विनोद चौधरीले खरिद गरे श्रीलङ्काको युनियन बैंक, अधिक कारोबारसँगै सेयर मूल्य बढ्यो


डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काको युनियन बैंकको बहुमत सेयर खरिद गरेका छन् । श्रीलङ्काको आठौं ठूलो बैंकका रुपमा स्थापित युनियन बैंकको झण्डै ७१ प्रतिशत सेयर चौधरीले खरिद गर्ने सम्झौता भएसँगै उक्त बैंकको अधिक सेयर कारोबार भएको छ भने सेयर मूल्य पनि बढेको छ ।

चौधरी ग्रुपले सिंगापुरमा रहेको “सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालि” का माध्यमबाट युनियन बैंकको ७०.८४ प्रतिशत सेयर खरिद गर्ने सम्झौता गरेको हो । युनियन बैंक अफ श्रीलङ्काका अनुसार गत नोभेम्बर ३० मा भएको सम्झौता अनुसार बैंकमा रहेको “कल्चरल फाइनान्सियल होल्डिङस लिमिटेड” को सबै सेयर “सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालि” ले खरिद गर्ने सम्झौता भएको हो ।

सिंगापुरमा रहेको चौधरीको निजी इक्विटी कम्पनी “सीजी कर्प” पनि यो खरिदमा सहभागी भएको छ । अमेरिकालाई केन्द्रमा राखेर सञ्चालमा रहेको ठूलो इन्भेष्टमेण्ट कम्पनी “टीपीजी एशिया भीआई एसएफ लिमिटेड” ले आफ्नो पूर्ण स्वामित्वमा रहेको “कल्चरल फाइनान्सियल होल्डिङस लिमिटेड” सँग रहेको सबै सेयर बिक्री गरेको हो ।

युनियन बैंकको वार्षिक वित्तीय प्रतिवेदन अनुसार बैंकमा कल्चर फाइनान्सियल होल्डिङ्सको ७०.७८ प्रतिशत लगानी छ । बैंकले जनाए अनुसार उक्त सबै सेयर सीजी क्यापिटल पार्टनर्स ग्लोबलले खरिद गरेको हो ।

हाल कल्चरल फाइनान्सियल होल्डिङससँग बैंकको ७६ करोड ७५ लाख ५८ हजार ८८८ कित्ता सेयर छ । चौधरीले बैंकको प्रतिकित्ता सेयर १२ श्रीलङ्काली रुपैयाँभन्दा बढीको दरमा खरिद गरेको बुझिएको छ । जबकी त्यहाँको दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयर ८ रुपैयाँमा किनबेच भईरहेको छ ।

विनोद चौधरीका अनुसार श्रीलङ्का कठिन समयबाट गुज्रिरहेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषका माध्यमबाट विदेशी लगानी जुटाउन संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा सकरात्मक अपेक्षा सहित आफुहरुले लगानी गर्ने निर्णय गरेको उनको भनाई छ । कठिन अवस्था आउने थाहा भए पनि श्रीलङ्कालाई भरोसा दिनका लागि लगानी गरिएको चौधरीले बताएका छन् ।

गत नोभेम्बर ३० मा सेयर खरिद बिक्री सम्झौता भएको विषय कोलम्बो स्टक एक्स्चेञ्जले डिसेम्बर १ मा सार्वजनिक गरेको थियो । सोसँगै बैंकको सेयर मूल्य बढ्दा कारोबार भने अधिक भएको थियो । सामान्य अवस्थामा एक लाख कित्तासम्म सेयर कारोबार हुँदै आएकोमा डिसेम्बर १ का दिन बैंकको १४ लाख ८० कित्ता सेयर कारोबारमा आएको थियो । ७.५० श्रीलङ्काली रुपैयाँमा खुलेको कारोबार अन्तिममा ८.५० रुपैयाँमा बन्द भएको थियो । त्यसको भोलिपल्ट ५७ लाख ३० हजार कित्ता सेयर कारोबारमा आएको थियो भने सेयर मूल्य ८.१० श्रीलङ्काली रुपैयाँ कायम भएको थियो ।

हाल बैंकको चुक्ता पुँजी १७ अर्ब ९३ करोड श्रीलङ्काली रुपैयाँ छ । उक्त पुँजीमा अब चौधरीको हिस्सा ७०.८४ प्रतिशत कायम भएको हो ।

चौधरीले यस अघि श्रीलङ्काको जेटविंग होटल्स ग्रुप र सीलोन होटल्स कर्पोरेसनसँगको साझेदारीमा दर्जन बढी योजनाहरुमा लगानी गरेका थिए ।

सन् २०१४ को सेप्टेम्बर अन्तिममा कल्चरल फाइनान्सियल होल्डिङसले युनियन बैंकको ७०.८४ प्रतिशत सेयर प्रतिकित्ता १५.३० श्रीलङ्काली रुपैयाँको दरमा खरिद गरेको थियो । ८ वर्ष पछि श्रीलङ्काको अर्थतन्त्र टाट पल्टिएपछि कल्चरल फाइनान्सियल होल्डिङसले किनेको मूल्य भन्दा सस्तोमा चौधरीलाई बिक्री गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १२ : ५९ बजे