राष्ट्रिय वाणिज्य बैंकले पारित गर्यो ३३ प्रतिशत लाभांश


राष्ट्रिय वाणिज्य बैंकले लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको ३३ प्रतिशत लाभांश साधारण सभाबाट अनुमोदन गरेको छ । बिहीबार सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड रुपैंया पुग्नेछ । बैंकको साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताएका थिए ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारण सभामा उपस्थित गराइएको थियो ।

साधारण सभामा बैंकका शेयरधनीहरु नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।