मर्जरपछि मात्र नामसारी हुनेगरी भएको बंगालदेश बैंकको सेयर कारोबारमा सरकारलाई ६८ करोड नोक्सानी


नेपाल राष्ट्र बैंकको प्रोत्साहनका कारण सरकारलाई पूँजीगत लाभकर शीर्षकमा ६४ करोड रुपैयाँभन्दा धेरै नोक्सानी हुने भएको छ । बंगलादेशी बैंक आइएफआइसीले नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपछि मात्र नामसारी गर्ने गरी सेयर बिक्रीको सम्झौता गरेपछि पूँजीगत लाभकर बापतको रकम सरकारलाई नोक्सान हुने भएको हो ।

नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत सेयर लगानी रहेको बंगलादेशी बैंक आइएफआइसीले व्यवसायी विनोद चौधरीलाई सेयर बिक्री गर्ने सहमति गरिसकेको छ । तर, उक्त सेयरको नामसारी भने बंगलादेश बैंक नबिल बैंकमा गाभिएर संयुक्त कारोबार गरेपछि मात्र हुने सहमतिमा उल्लेख छ । चौधरीले आइएफआइसीको नाममा रहेको बंगलादेश बैंकको सेयर खरिद गरेको मूल्यमा अंकित मूल्य घटाउँदा हुने पूँजीगत लाभमा २५ प्रतिशतका दरले कर लगाउँदा ६४ करोड रुपैयाँभन्दा धेरै हुन आउँछ ।

नेपाल बंगलादेश बैंकमा आइएफआइसीको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस सेयर समेत जोड्दा आइएफआइसीको ४ करोड १२ लाख ४६ हजार ७१७ कित्ता सेयर कायम हुन आउँछ ।

नेपाल राष्ट्र बैंकले यसभन्दा अघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको सन्दर्भमा पनि हिमालयन बैंकको विदेशी साझेदार हबिब बैंकलाई संयुक्त कारोबारपछि सेयर स्वामित्व बिक्री गर्न पाउने उल्लेख गर्दै सैद्धान्तिक सहमति दिएको थियो । यद्यपी हिमालयन बैंकको शुक्रबार सम्पन्न साधारण सभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि मर्जर प्रकृयाको अन्त्य भएको छ । यो मर्जर सफल भएको भए हिमालयन बैंकबाट हबिब बैंक बाहिरिँदै गर्दा करिब ८५ करोड रुपैयाँ सरकारलाई राजस्व नोक्सानी हुन्थ्यो ।

आयकर ऐन २०५८ को दफा ४७ अनुसार गाभिए पछिको संस्थामा कायम रहेका सेयरधनीहरूले दुई वर्षभित्र सेयर बिक्री गर्दा पूँजीगत लाभ कर नलाग्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपछि २ वर्षसम्म सेयर कारोबारको नामसारी गर्दा कर बापतको रकम आइएफआइसीले तिर्नु पर्दैन । आइएफआइसी बैंकले सोही छिद्र बाटोलाई पछ्याउँदै कर नतिरी आफ्नो लगानी फिर्ता लैजान खोजेको छ ।

चौधरीले आइएफआइसीको सेयर खरिद गर्ने सम्झौता गरेपछि यता नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सन्दर्भमा प्रारम्भिक सम्झौता गरेको हो । चौधरीले पुस १८ गते आइएफआइसीको नाममा रहेको नेपाल बंगलादेशको सेयर खरिद गर्ने सम्झौता गरेका थिए । त्यस लगत्तै पुस २९ गते बिहीबार नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सम्झौता भएको थियो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० बराबरको ४३ को अनुपातमा खरिद गर्ने गरी सम्झौता भएको छ । तर, आइएफआइसीको नाममा रहेको सेयर चौधरीले किन्ने प्रारम्भिक सम्झौता भएपछि मोतीलाल दुगड सहितका केही व्यवसायीहरुले मुद्दा मामिला सुरु गरेका छन् । आइएफआइसीले आफुहरुसँग १५७ रुपैयाँका दरले खरिद बिक्री गर्ने सहमति भएकोमा सहमति तोड्दै चौधरीलाई बिक्री गरेको भन्दै अदालत पुगेको हो ।

गत असारमा आइएफआइसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर बिक्री गर्न सूचना निकालेको थियो । सोही प्रक्रिया अन्तर्गत आइएफआइसी र दुगड सहितका केही व्यवसयीहरुसँग करार सम्झौता गरेर अर्कै पक्षलाई बिक्री गरेको भन्दै उनीहरु अदालत गएका हुन् । अदालतले पनि तत्काल चौधरीलाई सेयर बिक्री नगराई आइएफआइसी र नेपाल बंगलादेश बैंक विरुद्ध लिखित कारण पेश गर्न आवेदन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।