दुई कम्पनीले सेयरधनीहरूलाई लाभांश नबाँड्ने, लाभांश बिनै बोलाए एजीएम

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत दुई कम्पनीहरुले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश बापतको बोनस सेयर र नगद दुबै नदिने निर्णय गरेका छन् ।

समृद्धि फाइनान्स र नेपाल फाइनान्स कम्पनीको पुस ८ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । सोही दिनको सञ्चालक समितिको बैठकले साधारण सभा समेत बोलाएका छन् ।

समस्याग्रस्त संस्थाबाट मुक्त भएर तंग्रदै गरेका दुई संस्थाको वित्तीय अवस्था लाभांश वितरणका लागि योग्य नभएपछि दुबै कम्पनीले लाभांश बिना नै यहि पुस ३० गते शनिबार वार्षिक साधारण सभा बोलाएका छन् । समृद्धि फाइनान्सले होटल एभोकाडो हेटौंडा मकवानपुरमा बिहान १० बजे २१ औं वार्षिक साधारण सभा तथा नेपाल फाइनान्सले होटल एल्लो प्यागोडा कान्तिपथ काठमाण्डौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा बोलाएका छन् ।

दुबै कम्पनीको सभाले गत आर्थिक २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू माथि छलफल गरि पारित गर्नेछन् । साथै आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव रहेको छ ।

यस्तै दुबै कम्पनीले अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) को लागि छलफल गर्ने,समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत डिडिए गर्न नियमनकारी निकायसँग सम्पर्क गर्न, स्वीकृति लिन वा अन्य कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्ने लगायत सो सम्बन्धमा प्रचलित नियमानुसार जे जो गर्नुपर्ने हो सोको लागि चाहिने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेण्डा विशेष प्रस्तावको रुपमा साधारण सभामा लैजाँदैछन् ।

समृद्धि फाइनान्सले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट एक र संस्थापक सेयरधनीको तर्फबाट एक गरी दुई सञ्चालकको निर्वाचन गर्ने, सर्वसाधारण समुहबाट रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट नियुक्त श्रीमति दुर्गा थापाको नियुक्ति अनुमोदन गर्नेछ । साथै लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक एचडिएसडि एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

सभामा संस्थाको स्वीकृत प्रबन्धपत्रमा संशोधन गर्ने, संस्थाको स्वीकृत नियमावलीमा संशोधन गर्ने,र प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरु (नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड आदि) बाट कुनै कुराहरु फेरबदल–संशोधन–परिमार्जन गर्न वा मिलाउन वा कुनै थप कागजात तथा विवरणहरु तयार गरी पेश गर्न कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

उता नेपाल फाइनान्सले सभामा संस्थाको स्वीकृत प्रबन्धपत्रमा संशोधन गर्ने, संस्थाको स्वीकृत नियमावलीमा संशोधन गर्ने,र प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरु (नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड आदि) बाट कुनै कुराहरु फेरबदल–संशोधन–परिमार्जन गर्न वा मिलाउन वा कुनै थप कागजात तथा विवरणहरु तयार गरी पेश गर्न कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साथै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आव २०७९।८० को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षक एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

नेपाल फाइनान्सले सभाबाट संस्थाको नियमावलीको नियम २९ (१ ख) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

दुबै फाइनान्स कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ पुस १८ गते सोमबारदेखि पुस ३० गते शनिबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएका छन् । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र सम्बन्धीत कम्पनीको साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि पहिलो फाइनान्स कम्पनीले आफ्नै नाममा कारोबार सञ्चालन गरेको हो भने तत्कालीन वल्ड मर्चेन्ट बैंकिङ्गले नाम परिवर्तन गरी समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।