बैंकिङ प्रणालीमा पहिलो पटक सातामा ५९ अर्ब निक्षेप थपियो

बैंकिङ प्रणालीमा पहिलो पटक सातामा ५९ अर्ब निक्षेप थपियो

चालु आर्थिक वर्ष सुरु भएपछि पहिलो पटक बैकिङ प्रणालीमा एक सातामा ५९ अर्ब रुपैयाँ भित्रिएको छ । यसभन्दा अघि गत असोज महिनाको दोस्रो सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

चालु आर्थिक वर्षको पुस महिनाको १६ गते देखि २३ गतेसम्म बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । यो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

बैंकहरु आर्थिक वर्षको सुरुवातदेखि तरलता अभावको समस्यामा झेलिरहेका थिए । यो अवधिम बैंकहरुले तरलता अभावमात्र नभई कर्जा लगानी योग्य रकमको अभावका समेत भोग्नु पर्यो । बैंकिङ प्रणालीमा नयाँ निक्षेप नआएपछि कर्जा लगानी गर्न सके रोक्नु परेको अवस्था थियो ।

तर, पछिल्लो समयमा स्थानीय निकायको खातामा रहेको सरकारी रकमको ८० प्रतिशसम्म निक्षेप गणना गर्न पाउने व्यवस्थाले निक्षेप बढ्नमा मद्दत गरेको छ । त्यसका साथै सरकारले विलासिताका बस्तुहरुको आयातमा गरेको नियन्त्रणले पनि बैंकहरुको निक्षेप बढ्ेको हो । सरकारले चाँदी, विलासी गाडी, चकलेट लगायत दैनिक जिवनमा अनिवार्य नहुने बस्तुहरुको आयात निरुत्साहीत गरेसंगै बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको हो ।

त्यसका साथै कोरोनाको तेस्रो लहरको जोखिम बढेसंगै बैंकहरुमा निक्षप थपिन थालेको हो । कोरोनाको तेस्रो लहरका कारण आर्थिक गतिविधि प्रभावित हुनसक्ने भएपछि सर्वसाधारणले बैंकमा निक्षेप राख्न थालेका हुन । त्यसका साथै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा गरिएको लगानीमा कडाई तथा उत्पादन मूलक क्षेत्रमा गरेको अनिवार्य व्यवस्थाले पनि निक्षेप बढ्न गएको देखिन्छ । जस्तो स्थानीय तहमा रहेको सरकारी पैसालाई निक्षेप गणना गर्दा बैंकहरुले उत्पादन मुलक षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था छ ।

बैंकहरुले उच्च कर्जा लगानी गरेपछि बैंकिङ क्षेत्रमा तरलताको अभाव सुरुभएपछि अन्तर बैंक कारोबार समेत रोकिएको थियो । त्यसपछि बैंकहरुले दैनिक ५ प्रतिशतको दरमा ५१ अर्बसम्म स्थायी तरलता सुविधा प्रयोग गरेका थिए । हालसम्मकै न्यून रहेको ब्याजदर समेत बढेर दोहोरो अंकमा पुगेको थियो । पछिल्लो समयमा करिब ९२ प्रतिशतसम्म रहेको कर्जा निक्षेप अनुपात पनि निक्षेप बढेसंग ९० भन्दा तल झरेको अवस्था छ । नेपाल राष्ट्र बैंकले भने कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जान नहुने भनेको छ ।

चालु आर्थिक वर्षको पुस महिनाको १६ गते देखि २३ गतेसम्ममा बैंकहरुमा स्वेदेशी निक्षेप थपिएको भएपछि विदेशी मुद्राको निक्षेप भने घटेको छ । यो अवधिमा विदेशी मुद्राको निक्षेप ३ अर्बले घटेको छ । बैंकहरुले पुस २३ गतेसम्म कुल ४३ खर्ब ७ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले ४१ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार १४ : ५४ बजे