नयाँ स्टक र ब्रोकर थप गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णय झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नयाँ स्टक र ब्रोकर थप गर्ने विषयमा मन्त्रिपरिषदको निर्णय झिकाउन विपक्षीलाई आदेश दिएको छ । मंगलबार भएको दुई पक्षको छलफलपछि सर्वोच्चले सो आदेश दिएको हो ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । सर्वोच्चले ती दुई नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय फाइल झिकाउन आदेश गरेको हो ।
संशोधित नियमावली बमोजिम धितोपत्र बोर्डले गत असोज २ गते स्टक र ब्रोकरका लागि आवेदन मागेको थियो । सोही विषयलाई लिएर अधिबक्ता दिपक बिक्रम मिश्रले लाइसेन्स वितरण प्रक्रिया रोक्नुपर्ने भन्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिट उपर न्यायाधिश तिलप्रसाद श्रेष्ठको एक इजलासले स्टक र ब्रोकर थप गर्ने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । त्यसका साथै दुवै पक्षलाई छलफलमा समेत बोलाइएको थियो ।
सो छलफलको मिति तय गरिएको भएपनि हेर्न नमिल्नेमा रहदै आएकोमा मंगलबार न्यायाधिश द्धय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको थियो । दुइ न्यायाधिशको बेञ्चले सुनुवाई पछि मन्त्रिपरिषदको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।
अधिबक्ता मिश्र संशोधित नियमावलीको कार्यान्वयन तत्काल रोकिनु पर्ने भन्दै अदालत पुगेका थिए । मिश्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौ ,नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर,नेपाल स्टक एक्सचेन्ज लिमिटेड यूएनआई शान्तिमार्ग भद्रकाली काठमाडौलाई प्रतिबादी बनाउदै कात्तिक १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले कात्तिक ४ गते शुक्रबार सुुनुवाइ गर्दै दुबै पक्षलाई छलफल गराउने र निस्कर्षमा पुग्ने भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
बोर्डले लाइसेन्स प्रक्रिया सुरु गरी आवेदन माग गर्दै स्टक एक्सचेन्जका लागि ४५ दिन र ब्रोकरका लागि ३० दिन समय दिएको थियो । बोर्डको आह्वान अनुसार ४५ नयाँ कम्पनीले धितोपत्र ब्रोकरको लाइसेन्सका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । तर, स्टक एक्सचेन्जको लाइसेन्सका लागि कुनै आवेदन परेको छैन । स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन बोर्डले लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।