बैंकका लगानीकर्ता आफैँले ऋण लेनदेन गर्दा ब्याज लगायतका तथ्याङ्क वास्तविक भएनन् : अर्थमन्त्री


अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरु नै बैंक वित्तीय संस्थाका लगानीकर्ता हुदाँ वित्तीय प्रणाली गोलमटोल भएको बताएका छन् । वित्तीय प्रणालीका सूचकहरु नै गोलमटोल भएकाले बैंकर तथा व्यवसायीलाई विशिष्टिकरण गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए । व्यवासायीले बैंक सञ्चालन गरेर आफैं कर्जा दिने र आफै लिने गर्दा वित्तीय प्रणालीको तथ्याङक नै सही नआउने गरेको उनको भनाई छ ।

‘आफूले आफैँलाई ऋण दिने/लिने गरेको देखिएको छ’, अर्थमन्त्री शर्माले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’ अर्थमन्त्री शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति बैंकहरुले त्याग्नुपर्ने पनि बताए । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संकटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन् ।

विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने बताएका उनले कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण लिएका कारण यस्तो चाप परेको बताए ।

पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने बताउँदै मन्त्री शर्माले भने, “अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएको जस्तो संकट आइसकेको छैन, सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको अभाव माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।”

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करलाई घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । “संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?” प्रश्न गर्दै उनले भने, “संकटका बेला उद्योग धन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।”

मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै मन्त्री शर्माले संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ ।

व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन समेत मन्त्री शर्माले बैंकसँग आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् ।

यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने मन्त्री शर्माको भनाई थियो । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भन्दै उनले भने, “फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा छ, अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।