धितोपत्र बजारमा नागरिक स्टक डिलरको प्रभाव देखिएन, थप साढे एक अर्ब पूँजी जुटाउँदै

0
Shares

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाब न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो ।

यी कम्पनीले बजार घेटेका बेला धितोपत्रहरूको खरिद गरी बजारमा धितोपत्रको माग बढाउँने र बजार बढेका बेला बजारमा धितोपत्रहरू बिक्री गरी बजारमा धितोपत्रको आपूर्ति बढाएर बजार अस्वाभाविक रूपमा बढ्न र घट्नबाट जोगाउने गर्छन् । यिनीहरुले नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरूको खरिद–बिक्री गरी धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने गर्दछन्।

तर, नेपालमा संचालनमा आएको नागरिक स्टक डिलर कम्पनीको प्रभाव भने धितोपत्र बजारमा देखिन सकेको छै्रन् । पछिल्ला केहि साता यता सेयर बजारमा एकैदिन उच्च अंकको तिब्र उतारचढाब हुनुले पनि स्टक डिलरको भुमिका प्रभावकारी नदेखिएको स्पष्ट्र हुन्छ ।

नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहने गरी २०७६ माघ २९ गते ५ अर्ब चुक्ता पूँजीको ‘नागरिक स्टक डिलर’ कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत लगानी छ । सर्वसाधारणको लागि ३० प्रतिशत छुट्याइएको छ । कम्पनीमा कोषको दुई अर्ब ५५ करोड, टेलिकमको ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड लगानी छ । एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहनेछ।

बजारमा प्रभाव पार्ने अवस्थामा पुगिसकेका छैनौ, सिईओ श्रेष्ठ

२०७७ चैत्र १७ गतेदेखि नागरिक स्टक डिलर कम्पनीले धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु गरेको हो । स्टक डिलरले नेप्सेले उपलब्ध गराएको छुट्टै विन्डो र केही ब्रोकर मार्फत कारोबार गरिरहेको छ । अहिले कम्पनीले करिब पाँचदर्जन कम्पनीमा लगानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ स्टक डिलर कम्पनी अझै फुलफेजमा संचालनमा आइनसकेकाले बजारमा प्रभाव नदेखिएको बताउँछन्। ‘अहिलेको बजारको आकार र अवस्थाले स्टक डिलरले ठूलो उतारचढाब न्यूनिकरण गर्ने स्थिति छैन, त्यो अवस्थासम्म पुग्न स्टक डिलरसँग प्रयाप्त स्रोत पनि छैन्, पछि गएर पर्याप्त स्रोतहरु हुँदा यस किसिमका भुमिका पनि अपनाउन सकिन्छ’, उनले भने ।

‘शेयर बजार घटबढ भइनै रहन्छ, बजारको घटबढलाई नै आधार बनाएर रणनितिक रुपमा हामीले लगानी गर्ने हो। हामी जस्ता संस्थागत लगानीकर्ता आइसकेपछि बजारलाई फाइदा नै पुग्छ । हामीले हाम्रो कार्यक्षमता हेरेर नै लगानी गर्नुपर्ने हुन्छ । स्टक डिलरले बजारको उतारचढाबलाई नियन्त्रण गर्ने भन्ने हुँदैन।’ श्रेष्ठले भने।

स्टक डिलरले क्षणिक उतारचढाबलाई हेरेर भन्दा पनि द्धिर्घकालिन बजारलाई हेरेर लगानी गर्ने गरेको उनले बताए । धितोपत्र बजारमा एकैदिनमा २१ अर्बसम्मको कारोबार भएको रेकर्ड छ, अहिले पनि दैनिक चार अर्ब माथिको कारोबार भइरहेको छ । अहिलेको क्षमता अनुसार कुनै एक वा दुई कम्पनीको शेयरको तिब्र उतारचढाब थाम्न सक्ने अवस्था रहेपनि सम्पूर्ण बजारको उतारचढाब थेग्ने स्थितिमा नपुगेको उनले बताए । उनले भने, ‘हामीले साना भन्दा साना लगानीकर्ताहरुदेखि हाम्रो क्षमतासम्मलाई हेरेर बजारमा उपस्थिति जनाउने छौ । बजार घट्नै नदिने भन्ने कुरा त स्टक डिलरले गर्दैन ।’

कति छ शेयर बजारमा लगानी ?

स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको दुई अर्ब ५५ करोड, टेलिकमको ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड लगानी गरेर ३ अर्ब ५० करोड चुक्ता पूँजी छ । सर्वसाधारणबाट साढे एक अर्ब उठाउनै बाँकी छ ।

अहिले स्टक डिलर कम्पनीले चुक्ता भएको पूँजी नै धितोपत्र बजारमा परिचालन गरिरहेको प्रमुख कार्यकारी श्रेष्ठले बताए । ‘अहिले हामीले चुक्तापूँजीलाई नै सदुपयोग गरिहेका छौ, चुक्तापूँजीको ७० प्रतिशतसम्म लगानी छ, भविष्यमा अन्य स्रोतहरु जुटाएर लगानी गर्ने योजनामा अघि बढीरहेका छौ, जब जब हामी विस्तार हुँदै जान्छौ, हामीलाई स्रोत उपलब्ध गराउने संस्थाहरु पनि थपिदै गएपछि लगानीको आकार बढ्दै जान्छ।’ उनले भने ।

कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना स्थापनाकालिन समयदेखि नै अघि सारेको थियो। तर बास्केट फण्डको आकार स्रोतको उपलब्धतामा भरपर्ने श्रेष्ठले जानकारी दिए ।

स्टक डिलरले कुन कम्पनीको कति किन्न पाउँछ शेयर ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लागू गरेको धितोपत्र ब्यापारी स्टक डिलर कार्य संचालन कार्यविधि २०७७ अनुसार स्टक डिलर कम्पनीले एक पटकमा एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था रहेको छ ।

नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि गत भदौ १ गतेदेखि कार्यन्वयनमा आएको हो । जस अनुसार स्टक डिलर कम्पनीले कारोबार योग्य सूचीमा परेका जुनसुकै कम्पनीको पनि एक पटकमा एक हजार कित्ताभन्दा कम परिमाणको शेयर खरिद वा बिक्री आदेश गर्न नपाउने व्यवस्था रहेको छ ।

यस्तै स्टक डिलरले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरीद बिक्री आदेश प्रविष्ट गर्न नपाइने व्यवस्था पनि कार्यविधिले गरको छ । उक्त कार्यविधिमा स्टक डिलरले ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरुको ५० हजार कित्तासम्म शेयर खरीद पाउने व्यवस्था छ ।

यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्बसम्म चुक्ता पूँजी भएको कम्पनीको ३० हजार र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको एक पटकमा २५ हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको एक पटकमा १० हजार कित्तासम्म मात्र शेयर खरीद गर्न पाउने व्यवस्था कार्यविधिमा छ। २० करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीलाई नियमति कारोबारमा संलग्न गर्न नपाउने व्यवस्था छ ।

कस्ता कम्पनीमा लगानी ?

धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार स्टक डिलर कम्पनीले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । त्यस्तै विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएका कम्पनीहरुको मात्र शेयर किनबेच गर्न पाउनेछन् । यस्ता कम्पनीको संख्या ३९ मात्र छ ।

स्टक डिलर कम्पनीले एक दिनमा आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म मात्र कारोबार गर्न पाउने व्यवस्था छ । स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको शेयर किनबेच गर्न पाउने छैन् ।

के गर्न पाउँदैन ?

स्टक डिलर कम्पनीले नेप्से तथा बोर्डको स्वीकृति वेगर कारोबार बन्द गर्न पाउदैन । त्यसैगरी नेप्सेलाई झुटा वा भ्रामक सूचना वा विवरण दिने, नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्ने, बजार सञ्चालनका लागि बाधा पुग्ने कार्य गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।

साढे एक अर्बको आईपीओ जारी गर्ने

नागरिक स्टक डिलर कम्पनीले सर्वसाधारणको लागि साढे एक अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि पुस २३ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जारी पूँजी ५ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गराउनेछ ।

कम्पनीले नागरिक लगानी कोषको भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे साधारण सभा डाकेको छ । सभाले नियमनकारी निकायको स्वीकृती पश्चात आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समिति वा सञ्चालक समितिलाई वा सञ्चालक समितिले वा तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने अख्तियारी समेत दिनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।
यस्तै सञ्चालकहरुको पारिश्रमिक, भत्ता एवं सुविधा अनुमोदन तथा निर्धारण गर्ने र कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ ।

यसैगरी आव २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको असार २०७८ मा समाप्त भएको वार्षिक वित्तीय विवरण ९वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु० उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

के हो स्टक डिलर ?

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो । कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनु पर्दैन ।

पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारमा मार्केट मेकरको अवधारणा हराइसकेको छ । हाल धेरै राष्ट्रमा स्टक डिलर मात्र सञ्चालनमा छन्  । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । यी कम्पनीलाई सेयर कारोबारका लागि ब्रोकरसमक्ष जानु पर्दैन । नियामक निकाय (फन्ट लाइन रेगुलेटर) ले छुट्टै ‘लगइन’ दिएको हुन्छ । त्यसैमार्फत आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।