नेपाल बङ्गलादेश प्राप्तीपछि नबिल बैंकको प्राथमिक पूँजी ४३ अर्ब नाघ्ने

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) को प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ पुग्ने भएको छ ।

बिहीबार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदान प्रदान अनुपातमा प्राप्ती गर्ने समझदारी भएसँगै बैंकको प्राथमिक पूँजी ४३ अर्ब कायम हुने भएको हो ।

उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुने जनाएको छ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिशन सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब रुपैयाँ माथी हुनेछ । ग्राहक संख्या १६ लाख र शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन् ।

हाल नेपाल बंगलादेश बैंकको कोर क्यापिटल १४ अर्ब ३९ करोड ६५ लाख ७६ हजार र चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९ हजार ७३९ रुपैयाँ रहेको छ । यस्तै बैंकले ४ लाख ९९ हजार ५५१ ग्राहकबाट ८० अर्ब ८६ करोड ७४ लाख निक्षेप संकलन गरेको छ भने २३ हजार ८१८ जना ऋणीहरुमा लगानीमा रहेको कर्जा ७७ अर्ब २ करोड १३ लाख रहेको छ । बैंकले एक हजार ३७ कर्मचारीबट एक सय शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।

एक्विजिशन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।

दुबै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरे बमोजिम मिति २०७८ पुस २९ गते सम्पन्न दुबै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिशन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैकहरुको दिर्घकालीन रणनैतिक योजना समेत लाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका हुन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास छ । बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

बिहीबार काठमाण्डौंमा सम्पन्न सो सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुबै बैंकले जनाएका छन् ।

नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र बिन्दुमा राखेर आफ्नो व्यावसायलाई अघि बढाएको छ भने डिजिटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै लैजाने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।