन्दा थोरै ब्याज अफर गर्ने बैंकको ट्रेजरी सोझै खरिद गरेन

नोटबजार संवाददाता
काठमाण्डौं ।
२५कार्तिक, २०७९, शुक्रबार / Nov 11, 2022 17:21:pm

नेपाल राष्ट्र बैंकले ३० अर्ब ट्रेजरी बिल्स सोझै खरिद गर्ने भनेपनि २८ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्र खरिद गरेको छ । केन्द्रीय बैंकले नीतिगत दर भन्दा तल झरेर ट्रेजरी बिल्स सोझै खरिद नगर्दा माग अनुसारको खरिद नभएकोे हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न बोलकबोल गरेको थियो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्यालाई कम गर्न ट्रेजरी बिल्स सोझै खरिद गरेर पैसा प्रबाह गर्न खोजेको हो ।

तर, उक्त खरिद प्रक्रियामा बैंकहरुले हालको नीतिगत दर (सात प्रतिशत) भन्दा तल डिस्काउन्ट रेट माग गरेपछि केन्द्रिय बैंकले २८ अर्ब ५० करोड रुपैयाँ बरावरको मात्र खरिद गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।

केन्द्रीय बैंकले नीतिगत दर भन्दा माथिको रेटमा बिक्री गर्न चाहेको मात्र खरिद गरेको हो । त्यसका लागि १५ बैंक वित्तीय संस्थाले ६४ वटा आवेदन मार्फत ३४ अर्ब ९० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स बिक्री गर्न खोजेका थिए । सो मध्ये केन्द्रीय बैंकले सात प्रतिशत भन्दा तल डिस्काउन्ट रेट माग गर्ने ट्रेजरी खरिद नगरेको हो।

राष्ट्रले सोझै ट्रेजरी खरिदको आह्वान गर्दा बैंकहरुले धेरैमा १०.६९६२ प्रतिशत डिस्काउन्ट रेटमा बिक्री गर्न खोजका छन् भने न्यूनतम ७.००६६ प्रतिशत बोल गरेका छन् । बैंकहरुले माग गरेको डिस्काउन्ट रेटको औसत ८.३७१८ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

तरलता अभाव उच्च भएका बैंकहरुले उच्च डिस्काउन्ट दरमा बिक्री गरेका छन भने सहज अवस्थामा भएकाले न्यून दर कायम गरेको राष्ट्र बैंकका ती अधिकारीको भनाई छ।

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले २०७९ चैत मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरिद गरेको हो ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर यिल्डरेट गणना गरी सबभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमश बाँडफाँड गरेको केन्द्रीय बैंकले जनाएको छ । तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकम भन्दा बढी भएको सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँड भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments