प्रभु र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार आइतबारदेखि दोस्रो बजारमा खुल्दै

0
Shares

प्रभु र प्रिमियर इन्स्योरेन्सको लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नसक्ने भएका छन् ।

मर्जर प्रकृयामा रहेका कारण दुबै कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । प्रिमियर इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्ससँग तथा प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार सूचना जारी गर्दै मंसिर १५ गते बसेको बैठकले दुबै कम्पनीको सेयर कारोबार मंसिर १८ गते आइतबारदेखि फुकुवा गर्ने निर्णय गरेको हो । आइतबारदेखि दुबै कम्पनीको आधारभूत बाहेकका सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरिएको हो । प्रभु इन्स्योरेन्स सेयर कारोबार फुकुवा गर्न मंसिर ११ गते र प्रिमियर इन्स्योरेन्सले मंसिर १२ गते नेप्सेमा आवेदन दिएका थिए ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुबै कम्पनीले सेयर कारोबार फुकुवा गर्न नेप्से समक्ष अनुरोध गर्दै पत्राचार गरेका थिए । सोही अनुसार कम्पनीले सेयर कारोबार फुकुवा गरेको हो ।

सेयर कारोबार रोक्का हुनुपुर्व प्रभु इन्स्योरेन्सको सेयर २०७९ असार २७ गते सोमबार धितोपत्रको दोस्रो बजारमा अन्तिम पटक प्रतिकित्ता ४२८ रुपैयाँमा कारोबार भएको थियो । यस्तै प्रिमियर इन्स्योरेन्सको सेयर अन्तिम पटक असार ३० गते प्रतिसेयर ५७६ रुपैयाँमा कारोबार भएर बन्द भएको थियो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले २०७९ असार २७ गते सोमबार एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । यस्तै प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग असार ३२ गते शनिबार मर्जर सम्झौता गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर साढे २ अर्ब तथा निर्जीवन बीमा कम्पनीका चुक्ता पूँजी २ अर्बबाट बढाएर ५ अर्ब र्पुयाउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि प्राधिकरणले २०८० चैत मसान्तसम्म्मको समय दिएको छ ।

उक्त निर्देशनपछि पूँजीवृद्धिको दवाब परेका बीमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरेका थिए । जसमध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स तथा सानिमा जनरल र जनरल इन्स्योन्स कम्पनी एक आपसमा मर्जर भई एकीकृत कारोबार थालिसकेका छन् । हिमालयन एभरेष्टको सेयर कारोबार भैरहेको छ भने सानिमा जिआईसीको सेयर कारोबार अझै खुलेको छैन ।

हाल मर्जर प्रकृयामा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स तथा प्राइम लाइफ, गुँरास र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा रहेका छन् । यस्तै अजोड इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स, लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ, सिद्धार्थ र प्रिमियर एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका छन् ।

प्रभु इन्स्योेरेन्स र प्रिमियर इन्स्योरेन्सको आइतबारदेखि सेयर कारोबार खुल्दै गर्दा यसअघि नै सिद्धार्थ इन्स्योरेन्सको कारोबार फुकुवा भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहीबार  १९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।