बैंकिङ प्रणालीमा ३२ अर्ब तरलता हुँदा पनि ३५ अर्बको स्थायी तरलता सुविधा प्रयोग


बैंकिङ प्रणालीमा ३२ अर्ब रपैयाँ तरलता हुँदा पनि बैंक वित्तीय संस्थाले साढे ३५ अर्ब रुपैयाँ बराबरको स्थायी तरलता सुविधा सापट लिएका छन् । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात कायम गर्न उक्त रकम राष्ट्र बैंकबाट सापट लिएका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सरकारले राजस्व उठाएपछि त्यसको असर बैंक वित्तीय संस्थाको तरलता स्थितिमा देखिन थालेको हो ।

पछिल्लो समयमा बैंकिङ नयाँ निक्षेप थपिने तथा स्थानिय तहको सरकारी पैसालाई पनि ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्ने सुविधाले तरलता अवस्था सहज भएको देखिएको थियो ।

त्यतिमात्र नभई आयातमा समेत नियन्त्रण गरेपछि निक्षेप थपिने क्रम बढेपछि त्यसले वित्तीय प्रणालीमा तरलताको सहज गराउन मद्दत गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबार वित्तीय प्रणालीको तरलता ३२ अर्ब रहेको थियो । वित्तीय प्रणालीमा ३२ अर्ब तरलता हुनुलाई समान्य अवस्थाको रुपमा बुझिन्छ । तर, वित्तीय प्रणालीमा ३२ अर्ब तरलता हुदाँ पनि बैंकहरुले २५ देखि ४० अर्ब सम्म स्गिायी तरलता सुविधा प्रयोग गर्नु भनेको अवस्था जटिलता तर्फ उन्मूख छ भन्ने नै देखिन्छ ।

पुस ३० गते ३९ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका बैंक वित्तीय संस्थाले माघ २ गते आइतबार पनि ३५ अर्ब ४६ करोड रुपैयाँ चलाएका हुन् । आइतबार अन्तर बैंकको ब्याजदर समेत बढेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ । अन्तर बैंक कारोबारका लागि पनि दिने भन्दा लिने धेरै भएपनि राष्ट्र बैंक मार्फत सापटी लिएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ३० खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ स्थायी तरलता सापटी लिएका छन् । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको दायित्व ९० अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । शुक्रबार दायित्व ८९ अर्ब ४४ करोड ७८ लाख रुपैयाँ थियो । पुस महिनाको २६ गते ४६ अर्ब मात्र दायित्व रहेकोमा एक साता पनि नबित्दै ९० अर्बको हाराहारीमा पुगेको हो । यसले वित्तीय प्रणालीमा तरलताको अवस्था सहज नभएको जनाउँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।