ग्लोबल आइएमइ बैंकको डीडीएमा मर्जरबाट भएको लाभ बापतको कर दायित्व देखाइएन

0
Shares

ग्लोबल आइएमइ (GBIME)  बैंक र बैंक अफ काठमाण्डू (BOKL)  बिचको मर्जर प्रक्रियाले नयाँ मोड लिने देखिएको छ । मर्जरका लागि दुबै बैंकको संयूक्त ‘ड्यू डेलिजेन्स अडिट’ (डीडीए) तयार गर्ने क्रममा ग्लोबल आइएमइ बैंकको कर दायित्वको विषयलाई समावेश नगरेको पाइएपछि नयाँ कोर्सको सुरुवात भएको हो ।

महालेखापरीक्षकको कार्यालयले ग्लोबल आइएमइ बैंकको हकमा करिब डेढ अर्ब रुपैयाँ बराबरको आयकर तिर्नुपर्ने देखिएको छ । बैंकले मर्जरबाट भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा आयकर छली गरेको महालेखाले औल्याएको छ । सो अनुसारको दायित्वलाई डीडीए गर्दा मूल्याङकनकर्ताले उल्लेख गरेका छैनन् ।

मर्जरबाट भएको लाभका सन्दर्भमा धेरै कर दायित्व नभएको हुनाले डीडीएमा नराख्ने सहमती भएको स्रोतले नोटबजारलाई जानकारी दियो । “मर्जरबाट भएको लाभमा लाग्ने करको सन्दर्भमा छलफल भएपनि त्यसले खासै असर नगर्ने भएपछि उल्लेख नगरिएको हो” स्रोतले भन्यो,“ग्लोबल आइएमइ बैंकको मर्जरबाट भएको लाभको रकम थोरै भएकाले त्यसले मर्जरमा असर नपर्ने भएकाले डीडीएमा उल्लेख गर्न नपर्ने भनेपछि सोही अनुसार डीडीए भएको छ ।”

तर, बैंक अफ काठमाण्डूमा कर्मचारी सञ्चय कोषको पनि लगानी छ । कर्मचारी सञ्चयकोषले भने महालेखाले उठाउन पर्ने कर दायित्व भनेर बैंकको नाममा उल्लेख गरेपछि त्यसलाई वेवास्ता गरेर जाने अवस्था रहने सम्भावना न्यून छ । निजी क्षेत्रका बैंक वित्तीय संस्थाले महालेखाको प्रतिवेदनलाई आ–आफ्नो अनुकुलमा ब्याख्या गरेको भएपनि सरकारी नियन्त्रणमा भएको संस्थाले महालेखाको विषयलाई गम्भिर रुपमा लिन्छन ।

ग्लोबल आइएमइ बैंकको अघिल्लो (२०७७/०७८)को लेखापरिक्षण प्रतिवेदन सोही विषयका कारण क्वालीफाइड थियो । आर्थिक वर्ष २०७८/०७९ मा भने बैंकले मर्जरको लाभ तथा सेयर प्रिमियबाट लाभांश वितरण गर्दा आयमा देखाइ कर तिर्नुपर्ने विषयको समाधान भएको छैन । तर, बैंकले गत आवको लेखापरिक्षण प्रतिवेदनमा नेपाल चार्टर्ड एकाउन्टेटन्स् संस्थाको ब्याख्या अनुसार समायोजना गरेको भनिएको छ । तर, बैंकले समायोजन गरेको भएपनि आयकर भने नियमित आम्दानीमा मात्र तिरेको देखिन्छ । त्यसैगरी बैंकको इक्विटीमा भएको परिवर्तनको मौज्दात भने बढी नै रहेको छ ।

आयकर ऐनको दफा ४७ अनुसार मर्जरमा भएको लाभमा आयकर तिर्नपर्ने व्यवस्था छ । सो अनुसार ग्लोबल आइएमइ बैंकको कर दायित्व ठुलो भएपछि त्यसलाइ डीडीएमा नै नदेखाइएको हो । ग्लोबल आइएमइ बैंक र बैंक अफ काण्ठमाण्डू विच गत असार २ गते मर्जर सम्झौता भएको थियो । सो सम्झौता अनुसार स्वाप अनुपात एक बरावर एक कायम गरिएको छ । कात्तिक २८ गते डीडीए प्रतिवेदन दुबै संस्थाका सञ्चालक समितिले स्विकृत गरेपछि कात्तिक २८ गते अन्तिम सम्झौता पनि गरीसकेका छन् । साथै दुबै बैंकले आगामी २३ गते शुक्रबार मर्जरको एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएका छन । साधारणसभाको मूख्य ऐजेण्डामा बैंक अफ काठमाण्डू संगको मर्जर प्रस्तावलाई पारित गर्ने रहेको छ ।

त्यसैगरी पछिल्लो समयमा मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको संयुक्त डीडीएमा पनि मर्जरको लाभ तथा प्रिमियबाट लाभासं बाड्दा लाग्ने करको सन्दर्भमा नदेखाएको अनुमान छ ।

ग्लोबल आइएमई बैंकले यसभन्दा अघि २१ संस्थालाई गाभेको छ । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि सबैभन्दा धेरै संस्था गाभ्ने बैंक पनि ग्लोबल आइएमइ हो । बैंकले केहि संस्थालाई गाभ्दा भएको लाभमा कर तिर्नुपर्ने समयअवधि समाप्त भैसकेको देखिन्छ । तर, पछिल्लो समयमा लिएका करिब दर्जन भन्दा धेरै संस्थाबाट बैंकले गत वर्षसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ बरावरको लाभ लिएको खुल्न आएको छ ।

बैंकले मर्जरमा गएपछि आयकर ऐन र नेपाल वित्तीय लेखामान विपरित हिसाव किताव देखाई कर छली गरेको स्रोतको भनाइ छ । ग्लोबल आइएमइ बैंकले मर्जरबाट ३ अर्ब ५५ करोड रुपैयाँ लाभ गरेको छ । त्यसको ३० प्रतिशतका दरले हुने आयकर एक अर्ब ५ करोड हुन आउछ । त्यसैगरी महालेखापरीक्षकको प्रतिवेदन अनुसार पनि बैंकले सोही शिर्षमा १५ करोड ३८ लाख रुपैयाँ कर छली भएको औल्याएको छ । महालेखाको प्रतिवेदनमा पनि उल्लेख भएको तिर्नु पर्ने कर सहित बैंकले एक अर्ब २० करोड रुपैयाँ कर छली गरेको देखिन आएको छ ।

त्यस संगै ग्लोबल आइएमइ बैंकले आयकर ऐन २०५८ विपरित मर्जरको लाभ लिएको देखिन आएको छ । ऐन अनुसार गाभिने संस्थाले पाउने लाभ गाभ्ने संस्थाले पनि लिएको भेटिएको हो । बैंकमा गाभिएका संस्थाहरुले मात्र पाउनु पर्ने सुविधा गाभेको बैंकले पनि लिएको हो । यसमा लाभांश कर र पुँजीगत लाभकर २ वर्ष सम्म गाभिएका संस्थाको सेयरधनीको सन्दर्भमा छुट भएपनि गाभेको ग्लोबल आइएमइ बैंकका सेयरधनीले पनि लिदै आएका छन । बैंकका नाममा नपाउने पुँजीगत लाभकर छुट लिएको भन्दै ३२ करोडको कर दायित्व देखिएको छ । बैंकले मर्जरमा हुने लाभलाई नदेखाइ इक्वीटी समायोजनामा देखाउने गरेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।